
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत अर्थ समितिको छलफलमा रहेको भन्सार विधेयकमा प्रस्तुत तीनमहिना भित्र जफत गरिएको मालवस्तुको व्यवस्थापन टुंगो लगाउन विषयमा सहमति जुटेको छ । मंगलबारदेखि सुरु भएको दफावार छलफलका क्रममा यो विषयमा सहमति बनेको हो ।अन्य विषयमा समिति सभापति सन्तोष चालिसेले सहमतिको प्रयास गरिरहेका छन् ।
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालयसँग जोडिएका विधेयकलाई चैत्र भित्रै सहमति जुटाइ संसदबाट पारित गराउन सहयोग गर्न आग्रह गरे अनुसार सभापति चालिसे पहल लिएका हुन् । उनले भन्सारसम्बन्धी विधेयकमाथि मंगलबारदेखि दफावार छलफल सुरु गरिएको जानकारी दिए । समितिमा अर्थमन्त्री पौडेलले धारणा राखी सकेका छन् । भन्सार विधेयक अन्तर्राष्ट्रिय व्यापारलाई प्रवद्र्धन र सहजीकरणको लागि अघि सारिएको जानकारी दिँदै अर्थमन्त्री पौडेलले समितिमा रहेका भन्सार, बफिया र धितो पत्रसम्बन्धी विधेयकमाथिको छलफल चैत मसान्तभित्रै सक्न आग्रह गरेका थिए ।
समितिमा भन्सार विधेयकको विषयमा आफ्नो धारणा राखिसकेपछि अर्थमन्त्री पौडेलले आवश्यकताअनुसार उपस्थिति हुने भन्दै आफ्नो र मन्त्रालयको धारणा राजस्व सचिवले राख्ने जानकारी गराएका छन् ।छलफलमा प्रस्तावनामा पारदर्शीसँगै विश्वासिलो शब्द थप्नुपर्ने विवाद चर्किएपछि सभापति चालिसेले त्यसलाई थाँती राखेर दफावार छलफल अगाडि बढाए ।
अन्तर्राष्ट्रिय प्रचलनअनुसार नेपाली भन्सारका कर्मचारीका लागि छुट्टै पोशाकको व्यवस्था गर्न आवश्यक रहेको सांसदहरूको समेत मागअनुसार भन्सार विधेयकमा सहमति जुटाइएको छ । भन्सार विधेयकको दफा ११२ मा जफत वा खरिद गरिएका बस्तु व्यवस्थापनबारे व्यवस्था राखिएको व्यवस्थामा समय अवधि तोक्ने समितिले सैद्धान्तिक सहमति जुटाएको छ ।
भन्सार विधेयकले यस्ता सामानलाई तीन महिनाभित्रै व्यवस्थापन गर्नुपर्ने व्यवस्था गर्न लागेको छ । भन्सार विधेयक, २०८० को दफा ११२मा जफत वा खरिद गरिएका वस्तु व्यवस्थापन विषय राखिए पनि व्यवस्थापन गर्ने समय अवधि राखिएको थिएन । तर समितिका सांसदहरूले त्यस्ता समानको व्यवस्थापनको लागि समय अवघि तोकेर राख्नु पर्नेमा एकजुट भएका छन् ।
समितिले विधेयकमा प्रस्तावित व्यवस्थालाई संशोधन गरेर तीन महिनाभित्रै व्यवस्थापन गर्नुपर्ने र व्यवस्थापन गर्ने नमिल्ने सामान तथा माल वस्तुको हकमा भने भन्सार कार्यालयले माथिल्ला निकायलाई पत्राचार गर्नुपर्ने व्यवस्था गर्ने सहमति भएको हो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij