
काठमाडौँ । नीतिगतरूपमा भएको सुधार र तस्करी सञ्जालमाथि परेको प्रहारका कारण माघमा सुनको आयातमा वृद्धि भएको छ । पछिल्लो समय सुन तस्करीमा भएको कारबाही र सुनको भन्सार दर घटाउँदा सुनको आयातमा वृद्धि भएको भन्सार स्रोतको भनाइ रहेको छ ।
माघमा सुनको आयातमा अस्वाभाविक वृद्धिबारे सोधिएको प्रश्नको जवाफ दिँदै नाम नखुलाउने शर्तमा भन्सारका एक अधिकारीले नीतिगत सुधारले सुनको आयातमा वृद्धि भएको बताए ।विगतका महिनाहरूमा मासिक एक सय केजीको हाराहारीमा आयात हुने सुन माघ महिनामा मात्रै ३०१ केजी भित्रिएको देखिएको हो ।
विगतमा सुन तस्करी बढी भइरहेको थियो । खतपकर्ताहरूले अवैध सुनको जेनतेन प्रवन्ध मिलाएर उपयोग गर्ने गरेका थिए । त्यसैले औपचारिकरूपमा आयातको परिमाण सानो देखिने गरिएको उनको भनाइ छ ।अहिले पुरानो तस्कर सञ्जालमा प्रहार भएकाले उही गतिमा तस्करी नभइरहेको हुन सक्ने बताउँदै उनले बताए सुनको खपत त भइरहेकै हुन्छ ।
भन्सार विभागको तथ्यांकअनुसार माघमा कुल ८८७ केजी सुन आयात भएको छ । चालु आर्थिक वर्षको ७ महिनामा १० अर्ब ४५ करोड ४९ लाख रुपैयाँ बराबरको सुन आयात भएको हो । यसबापत सरकारले कुल १ अर्ब १८ करोड ९४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत पुस महिनासम्म भने कुल ५८७ केजी सुन आयात भएको थियो । चालु आवको पुस मसान्तसम्म कुल ६ अर्ब ७१ करोड ६लाख रुपैयाँ बराबरको सुन आयात भएकोमा कुल ८१ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
गत आवको सात महिनाको अवधिमा भने कुल १२ अर्ब ५८ करोड ६५ लाख रुपैयाँबराबरको १५०१ केजी सुन आयात भएको थियो । सो बापत कुल १ अर्ब ८८ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।
यसैगरी गत आवको असार मसान्तसम्म भने कुल २३ अर्ब ६५ करोड ३९ लाख रुपैयाँबराबरको २ हजार ६५१ केजी सुन आयात भएको थियो । त्यसबापत सरकारलाई ३ अर्ब ६४ करोड ८३ लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो ।
गत आवको सोही अवधिको तुलनामा सुनको आयात कम नै भए पनि चालु आवको अघिल्ला महिनाको तुलनामा माघमा सुनको आयात राम्रो भएको छ । सरकारले सुनको भन्सारदर २० प्रतिशतबाट १० प्रतिशत कायम गरेपछि आयात बढेको व्यवसायीहरू बताउँछन् ।
यसैगरी यो विवाहको सिजन भएकाले पनि सुनको आयात बढेको हुन सक्ने व्यवसायी र बैंकरहरू बताउँछन् । सरकारले बजेटमार्फत् सुनको भन्सार महसुल १५ प्रतिशतबाट २० प्रतिशत पु¥याएपछि माग नै नभएर बैंकले आयात कम गरेका थिए ।
तर, अहिले १० प्रतिशत भन्सारदर कायम भएपछि मागसँगै आयात पनि बढेको हो ।नेपालमा वाणिज्य बैंकहरूले सुन आयात गरी व्यवसायीलाई बिक्री गर्दै आएका छन् । चालु आवको माघसम्म २ अर्ब ७५ करोड ३५ लाख रुपैयाँको चाँदी आयात हुँदा सरकारले ३२ करोड ९२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।
भन्सार स्रोतका अनुसार सुनको तस्करी बन्द नै भएको होला भन्न सकिँदैन तर पुरानो नेटवर्कमा प्रहार त भएको हो । नेटवर्कलाई उही गतिमा ब्युँत्याउन समय लाग्ने भएकाले सुनको आयात वृद्धि भएको हो । अर्कोतर्फ आर्थिक गतिविधि पनि विस्तारै बढ्दै गएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij