
काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका ५ वटा कम्पनीका १४ लाख ४६ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीका लागि उपलब्ध गराएको छ। यसमा बैंकले सीआईटीको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता, निफ्राको १० लाख कित्ता र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ कित्ता सेयर बिक्रीमा राखेको हो। कुल मूल्य ३१ करोड ९० लाख ७१ हजार ८२० रुपैयाँ बराबर रहेको छ।
लागानीकर्ताले चैत १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ। यसका लागि सीआईटीको सेयरको न्यूनतम मूल्य ६९६ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको २६९ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ रुपैयाँ, निफ्राको १०५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ निर्धारण गरिएको छ।
सीआईटीको सेयर खरिदका लागि न्यूनतम १० हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिन्छ। अन्य चार कम्पनीको सेयर खरिदका लागि भने न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन पेस गर्न सकिनेछ। बोलपत्र पेस गर्दा लगानीकर्ताले आफूले खरिद गर्न चाहेको सेयर संख्या, प्रतिकित्ता मूल्य र लेखन स्पष्ट रूपमा अंक र अक्षरमा उल्लेख गर्नुपर्नेछ।
सेयर बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ। आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथली स्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij