
बुटवल । राजस्व अनुसन्धान कार्यालय, बुटवल रुपन्देहीले भेपको अवैध कारोबार गर्नेहरू विरुद्ध मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले इलेक्ट्रोनिक सिगरेट (भेप)को अवैध कारोबार गरी राजस्व चुहावट गर्ने सुमन पराजुलीसमेत ४ जनालाई उच्च अदालत बुटवलमा मुद्दा दायर गरेको हो ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विवेक घिमिरेका अनुसार एल्फबार राया डी थ्री डिस्पोजबल पोड डिभाइस (भेप)को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुर सम्बन्धमा अनुसन्धान सम्पन्न गरी प्रतिवादी सुमन पराजुली समेत ४ जना विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा अभियोग पत्र दायर गरिएको हो ।
प्रस्तुत मुद्दामा प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी सोही ऐनको दफा ४ को खण्ड (ख), (३), (२) बमोजिमको कसुर गरेकोले निज प्रतिवादीहरु सुमन पराजुली र हनिमुन जोलाहलाई बैसट्टी साख एकहत्तर हजार छ सय छ्यहत्तर रुपैया बिगो कायम गरी सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगो जफत हुन तथा बिगो वमोजिमको जनही बैसट्टी लाख एकहत्तर हजार छ सय छयहत्तर रुपैया जरिवाना हुन र ऐ. ऐनको दफा २३÷१४क बमोजिम हदैसम्मको कैद सजाय हुन मागदाबी लिई फागुन १८ गते अभियोगपत्र दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
साथै सोही मुद्दामा प्रतिवादीहरु रोजन न्यौपाने र सनाउल्ला अन्सारीले उक्तः मालवस्तुको ओसारपसारमा मुख्य कारोबारीकी सहयोगी भई राजस्व असुरको मतियारको भूमिका निर्वाह गरेको देखिँदा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफाको उपदफा (३) बमोजिम मुख्य प्रतिवादीलाई हुने सजायको आधा सजायको मागदाबी लिई उक्त अभियोग पत्र दायर गरिएको विभगका उपमहानिर्देशक तथा प्रवक्ता कृष्णकुमारी श्रेष्ठले विज्ञप्ति जारी गरी जनाएकी छिन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij