
काठमाडौँ। राजस्व अनुसन्धान विभागले चालु आर्थिक वर्ष २०८१/८२को फागुन मसान्तसम्मको आठ महिनासम्म बिगो र सजाय माग दाबी गरी दुई अर्ब बढीको मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान विभागले राजस्व चुहावटसम्बन्धी चालु आवको ८ महिनामा ४८.५७ प्रतिशतका दरले उजुरी फछर्यौट गरी १४० जनालाई प्रतिवादी बनाइ २९ मुद्दामा १ अर्ब ३ करोड ५१ लख २२ हजार १ सय २२ रुपैयाँ बिगो रकम र बिगोको शतप्रतिशत सजाय मागदाबी गरी २ अर्ब ७ करोड २ लाख ४४ हजार २ सय ४४ रुपैयाँ बराबरको मुद्दा दायर गरेको हो ।
विभागले सार्वजनिक गरेको कार्य प्रगति विवरण अनुसार अनुसन्धानको क्रममा ७४ करोड १९ लाख ९५ हजार ८ सय ४५ रुपैयाँ धरौटी माग गरिएको जनाएको हो । सो क्रममा साढे सात सय सूचना दर्ता भएको जनाइएको छ ।
विदेशी विनिमय अपचलनतर्फ विभागले सवा तेह्र प्रतिशत उजुरी फर्छ्यौट गरी ५९ मुद्दा दायर गरेको छ । ९४ जनालाई प्रतिवादी बनाइ दायर गरिएको मुद्दामा ७० करोड ४९ लाख २९ हजार ६ सय ३७ रुपैयाँ बिगो कायम गरी २ अर्ब ११ करोड ४७ लाख ८८ हजार ९ सय १० रुपैयाँ बराबर सजाय मागदाबी गरी ५९ मुद्दा दायर गरिएको विभागले जारी गरेको प्रगति विवरणमा उल्लेख गरेको छ ।
यसैगरी विभागले भीसीटीएस अपचलनमा ३ करोड २९ लाख ७३ हजार जरिवाना गरिएको जनाएको छ । सो अवधिमा नागरिक सचेतना कार्यक्रम २ वटा गरेको जनाउँदै गस्ती परिचालनतर्फ २ हजार १ सय ७२ गस्ती परिचालन गरिएको जनाइएको छ ।सो अवधिमा कन्साइन्टमेन्टतर्फको विवरण अनुसार ३ लाख २० भीसीटीएस कन्सान्मेन्ट प्रयोगकर्ताको संख्या भएको जनाइएको छ । लिइएको माइलस्टोन लक्ष्य २ लाख ६६ हजार प्रयोगकर्ता रहेकोमा ३ लाख २० हजार पुगेको जनाइएको छ । भीसीटीएस कन्सान्मेन्टको संख्या ६६ लाख पु¥याउनुपर्नेमा ७१ लख ९६ हजार पु¥याइएको छ ।
यद्यपि विभागले वास्तविक प्रगति यो भन्दा बढी रहेको हुन सक्ने जनाएको छ । राजस्व चुहावटसम्बन्धी मुद्दामा ६ महिना र थप ३महिना सहित ९ महिनाको अनुसन्धानको हद म्याद रहने हुँदा धेरै उजुरी अनुसन्धानकै क्रममा रहेका कारण आवको अवधिमा न्यून देखिएको विभागले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij