Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २६ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् फागुन २६ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज फागुन २६ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    मुलुकमा अर्थतन्त्रको बाह्य क्षेत्र सबल :  विप्रेषण र मुद्रा सञ्चिति बढ्यो, चालु खाता र शोधनान्तर बचतमा

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सबल देखिएको छ ।

     

     

    केन्द्रीय बैंकले आज सार्वजनिक गरेको चालु आव, माघ मसान्तसम्मको तथ्याङ्कमा आधारित देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार नेपालले प्राप्त गर्ने विप्रेषण बढेको छ भने विदेशी मुद्रा सञ्चिती पनि उच्च बिन्दुमा पुगेको छ । यस्तै, चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

     

    चालु आवको पछिल्लो सात महिनामा रु नौ खर्ब विप्रेषण भित्रिएको छ । यो अवधिमा विप्रेषण आप्रवाह सात दशमलव तीन प्रतिशतले वृद्धि भई रु नौ खर्ब ५८ करोड पुगेको छ । यही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या दुई लाख ७४ हजार छ सय २२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ९० हजार आठ सय ८६ रहेको छ ।

    काठमाडौंका विभिन्न क्षेत्रहरुमा २ महिनासम्म निषेधाज्ञा, प्रशासनको नयाँ आदेश

    काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी दुई महिनासम्म काठमाडौंका केही क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको छ। यो आदेश आइतबारबाट लागू हुनेछ।

    निषेधाज्ञा राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, र संसद भवन आसपासका क्षेत्रमा लागू गरिएको हो। यस आदेशअनुसार, यी स्थानहरूमा ५ जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न अनुमति दिइने छैन।

    नेपालको विदेशी विनिमय सञ्चितिमा १६.१ प्रतिशतको वृद्धि, २३ खर्बको सीमा पार

    काठमाडौं । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा नेपालको कुल विदेशी विनिमय सञ्चिति २३ खर्ब ६९ अर्ब ८ करोड रुपैयाँ पुगेको छ, जुन गत असार मसान्तको तुलनामा १६.१ प्रतिशतले बढेको हो।

    अमेरिकी डलरमा हेर्दा, विदेशी विनिमय सञ्चितिमा भने ११.७ प्रतिशतको वृद्धि भएको छ। २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड डलर रहेको विदेशी विनिमय सञ्चिति माघ मसान्तसम्म १७ अर्ब ५ करोड डलरमा पुगिसकेको छ।

     

    राष्ट्रिय बैंकका अनुसार, कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८१/८२ को सात महिनामा आधारित रहेर, बैंकिङ क्षेत्रसँगको विदेशी विनिमय सञ्चितिले १७ महिना बढीको वस्तु आयात र करिब १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको देखिन्छ।

    नेपालको विप्रेषण आप्रवाहमा ७.३ प्रतिशतको वृद्धि

    काठमाडौं।  चालु आर्थिक वर्षको माघ महिनासम्ममा नेपालको विप्रेषण आप्रवाह (रेमिटेन्स) ७;३ प्रतिशतले बढेको छ। केन्द्रीय बैंकको तथ्यांक अनुसार, चालु आर्थिक वर्षको पहिलो सात महिनामा ९ खर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको हो। यद्यपि, अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाहमा १८.८ प्रतिशतको वृद्धि भएको थियो।

    अमेरिकी डलरमा रेमिटेन्स ५.३ प्रतिशतको वृद्धिसँग ६ अर्ब ६५ करोड डलर पुगेको छ, जबकि अघिल्लो वर्ष यस्तो आप्रवाह १६.४ प्रतिशतले बढेको थियो।

    आज नेप्से परिसूचक २०.६८ बिन्दुले घटेर २७५१.४२ बिन्दुमा, कारोबार ८अर्ब ३७ करोड बढी

    काठमाडौँ । आज शेयर बजार २०.६८ बिन्दुले ओरालो लागेको छ । नेप्से परिसूचक२०.६८ बिन्दुले घटेर २७५१.४२ बिन्दुमा अडकिएको हो ।

     

    शेयर बजारमा १करोड ५० लाख  ९४ हजार ९ सय १५ कित्ता शेयरको खरिदबिक्री भइ कुल ८ अर्ब ३७ करोड  ८० लाख ५५ हजार ५७ रुपैयाँ ५७ पैसा बराबरको कारोबार भएको हो ।

    जीवन विकास लघुवित्तको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

    काठमाडौं । जीवन विकास लघुवित्तले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा कुनै पनि व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन्। कम्पनीले प्रतिकित्ता सेयरको न्यूनतम मूल्य ५०० रुपैयाँ तोकेको छ।

     

    सेयर खरिद गर्न इच्छुक व्यक्तिहरूलाई संस्थापक सेयरधनीहरूले आज ९फागुन २६ गते० बाट ७ दिन भित्र कम्पनीको केन्द्रीय कार्यालय, कटहरी मोरङ र बिक्री प्रबन्धक एनएमबि क्यापिटल, बालुवाटार, काठमाडौंमा आवेदन दिनुपर्नेछ।

    काठमाडौंका विभिन्न क्षेत्रहरुमा २ महिनासम्म निषेधाज्ञा, प्रशासनको नयाँ आदेश

    काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय काठमाडौंले आगामी दुई महिनासम्म काठमाडौंका केही क्षेत्रहरुमा निषेधाज्ञा जारी गरेको छ। यो आदेश आइतबारबाट लागू हुनेछ।

    निषेधाज्ञा राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार, र संसद भवन आसपासका क्षेत्रमा लागू गरिएको हो। यस आदेशअनुसार, यी स्थानहरूमा ५ जनाभन्दा बढी भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न अनुमति दिइने छैन।

    प्रतिनिधिसभामा ५ वटा प्रतिस्थापन विधेयक दर्ता

    काठमाडौं । प्रतिनिधिसभामा विभिन्न ५ वटा प्रतिस्थापन विधेयक दर्ता भएको छ । संसद् अधिवेशन नरहेका बेला सरकारले विभिन्न ६ वटा अध्यादेश जारी गरेका मध्ये ५ वटा अध्यादेश दुवै सदनबाट स्वीकृत भइसकेको छ ।तिनै पाँच अध्यादेशका प्रतिस्थापन विधेयक प्रतिनिधिसभामा दर्ता  गरिएका हुन् ।

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालययले सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक दर्ता गरेको छ ।यस्तै, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक अर्थ मन्त्रालयले दर्ता गराएको छ ।

    बेष्ट फाइनान्सको सीईओमा घर्ती नियुक्त

    काठमाडौँ । बेष्ट फाइनान्सको प्रमुख कार्यकारीमा बीएन घर्तीलाई नियुक्त गरिएको छ ।गैरआवासीय नेपाली(एनआरएन)हरुको लगानी रहेको बेष्ट फाइनान्सले घर्तीलाई प्रमुख कार्यकारी अधिकृत(सीईओ) पदमा नियुक्त गरेको हो ।बेष्ट फाइनान्समा गैरआवासीय नेपाली कतारका आरके शर्मा,जापानका रोविन्द श्रेष्ठ गोविन्द सहित नेपाली व्यवसायीहरुको लगानी रहेको छ ।

     

    ११ वर्ष अगाडि घर्ती तत्कालीन किष्ट बैंकमा कामू सीईओको भूमिका थिए ।घर्ती पछिल्लो समय बैंकिङ परामर्शको क्षेत्रमा सक्रिय थिए । घर्तीले लेखेको ‘बैंकिङ अनुशासन’ पुस्तकले यो वर्षको सामना बैंकिङ पुरस्कारबाट सम्मानित भएको थियो  ।

    नेपालमै रहेर नेपालकै पहिला डीएम हेमाटोलोजिस्ट बने डा. कार्की , रगतसम्बन्धी रोगहरूको पहिचान र उपचारमा नयाँ युगको सुरुवात

    काठमाडौं । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पहिलो पटक स्वदेशमै डीएम (डॉक्टरेट अफ मेडिसिन) हेमाटोलोजिस्ट उत्पादन भएको छ । डा. विक्रम कार्की स्वदेशमै अध्ययन गरेर पहिलो डीएम हेमाटोलोजिस्ट बनेका छन् । उनले राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (एनएमएस), वीर अस्पतालबाट हेमाटोलोजीमा डीएम सम्पन्न गरेका हुन् ।  जसले नेपालमा जटिल रगतसम्बन्धी रोगहरूको पहिचान र उपचारमा नयाँ युगको सुरुवात गरेको छ।

     

    यो उपलब्धि नेपालका अग्रणी हेमाटोलोजिस्ट प्रा. डा. बिशेष शर्मा पौड्यालको असाधारण मार्गदर्शनको प्रमाण हो । उनको समर्पण र विशेषज्ञताले नेपालमा डीएम प्रशिक्षित हेमाटोलोजिस्टहरूको पहिलो पुस्ता तयार गर्न महत्वपूर्ण भूमिका खेलेको छ ।

    सन् २०२५–२०३५ लाई आन्तरिक रोजगारी प्रवर्द्धन दशक घोषणा

    काठमाडौँ  । सरकारले आगामी दशक (सन् २०२५–२०३५) लाई आन्तरिक रोजगारी प्रवर्धन दशक घोषणा गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आयोजित ‘राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन–२०८१’को उद्घाटन सत्रमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारी प्रवद्र्धन दशक कार्यक्रममा सरकार र विभिन्न १० वटा निजी क्षेत्रका छाता संगठनबीच युवा जनशक्तिलाई रोजगार सिर्जना र तालिम प्रदानका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

     

    समारोहमा राष्ट्रिय सीप विकास प्रतिष्ठान र कम्प्युटर एसोसिएसन महासंघ (क्यान), होटल संघ नेपाल (हान), नेपाल निर्माण व्यवसायी महासंघ, नाडा अटोमोबाइल्स एसोसियन अफ नेपाल (नाडा), नेपाल तयारी पोसाक उद्योग संघ, ग्रिल तथा स्टिल व्यवसायी महासंघ, नेपाल सुनचाँदी व्यवसायी महासंघ, एकोर इन्टरनेसनल ट्रेनिक प्रालि, ग्लोबल क्वालिफिकेसन र मदरल्यान्ड स्किल एकेडेमीबीच सोसम्बन्धी समझदारीमा हस्ताक्षर भएको हो।

    दक्ष जनशक्ति उत्पादन गर्न नाडा र एनएभिटीबीच सीप विकास तालिम सम्झौता

    काठमाडौं । अटो व्यवसायीको साझा संस्था नाडा र राष्ट्रिय व्यावसायीक प्रशिक्षण प्रतिस्ठान (एनएभिटी) बीच रोजगार उन्मुख सीप विकास तालिम संचालन गर्ने विषयमा  समझदारी पत्रमा हस्ताक्षर भएको छ।

     

    सोमबार श्रम, रोजगार तथा सामाजिक मन्त्रालयद्वारा आयोजना गरिएको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन २०८१ मा नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल र प्रशिक्षण प्रतिष्ठानबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो।

    दुवै पक्षको लागत साझेदारीमा अटोमोबाइल क्षेत्रमा रोजगारमुलक छोटो अवधिको तालिमको विकास, संचालन र प्रशिक्षार्थीहरुलाई रोजगारीको सुनिश्चिता गर्ने जनाइएको छ।यसका लागि अटोमोटिभ स्किल डेभलपमेन्ट काउन्सिलले नाडालाई आवश्यक सहयोग गर्नेछ।

    इराकमाथिको प्रतिबन्ध नवीकरण नगर्ने अमेरिकी निर्णय ‘गैरकानुनी’: इरान

    तेहरान ।इरानको विदेश मन्त्रालयले इराकलाई इरानबाट बिजुली खरिद गर्न अनुमति दिने प्रतिबन्ध फुकुवा नवीकरण नगर्ने संयुक्त राज्य अमेरिकाको निर्णय ‘गैरकानुनी’ भएको बताएको छ।

     

    इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माईल बाकाईले भन्नुभयो, “यस्ता अभिव्यक्तिहरू अराजकता, मानवताविरुद्ध अपराधको स्वीकारोक्ति हो किनकि एकपक्षीय अमेरिकी प्रतिबन्धको इरानी राष्ट्रविरुद्ध कुनै औचित्य वा कानुनी आधार छैन।”

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले आणविक हतियारको क्षमता खोजिरहेको आरोप लगाउँदै तेहरानमाथि ‘अधिकतम दबाब’ दिने नीतिको पछिल्लो निर्णय हो ।
    तेहरानले भने उक्त आरोपको खण्डन गर्दै आएको छ ।

    युनको महाभियोगको फैसलापछिको ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थामा कडाइ

    सियोल । युनको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको सियोल प्रहरीले जनाएको छ । 

     

    दक्षिण कोरियाका प्रहरी प्रमुखले देशको निलम्बित राष्ट्रपतिविरुद्ध महाभियोगलाई सदर गर्ने वा नगर्ने भन्ने विषयमा अदालतले फैसला गरेपछि हुनसक्ने अशान्ति रोक्नका लागि ‘सबै उपलब्ध उपाय’ लाई अबलम्बन गर्न दक्षिण कोरियाली प्रहरी तयार रहेको बताउनुभएको छ । 

    संवैधानिक अदालतले राष्ट्रपति युन सुक येओलले सैनिक शासनको घोषणा गरेको भन्दै महाभियोग लगाउने विषयमा यसै महिना आफ्नो निर्णय सुनाउने अपेक्षा गरिएको छ।

    म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजना निर्माण कार्यमा स्थानीय बासिन्दाले ३१ बुँदे माग

    बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन अवस्थामा रहेका पाँच जलविद्युत् आयोजनासमक्ष गाउँपालिकावासीले ३१ बुँदे माग राखेका छन् । 

     

     

    जलविद्युत् आयोजनाहरुले गर्नुपर्ने न्यूनतम दायित्व पूरा नगरेपछि गाउँपालिकाले स्थानीय राजनीतिक दल, सरोकारवाला र जनप्रतिनिधि समेतको व्यापक छलफलबाट जलविद्युत् आयोजनालाई गाउँपालिकाको सामूहिक मागका रुपमा विभिन्न ३१ बुँदे माग तयार गरिएको हो । 

     

    आयोजनाहरुले सामाजिक उत्तरदायित्वको रकम र खर्चको विवरण सार्वजनिक नगरेपछि आइतबार गाउँपालिकामा सर्वदलीय सर्वपक्षीय भेला गरेर आयोजनाहरुले पालिकामा गर्नैपर्ने न्यूनतम माग तयार गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो ।

    उखुको अभाव र घट्दो खेतीले चिनी उद्योगमा समस्याः किसान र उद्योग दुवै संकटमा

    महोत्तरी ।  एक दशकअघिसम्म वैशाखसम्म चिनी उच्पादन गर्ने उद्योगलाई अहिले फागुनमै उखु अभाव खेप्नु परेको छ । महोत्तरीको गौशाला–१ रामनगरस्थित एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज ९बोलीचालीमा एभरेष्ट चिनी उद्योग, एभरेष्ट चिनी मिल० लाई यसपालि क्रसिङ व्यस्त हुनपर्ने फागुनमै उखु अभाव खेप्नु परेको छ ।

     

    एक दशकअघिको तुलनामा खेती निकै घटेपछि उद्योगमा चाँडै उखु अभाव भएको हो । एकदशक अघि जिल्लामा १५ हजार बिघा नाघेको उखुखेती पछिल्ला चार÷पाँच वर्षयता ओरालो लाग्दै अब आठ हजार बिघाको सेरोफेरोमा आएको छ । यो पनि पछिल्ला तीन वर्षयता उद्योगले उखुको भुक्तानी क्रमशः सहज बनाउँदै लगेपछि बढेको खेतीले अहिले आठ हजार बिघा पुगेको उखु उत्पादक किसान सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवावाहा बताउनुहुन्छ । तीन वर्षअघि जिल्लामा खेती झरेर पाँच हजार बिघामा ओर्लेको कुशवाहा सम्झनुहुन्छ ।

    वाणिज्य बैंकहरूको नाफा ३६ अर्ब बढी, अधिकांश बैंकहरूको नाफामा गिरावट

    काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूले माघ मसान्त सम्म ३६ अर्ब  बढी नाफा कमाएका छन् ।
    नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको ७ महिनामा २० वटा वाणिज्य बैंकहरुको नाफा  ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

     

    गत आवको सोही अवधिको तुलनामा यो १.६२ प्रतिशतले बढी छ । बैंकहरुले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५ अर्ब ४९ करोड २४ लाख रुपैयाँ नाफा कमाएका थिए । सो अवधिमा ९ वटा बैंकको नाफा बढेको छ भने ११ वटाको घटेको छ ।सो अवधिमा सर्वाधिक नाफा कमाउने बैंकमा नबिल बैंक रहेको छ । नबिल बैंकले ४ अर्ब १ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । यो गत आवको सोही अवधिको भन्दा ०.६२ प्रतिशतले बढी छ । बैंकले गत आवको सोही अवधिमा ३ अर्ब ९८ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको थियो ।

    स्वदेशभित्र रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान छः प्रधानमन्त्री ओली

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकभित्रै रोजगारीका अवसर सिर्जना गर्न निजी क्षेत्रको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ ।

     

     

    राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले उद्यमशीलताको विकास गरी परिस्थितिमा परिवर्तन ल्याउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि बढाउन सरकार लागिरहेकाले यसमा निजी क्षेत्रको भूमिका झन् महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो ।  

     

    उहाँले विदेशका विभिन्न मुलुकमा गएर नेपालीहरुले श्रम गर्ने तर स्वदेशमा रोजगारीका अवसर सिर्जना नहुने हो भने अर्थतन्त्रको उत्थान नहुने भएकाले विज्ञान प्रविधिको भरपुर उपयोग गरेर उत्पादन र उत्पादकत्व वृद्धि गर्नेतर्फ ध्यान जानुपर्ने बताउनुभयो ।  प्रधानमन्त्री ओलीले विश्व बजारमा प्रतिस्पर्धी हुनसक्ने दक्ष जनशक्ति उत्पादन गर्न र स्वदेशमै बढीभन्दा बढी रोजगारी सिर्जना गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

    मुस्ताङको शीतोष्ण फलफूल बगैँचामा यसवर्ष ढिलो फूल फुल्दा....

    मुस्ताङ । मुस्ताङमा शीतोष्ण फलफूल बगैँचाका बोटमा झपक्कै फूल फुलका छन् । घरपझोङ–२ मार्फामा रहेको शीतोष्ण बागवानी विकास केन्द्रका  विभिन्न प्रजातिका फलफूल बोटहरु यतिखेर फूल फुलेर सेताम्मे भएका हुन् । विगतका वर्षहरुमा भन्दा यसवर्ष केही हप्ता ढिलो गरी शीतोष्ण फूलहरु फुल्न थालेको हुन्   ।

     

      मुख्य रुपमा मार्फास्थित शीतोष्ण बागवानी विकास केन्द्रले शीतोष्ण हावापानीमा उत्पादन हुने फलफूल तथा तरकारीको उत्पादन, बीउ तथा बिरुवा उत्पादन गर्ने कार्य गर्दै आइरहेको छ । जिल्लामा स्याउखेतीको विकास समेत यही केन्द्रले सुरुआत गरेको थियो । मुस्ताङको त्यही केन्द्र हो, जसले यहाँ विभिन्न जातजातका फलफूलको बीउ तथा बिरुवा उत्पादनका साथै फलफूल उत्पादनमा समेत जोड दिइरहेको छ । मुस्ताङका कृषकहरुको आर्थिक विकासमा टेवा पु¥याउन र फलफूल तथा तरकारीखेतीको विकास गरी यहाँका किसानको जीवनस्तर सुधार गर्न केन्द्रले दिँदै आइरहेको योगदान अतुलनीय छ ।

    सुनको मूल्य सोमबार प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ

    काठमाडौँ । सोमबार सुनको भाउमा  सामान्य वृद्धि भइ  अघिल्लो दिनको तुलनामा तोलामा १ सय रुपैयाँ मूल्य बढेको छ  ।

     

    अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ३ सय रुपैयाँ रहेको सुन आज सोमबार  १ लाख ७० हजार ४ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पनि तोलामा १ सय रुपैयाँ मूल्य बढेको थियो ।

    सुनको मूल्य बढ्दा चाँदीको भने स्थिर छ । अघिल्लो दिन प्रतितोला १९८५ रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

    राप्रपालाई काठमाडौं महानगरले तोक्यो १ लाख जरिबाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले आज पूर्वराजाको स्वागतार्थ भएको प्रदर्शनको क्रममा वातावरण प्रदूषण गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख जरिबाना तोकेको छ ।

     

    महानगर प्रहरीले राप्रपा मुख्यालयका नाममा पत्र लेखेर पार्टी कार्यालयको आयोजना गरिएको कार्यक्रममा सहभागीहरूबाट एयरपोर्ट, तिलगंगा गौशालालगायत सार्वजनिक क्षेत्रका सडक, सडकपेटी तथा आईल्याण्ड र त्यहाँका बिरुवा साथै रेलिङ्गमा भौतिक क्षति र जथाभावी रुपमा फोहोरमैला गरेको जनाएको छ ।

    निर्वाचन आयोग, र काठमाडौं महानगरको प्रशासन विभागलाई बोधार्थ दिइएको उक्त पत्रमा नगर प्रहरी निरीक्षक लीलाराज गाछा थापामगरले हस्ताक्षर गरेका छन् ।

    आजको मौसम : उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना

    काठमाडौँ ।हाल देशमा पश्चिमी साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

     

    विभागद्वारा आज यहाँ जारी मौसम बुलेटिनका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने कोशी, गण्डकी  र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij