
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले फागुन १८ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले १० वर्ष अवधिको वार्षिक ७ दशमलव ५० प्रतिशत ब्याजदर रहेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । प्रतिऋणपत्र एक हजार रूपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बैंकले निष्कासन गर्न लागेको हो ।
कुल कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संघसंस्थामा विक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणमा विक्री गरिनेछ ।
सर्वसाधारणमा विक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र भने सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । सामूहिक लगानीकोषका लागि छुट्याएर बाँकी रहने ११ लाख ४० हजार कित्ता ऋणपत्र भने सार्वजनिक निष्कासनमा आउनेछ । यो ऋणपत्र खरीदका लागि लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । निष्कासन खुला अवधि छिटोमा फागुन २१ गतेसम्मका लागि तय भएको छ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा चैत ३ गतेसम्म निष्कासन लम्बिनेछ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij