Logo

Apr 02 2025 | २०८१, चैत २०गते

Apr 02 2025 | २०८१, चैत २०गते

images

एक अप्रिल देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ घन्टासम्म सञ्चालनमा आउने

एक अप्रिल देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा १८ घन्टासम्म सञ्चालनमा आउने

  • काठमाडौँ । हवाई सेवा १० घन्टा बन्द हँदै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आगामी चैत १९देखि १८ घन्टासम्म सञ्चालनमा आउने भएको छ ।चैत १९ गतेदेखि (अप्रिल १)बाट ६ घण्टामात्र बन्द गरी स्त्तरोन्नतिको काम सञ्चालन गर्ने निर्णय गरिएपछि १८ घन्टा हवाई सेवा सञ्चालन गर्न लागिएको हो ।

    २०८१ कात्तिक २३ देखि चैत १८ गतेसम्मको समय सीमा तोकेर विमानस्थल विस्तार गर्ने योजनाअनुरुप स्तरोन्नतिको काम भइरहेको छ ।अहिले नागरिक उड्डयन प्राधिकरणले दैनिक १० घण्टा विमानस्थल बन्द गरेर स्तरोन्नतिको काम गरिरहेको छ ।  माघ १९ देखि विमानस्थल बिहान ७ बजेदेखि बेलुका ११ बजेसम्म सञ्चालन भइरहेकोमा चैत १९ देखि ६ घण्टामात्र (राति १२ देखि बिहान ६ बजे) बन्द हुने भएको जनाइएको हो ।

     प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए अनुसार  अप्रिल १ बाट विमानस्थल १८ घण्टा खुल्ने र ६ घण्टा बन्द हुनेछ । यो समयमा विमानस्थल पूर्ण रूपमा खुला र बन्द गर्ने योजनाअनुसार प्राधिकरण अगाडि बढेको छ । प्राधिकरणले विगतमा बिहान ६ बजेदेखि राति ३ बजे अर्थात् २१ घण्टा विमानस्थल खुला गर्दै आएकोमा आगामी दिनमा भने १८ घण्टामात्र खुला गर्ने नीति लिएको थियो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम ६० प्रतिशत पूरा भएको छ । करिब दुई सय जनशक्ति परिचालन गरेर काम गरिरहेको प्राधिकरणले हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको जनाएको छ ।  प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले जनाए अनुसार आयोजनाको ६० प्रतिशत भौतिक प्रगति पूरा भएको छ । 

    विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ट्याक्सी वे, उत्तरतर्फको इन्टरनेसनल एप्रोन र विमानस्थल पूर्वतर्फको ह्यांगर एप्रोन गरी तीन प्याकेजमा विमानस्थल स्तरोन्नति र विस्तारको काम भइरहेको छ । प्राधिकरणले एसियाली विकास बैंकको ऋण सहयोगमा १५ अर्ब रुपैयाँ लगानीमा विमानस्थल विस्तारको काम अगाडि बढाएको हो । स्तरोन्नतिपछि रनवे र ट्याक्सी वेको क्षमता वृद्धि भइ एयर ट्राफिक कन्ट्रोलरलाई ट्राफिक व्यवस्थापन गर्न धेरै सजिलो हुने हुँदा सुरक्षामा पनि अभिवृद्धि हुने विश्वास गरिएको छ । विमानस्थलको मुख्य धावनमार्गसँगै समानान्तर हुनेगरी ७५ मिटरमा ट्याक्सी वे बनाउन लागिएको प्राधिकरणले जनाएको छ ।

    विमानस्थल स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि भई एयर ट्राफिक व्यवस्थापन सहज हुने आयोजना प्रमुख श्रेष्ठको विश्वास छ ।  आईकाओले तोकेको विमानस्थल मापदण्ड पालना हुनेगरी तयार भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गुरुयोजनाअनुसार विमानस्थलको क्षमता विस्तार गर्न विभिन्न काम भइरहेको छ ।

    अहिले ट्याक्सी वे रनवेदेखि ११० मिटरको दूरीमा रहेको छ भने निर्माणाधीन समानान्तर ट्याक्सी वे र रनवेको दूरी १७२.५ मिटरको हुनेछ । निर्माणाधीन १८ वटा पार्किङ एप्रोन तयार भएपछि विमानहरू आकाशमा होल्ड गर्नुपर्ने समस्या कम हुने अपेक्षा गरिएको छ ।  २०७७ मा पनि प्राधिकरणले विमास्थलको धावनमार्ग विस्तार गरेको थियो । त्यतिबेला धावनमार्ग विस्तार गरी तीन हजार तीन सय मिटर कायम गरिएको थियो र धावनमार्ग दक्षिणतर्फ रनवे जिरो–टु विस्तार गरिएको थियो । हाल एप्रोन विस्तारको काम ६५ प्रतिशत, दक्षिणतर्फको प्यारालल ट्याक्सी वेको ४५ प्रतिशत र ह्यांगर विस्तारको ३५ प्रतिशत हाराहारी भौतिक प्रगति पूरा भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij