
काठमाडौं । तात्कालिक प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले दुई वर्षअघि 'हाइड्रोजन गाडी' चढ्ने इच्छा व्यक्त गरे पनि उनको त्यो रहर पूरा भएन। नेपालमा हाइड्रोजन इन्धनबाट चल्ने गाडी पहिलो पटक चढ्ने अवसर चाहिँ वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले पाए। काठमाण्डू विश्वविद्यालयले नेपाल आयल निगमसँगको सहकार्यमा स्थापना गरेको पहिलो हाइड्रोजन रिफ्यूलिङ स्टेशनबाट हाइड्रोजन भरेर चलाइएको कारको उद्घाटन भदौ १४ गते भयो।
तर प्रधानमन्त्री चढेको हाइड्रोजन कारलाई सडकमा गुडाउने इजाजत अझैसम्म प्राप्त भएको छैन। काठमाण्डू विश्वविद्यालय र आयल निगमले अध्ययन तथा परीक्षण प्रयोजनका लागि कोरियाबाट ल्याएको उक्त कार धुलिखेलमा राखिएको छ।लामो प्रतीक्षापछि नेपालका प्रधानमन्त्रीहरूबाटै बारम्बार चर्चा भएको हाइड्रोजन इन्धनबाट चल्ने सवारी साधनलाई आयात र दर्ता गर्न अनुमति दिने कानुनको मस्यौदा अहिले तयार भएको छ।
प्रस्तावित कानुनमा के छ?
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार गरेको कानुनको मस्यौदा रायसुझाव समेटेर एकीकरण गर्न कानुन मन्त्रालय पठाइएको मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले जानकारी दिए।
आजभन्दा ३२ वर्ष पुरानो सवारी तथा यातायात व्यवस्था ऐन प्रतिस्थापनका लागि तयार गरिएको नयाँ मस्यौदामा नेपालमा सवारीसाधनलाई इन्धनका आधारमा वर्गीकरण गरिएको छ।त्यसमा पेट्रोल, डीजल, विद्युतीय र 'हाइब्रिड'सँगै वैकल्पिक इन्धनबाट चल्ने सवारीसाधनलाई फरकफरक वर्गमा छुट्ट्याइएको छ।
वैकल्पिक इन्धनबाट चल्ने सवारीसाधनमध्ये 'हाइड्रोजन फ्यूल सेल सवारी' पनि एउटा हो।
"हामीले प्रस्ताव गरेको मस्यौदा पारित भएको अवस्थामा नेपालमा हाइड्रोजनबाट चल्ने सवारीसाधनहरू पनि आयात वा बिक्रीका लागि बाटो खुल्छ," मन्त्रालयको निर्माण तथा यातायात महाशाखाका सहसचिव कृष्णराज पन्तले भने।
मन्त्रालयले यसअघि प्रस्तावित विधेयकमा सरोकारवाला र सर्वसाधारणको रायसुझाव मागेको थियो। विधेयकमा प्रदेश सरकारसहित सरोकारवाला र सर्वसाधारणले कैयौँ सुझाव दिएको मन्त्रालयले जनाएको छ।
तर हाइड्रोजन इन्धनबाट चल्ने सवारी साधनको प्रयोग तथा अनुमतिबारे प्रस्तावित व्यवस्थामा कुनै परिवर्तनको सुझाव नआएको सहसचिव पन्तले बताएका छन्।
नेपालमै हाइड्रोजन उत्पादन
काठमाण्डू विश्वविद्यालयको ग्रीन हाइड्रोजन ल्याबले ब्रिटिश तथा स्वीस सहयोग र नेपाल आयल निगमसँगको सहकार्यमा बिजुलीको प्रयोग गरेर पानीबाट हाइड्रोजन निकालेर त्यसलाई भण्डारण तथा प्रयोग गर्ने सफल परीक्षण गरेको त्यसका प्रमुख डा विराजसिंह थापा बताउँछन्।
पानीबाट विद्युत्को माध्यमले टुक्र्याएर बनाइएको हाइड्रोजन सवारीसाधनमा पनि इन्धनका रूपमा प्रयोग गर्न सकिने अध्ययनहरूले देखाएका छन्।
ग्रीन हाइड्रोजन भनिने विद्युत्को माध्यमबाट पानीलाई टुक्राएर निकालिएको हाइड्रोजनका लागि नेपालको जलस्रोत उपयुक्त हुने एक जर्मन संस्थाले गरेको अध्ययनमा पनि देखिएको थापा बताउँछन्।
नेपालमा डीजलको खपत धेरै हुने गरेकाले यसलाई इन्धनको रूपमा उपयोग गर्न सके त्यसले डीजलको खपत घटाउने र प्रदूषण कम गर्नुका साथै डिजल आयात गर्दा विदेशिने मुद्रा जोगिने उनको दाबी छ।
"पेट्रोल गाडीहरूलाई ब्याटरीबाट चल्ने गाडीबाटै विस्थापित गर्न सकिन्छ। तर लामो दूरीमा चल्ने र भारी सवारीसाधनमा हाइड्रोजन इन्धन उपयुक्त हुन सक्छ," थापा भन्छन्।
व्यावसायिक प्रयोगको चुनौती
नेपाल आयल निगमका प्रबन्ध निर्देशक चण्डिकाप्रसाद भट्ट नेपालमा व्यावसयिक हाइड्रोजन इन्धनको उत्पादनबारे आफूहरू अध्ययनकै क्रममा रहेको बताउँछन्।
"प्राविधिक रूपमा सम्भव छ भन्ने देखियो, एउटा गाडीमा केयूमा परीक्षण पनि गरिएको छ। तर यसको व्यावसायिक उत्पादनका लागि ठूलो लगानी पनि आवश्यक छ," भट्ट भन्छन्।काठमाण्डू विश्वविद्यालयका सहप्राध्यापक समेत रहेका थापा नेपालमा उत्पादन हुने ग्रीन हाइड्रोजन तुलनात्मक रूपमा महँगो हुने भए पनि त्यसलाई जीवाश्म इन्धनको विकल्पका रूपमा प्रयोग गर्ने सम्भावनाबारे थप अध्ययनहरू आवश्यक रहेको बताउँछन्।
हाइड्रोजन प्रयोगको नियमन र अध्ययनका लागि सरकारले एउटा निकाय गठन गर्नुपर्ने आवश्यकता देखिएको निगमका प्रबन्ध निर्देशक भट्टले बताए।
"नीतिगत कामका लागि सरकारले एउटा निकाय तोकिदिए हुने भन्ने हाम्रो सुझाव छ," उनले भने।ऊर्जा मन्त्रालयले नेपालमा हाइड्रोजन उत्पादन, वितरण, व्यवस्थापन र नियमनबारे गत वर्ष एउटा नीति तयार गरे पनि त्यस अन्तर्गतको कार्यविधि नबन्दासम्म यसको व्यावसायिक प्रयोगबारे कैयौँ अस्पष्टता रहेको उपप्राध्यापक थापा बताउँछन्।
छिमेकी मुलुकहरू भारत र भुटानले हाइड्रोजनसम्बन्धी नीति बनाएर त्यसको प्रयोगलाई नियमन सुरु गरेका छन्।
'हाइड्रोजनमा जोखिम लिन सकिँदैन'
एक महिनाअघि पोखरामा हाइड्रोजन भरिएको बलून विस्फोटनमा अर्थमन्त्री विष्णु पौडेल घाइते भएपछि नेपालमा यो ग्यासको असुरक्षित प्रयोगबारे बहस भएको थियो।
नेपाल केमिस्ट सोसाइटीका महासचिव अच्युत अधिकारी हाइड्रोजन इन्धनको प्रयोगका फाइदासँगै कैयौँ चुनौतीहरू पनि रहेको बताउँछन्।
"अहिले विकसित देशहरूमा पनि अध्ययन र परीक्षण प्रयोगका क्रममा रहेको हाइड्रोजन इन्धनको भण्डारण र ओसारप्रसार चुनौतीपूर्ण हुन्छ। हाम्रा सहरी क्षेत्रहरूमा यस्तो इन्धन भर्ने स्थानहरू कसरी सुरक्षित राख्ने भन्ने पनि अर्को चिन्ताको विषय हो," उनी भन्छन्।
त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र विभागका सहप्राध्यापक समेत रहेका अधिकारी शून्य प्रदूषण हुने भएका कारण यस्तो इन्धनको वातावरणीय फाइदाका बाबजुद पनि नेपालजस्तो जलविद्युत् ऊर्जा भएका देशहरूमा ब्याट्रीबाट चल्ने सवारी साधनहरू उपयुक्त हुन सक्ने सुझाव दिन्छन्।
"बिजुली प्रयोग गरेर हाइड्रोजन उत्पादन गर्नुभन्दा हाम्रोमा विद्युतीय सवारीसाधनहरू नै सुलभ र सुरक्षित हुन सक्छन्," उनले भने।ग्रीन हाइड्रोजन ल्याबका प्रमुख थापा पनि सुरक्षा जोखिम कम गर्नेबारे कडा नियमनको व्यवस्था हुनुपर्नेमा सहमत छन्।
"अहिले जसरी सुरक्षा मापदण्डबिनै ब्याटरीबाट चल्ने गाडीहरू हामीले चल्न दिएका छौँ, त्यसरी हाइड्रोजनबाट चल्ने साधनहरूलाई छोड्नुहुँदैन। हाइड्रोजनमा त्यो जोखिम लिन सकिँदैन," उनले भने।"त्यसका लागि बलियो नियमन र मापदण्ड आवश्यक पर्छ।" (अशोक दाहालको बाइलाइनमा बीबीसी न्यूज नेपालीमा प्रकाशित यो समाचार समसामयिक लागेर सभार गरिएको हो ) सं
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij