
काठमाडौँ । ढुवानी सस्तो हुने भएर वीरगञ्ज सुक्खा बन्दरगाहमा ट्याङ्क कन्टेनर आउन सुरु भएको छ। आइतबारदेखि कच्चा तेल बोकेको कन्टेनर रेल सुक्खा बन्दरगाहमा आउन थालेको हो।
बाराको जीतपुरस्थित खाने तेल उत्पादक उद्योग शिवशक्ति प्रा लिले खरिद गरेको सोयाबिन तेलको कच्चा पदार्थ (कच्चा तेल) बोकेको ट्याङ्क कन्टेनर सुक्खा बन्दरगाहमा आएको हो।
२० फुटे ९० वटा ट्याङ्क कन्टेनरमा २० हजार मेट्रिक टन कच्चा तेल अर्जेन्टिनाबाट हल्लिया हुँदै पहिलो पटक वीरगञ्ज सुक्खा बन्दरगाह मार्फत नेपाल भित्रिएको जनाइएको छ।
सडक मार्गबाट मात्र ढुवानी हुँदै आएको कच्चा तेल रेलबाट ढुवानी गर्दा सडकमार्गको तुलनामा ढुवानी भाडामा औसत १५ प्रतिशत बचत हुने तेल आयात कम्पनीका पदाधिकारीले बताए।
सन् २००४ देखि सञ्चालनमा आएको वीरगञ्ज सुक्खा बन्दरगाहमा सुरुमा कन्टेनर, बल्क, ब्रेकबल्क कार्गो मात्र आउने गरेको थियो।
सन् २०२३ जुलाईदेखि भने लुज कार्गो (कोइला) आउन थालेको थियो। अहिले सुक्खा बन्दरगाहमा कच्चा तेल समेत आउनु सुरु गरे पश्चात वीरगञ्ज नाकाबाट रेलमार्फत हुने व्यापारिक कारोबारमा अझै वृद्धि हुने भएको छ।
ट्याङ्क कन्टेनर पूर्णरुपमा सिलबन्द भएर आउने भएकोले बाटोमा तेल चोरीका घटनाबाट नहुने दाबी छ। त्यसैले सुरक्षित रुपमा आयात हुनाको साथै सडक मार्गबाट ढुवानी गर्दा पर्याप्त ट्याङ्कर नपाइने समस्याबाट समेत आयातकर्ताहरुलाई छुटकारा मिल्ने बताइन्छ।
ट्याङ्क कन्टेनरको सेवा सुरु भएपछि नेपालको अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा थप टेवा पुग्नुको साथै वीरगञ्ज सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले जनाएका छन्।
उनका अनुसार यसै वर्षबाट कोइलाको व्यवस्थापन गर्न सुरु गरिएको छ । अब कच्चा तेलको व्यवस्थापन पनि सुरु गर्न लागिएको छ । सरकारले बन्दरगाहहरुलाई क्षमता वृद्धि र आधुनिकीकरणमा ध्यान दिइरहेको छ । ट्याङ्क कन्टेनर वीरगञ्ज सुक्खा बन्दरगाहमा आउनु व्यापार सहजीकरणमा सकारात्मक पहल भएको सम्बद्ध क्षेत्रका अधिकारीहरू बताउँछन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij