
काठमाडौँ । किसानहरूले धान व्यापारीहरूलाई बेचेपछि सरकारी कम्पनीले चाहेजति धान किन्न पाएको छैन् ।सरकारले तोकेको मूल्य भन्दा व्यापारीहरूले धानको मूल्य बढी दिँदा किसानहरूले सरकारी कम्पनीलाई धान नबेचेका हुन् ।खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष लक्ष्यको १७ प्रतिशतमात्र धान खरिद गर्न पाएको हो ।कम्पनीले यो वर्ष १ लाख २० हजार क्विन्टल धान मात्र खरिद गर्न पाएको हो । कम्पनीले यो वर्ष ७ लाख ३ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएको थियो ।
कम्पनीले धान खरिद गर्न २ अर्ब ६५ करोड रुपैयाँ बजेट छुट्याएको थियो । लक्ष्यअनुरुप धान खरिद गर्न नसकेपछि बजेट खर्च पनि हुन नसकेको हो । कम्पनीका अधिकारीहरु किसानले धान नदिएको भन्दै लक्ष्यअनुसार खरिद गर्न नसकेको बताएका छन् ।कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जनाए अनुसार कम्पनीले यो वर्ष धान खरिदको लक्ष्य ठूलो राखेकोे थियो । तर, व्यापारीहरूले किसानलाई मूल्य बढी दिएर किनेका छन् ।त्यसैले कम्पनीले खरिद गर्न नपाएको हो ।
कम्पनीले सुदूरपश्चिम प्रदेशबाट कात्तिक २१ गतेदेखि धान खरिद गर्न सुरु गरेको थियो । फागुन पहिलो सातासम्म कम्पनीले धान खरिद गर्ने कार्यक्रम सञ्चालन गरेको थियो ।कम्पनीले जनाए अनुसार झापा, मोरङ र रुपन्देहीमा अहिलेसम्म धान खरिद गर्न सकेको छैन । कम्पनीले कैलाली–कञ्चपुरबाट मात्र धान खरिद गर्न सकेको छ । पूर्व क्षेत्रमा मूल्यका कारण धान खरिद गर्न सकेको छैन ।
कम्पनीका खरिद व्यवस्थापन शाखा प्रमुख अनन्तराज पौडेलले जनाए अनुुसार सरकारले चालु आवका लागि मोटा धानको प्रतिक्विन्टल ३ हजार ४ सय १० रुपैयाँ मूल्य निर्धारण गरेको थियो । यसैगरी मध्यम धानको मूल्य प्रतिक्विन्टल ३ हजार ५ सय ८० रुपैयाँ तोकेको थियो । सरकारको समर्थन मूल्यभन्दा प्रतिक्विन्टल १५० रुपैयाँ बढी पाएपछि किसानले व्यापारीलाई धान बिक्री गरे ।
गत वर्ष मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३ सय ६२ र मोटा धानको ३ हजार १ सय ९८ रुपैयाँ मूल्य निर्धारण गरिएको थियो । गत वर्ष पनि सरकारले निर्धारण गरेको मूल्यभन्दा व्यापारीले धेरै दिएका थिए । त्यसैले गत वर्ष पनि खाद्य कम्पनीले धान खरिद गर्न सकेको थिएन । यस पटक पनि सोही समस्या दोहोरिएको छ । यो वर्ष कम्पनीले २४ जिल्लामा धान खरिदका लागि छनोट गरेको थियो ।
जनाइए अनुसार कम्पनीले धनगढीमा ३५ हजार क्विन्टल धान खरिद गरेको छ भने नेपालगञ्जमा २५ हजार क्विन्टल, महेन्द्रनगरमा ३ हजार २ सय क्विन्टल, जनकपुरमा ३५ हजार क्विन्टल र राजपुरमा ३८ हजार क्विन्टन खरिद गरेको छ । दाङमा १६ हजार क्विन्टल र पोखरामा १० क्विन्टल खरिद गरेको छ ।गत वर्ष सरकारले सहकारीलाई धान खरिदका लागि केही अनुदान दिएको थियो । किसानबाट संकलन गरी सहकारीले खाद्य कम्पनीलाई धान बिक्री गरेका थिए । यो वर्ष अनुदान नदिएको हुँदा सहकारीले धान नल्याउँदा संकलनमा केही कमी देखिएको पौडेलको भनाइ छ ।
गत वर्ष कम्पनीले १ अर्ब ७४ हजार बजेटमा ५० हजार २ सय टन धान खरिद गर्ने लक्ष्य लिएकोमा करिब ४ हजार ५ सय टनमात्र खरिद गर्न सकेको थियो । यो वर्ष खरिदको परिमाण र बजेट दुवै बढाइएको छ । कम्पनीले गत वर्षको तुलनामा धान खरिद गर्ने लक्ष्य २३ हजार ४ सय २० टन बढाएको छ भने बजेट पनि ९१ करोड रुपैयाँ बढी छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij