
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज चैत १४ बिहीबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
ग्लोबल आइएमई बैंक र आईएफसीबिच डिजिटल ट्रान्सफरमेशन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी
काठमाडौँ ।ग्लोबल आइएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बिच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडलहरु अगाडि बढाउन एड्भाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र आईएफसीको तर्फबाट एफआईजी, एशिया र प्यासिफिक रिजनल इन्ड्रष्टी डाइरेक्टर एलेन फोर्लेमुले हस्ताक्षर गर्नुभएको छ ।
यस सम्झौताअनुसार, विश्व बैंक समुहअन्तर्गत रहेको आईएफसीले ग्लोबल आइएमई बैंकको डिजिटल रुपान्तरण तथा डाटा म्याचुरिटि मूल्यांकन गर्ने, सुधार गर्न आवश्यक रहेका क्षेत्रहरु पहिचान गर्ने र बैंकको डिजिटल बैंकिङ क्षमता अभिवृद्धि गर्नका लागि रणनीतिक सुझाव प्रदान गर्नेछ ।
शेयर बजार : नेप्से परिसूचकमा ४१.६७ अंकले बढेर २६६३.५४ बिन्दुमा, ५ अर्ब २१ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ४१.६७ अंकले बढेर २६६३.५४ बिन्दुमा आएको छ । आज ५ अर्ब २१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक बढेका छन् । २ कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेका छन् ।
यस दिन ३ सय ९ कम्पनीको ९७ लाख ७२ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५१ करोड १८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल पुनर्बिमा कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी परेका छन् ।
ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर रजिष्ट्रारको काम प्रभु क्यापिटलले गर्ने
काठमाडौं । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले आफ्नो सेयर रजिष्ट्रारको जिम्मेवारी प्रभु क्यापिटल लिमिटेडलाई सुम्पेको छ। यसअर्थ, कम्पनीसँग सम्बन्धित सेयर कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण कार्यहरु अब प्रभु क्यापिटलले गर्नेछ।
कम्पनीले फागुन २७ गतेदेखि चैत ३ गतेसम्म १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो, जसको बाँडफाँट चैत १२ गते सम्पन्न भएको छ। हाल, नेप्सेमा यसको सेयर सूचीकृत हुन बाँकी छ।
युनाइटेड अजोड इन्सुरेन्सको साढे २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सले संस्थापक सेयरधनीहरुको नाममा रहेको २ लाख ५६ हजार ३१० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । जसमा १ लाख ४९ हजार ११६ प्रतिकित्ता सेयरको न्यूनतम भाउ १८० रुपैयाँ तोकेको छ । यस्तै, ८२ हजार ५९२ कित्ता सेयरको न्यूनतम भाउ १६३ रुपैयाँ ९० पैसा र २४ हजार ६०२ कित्ता सेयरको न्यूनतम भाउ १६३ रुपैयाँ ५० पैसा तोकिएको छ ।
यसमा कम्पनीका संस्थापक सेयरधनी, अन्य जो कोही व्यक्ति वा संघ संस्थाले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुकले आज ९चैत १४ गते० बाट १५ दिनभित्र इन्सुरेन्सको प्रधान कार्यालय, सीटीसी महल काठमाडौंमा के कति सेयर खरिद गर्ने सोको व्यहोरा खुलाई शिलबन्दी निवेदन पेश गर्नुपर्नेछ ।
राष्ट्रियसभाको बैठक शुक्रबार बस्ने
काठमाडौँ । राष्ट्रियसभाको बैठक शुक्रबार अपराह्न १ बजेर १५ मिनेटमा बस्ने भएको छ ।
आज दिउँसो १२ बजेर १५ मिनेटमा बस्ने गरी निर्धारण भएको बैठक सुरु भएलगत्तै विपक्षी दलका सांसदहरुले अवरोध गरेपछि सभा अध्यक्ष नारायणप्रसाद दाहालले १ घण्टाका लागि स्थगित भएको जानकारी गराउनुभएको थियो ।
त्यसपछि दोस्रो पटक पुनः सूचनामार्फत ३ बजेर ३० मिनेटमा बस्ने गरी सङ्घीय संसद् सचिवालयले सूचना प्रकाशित गरेको थियो । विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेपछि बैठक स्थगित भएको थियो ।
प्रतिनिधिसभाको बैठक शुक्रबार बस्ने
काठमाडौँ । प्रतिनिधिसभाको बैठक शुक्रबार बिहान ११ बजे बस्ने गरी स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक अपराह्न २ बजे बस्ने गरी सारिएको थियो ।
सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गर्नुभएपनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको हो । सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेले विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुखले समय परिवर्तन गर्नुभएको जानकारी दिनुभयो ।
प्राधिकरणका कार्यकारी निर्देशक शाक्यद्वारा सर्वोच्चमा रिट, शुक्रबार पेसी
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । रिट निवेदनमा आफ्नो सेवाको सर्तअन्तर्गत मन्त्रिपरिषद्ले निर्धारण गरेको चार वर्षको पदावधिलाई सम्झौताको दफा ३.१ म २०७७ माघ २९ गतेदेखि २०८१ माघ २८ सम्म कायम गरेको भन्दै त्यसको न्याय निरुपण नगरी थप प्रक्रिया अघि नबढाउन माग गरिएको छ ।
निवेदनपत्रमा शाक्यले २०७८ साउन २७ गते ‘इमेल’को माध्यमबाट प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइ जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पदमा नियुक्त गरिएको उल्लेख गर्नुभएको छ । “मन्त्रिपरिषद्को २०७८ साउन २५ को निर्णयानुसार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदमा खाईपाई आए सरहको पारिश्रमिक तथा सुविधा उपलब्ध गराउने गरी नेपाल विद्युत् प्राधिकरणबाट जल तथा ऊर्जा आयोगको ऊर्जा विशेषज्ञ सदस्य पद ९नेपाल सरकारको विशिष्ट श्रेणी सरह० मा पूरा समय काम गर्ने गरी चार वर्षका लागि नियुक्ति गरिएको थियो”, उहाँले उल्लेख गर्नुभएको छ ।
नेपालको जलविद्युत्मा लगानी गर्न भारतीय ठूला कम्पनी तयार
काठमाडौँ । लगानी र प्रतिफल सुनिश्चित भएमा भारतीय व्यापारिक घरानाले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आफूहरु तयार रहेको बताएका छन् ।
भारतस्थित नेपालको राजदूतावास र भारतीय हरित ऊर्जा महासङ्घको संयुक्त आयोजना तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल ९इप्पान०को संस्थागत सहभागितामा नयाँ दिल्लीमा आयोजित ‘नेपाल–भारत इनर्जी समिट’मा सहभागी भारतका व्यावसायिक घरानाले, नेपालमा भारतीय लगानीको नीतिगत सुरक्षा हुनुपर्नेमा जोड दिए । उनीहरुले लगानी गरेपछि प्रतिफलको सुनिश्चितता, सहज रूपमा लगानी फिर्ता लिन पाउनुपर्नेलगायत जलविद्युत् आयोजनाले सामना गर्नुपरेका समस्या समाधानमा सरकारले सहजीकरण गर्नुपर्ने बताएका हुन् ।
महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जी नेपाल लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बिहीबार महालक्ष्मी विकास बैंक र माउन्टेन इनर्जी नेपाल लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ । जसमा महालक्ष्मी विकास बैंकको १२ लाख ५१ हजार ३९५.५८ कित्ता र र माउन्टेन इनर्जीको ३३ लाख ९४ हजार ८४६.५८ कित्ता सेयर सूचीकृत भएको छ । महालक्ष्मीले ३ प्रतिशत र माउन्टेन इनर्जीले १५ प्रतिशत बोनस सेयर वितरण गरेको थिए । सोही बोनस सेयर सूचीकृत भएको हो ।
न्यूरोडस्थित एयरटेल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष अशोक गोयल पक्राउ
काठमाडौँ । काठमाडौँको नयाँ सडकस्थित एयरटेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक गोयल पक्राउ परेका छन् । गोयललाई आजै नयाँ सडक क्षेत्रबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले न्यूरोडबाट गोयललाई पक्राउ गरेको प्रहरी स्रोतले बताएको छ ।
जिल्ला प्रहरी परिसर ललितपुरले गोयललाई अभद्र व्यवहारको कसुरमा पक्राउ गरेको स्रोतले बताएको छ । काठमाडौँ महानगरपालिका वडा न २२ मा रहेको एयरटेल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका गोयलले सयौँ बचतकर्ताको करोडौँ सहकारीको रकम हिनामिना गरेको , बचतकर्ताको बचत रकम फिर्ता नदिएको , कीर्तेगरी ऋणीहरूबाट जबरजस्ती पैसा असुल गरेको आरोप लाग्दै आएको छ ।
वीरगञ्ज नाका हुँदै आर्थिक वर्षको आठ महिनामा तीन खर्ब ९० अर्बको सामान आयात
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको आठ महिनामा रु तीन खर्ब ९० अर्ब १८ करोड मूल्य बराबरको वस्तु तथा सामान भित्रिएको छ ।
गत आवको आठ महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात ११ दशमलव ४० प्रतिशत अर्थात् ३९ अर्ब ९२ करोड बढीका सामान भित्रिएका हुन् । गत आवको आठ महिनामा रु तीन खर्ब ५० अर्ब २६ करोड मूल्य बराबरका वस्तु तथा सामान भित्राइएका थियो ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दिपक लामिछानेले चालु आवमा पेट्रोलियम पदार्थ, भटमासको कच्चा तेल र सवारीसाधनको आयातमा उल्लेखनीय रूपमा वृद्धि भएको जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवको आठ महिनामा रु एक खर्ब २२ अर्ब २० करोड मूल्य बराबरको विभिन्न पाँच किसिमका पेट्रोलियम पदार्थ आयात भएको छ । गत आवको सोही समयमा भने रु एक खर्ब २० अर्ब ५३ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।
विदेशी सवारी साधनमा २५ प्रतिशत थप कर लगाउने ट्रम्पको घोषणा
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटो आयात र पार्टपूर्जामा चर्को कर लगाउने घोषणा गर्नुभएको छ ।
अमेरिकाका व्यापारिक साझेदारहरूले ट्रम्पको पछिल्लो कर नीतिको प्रतिकार गर्ने चेतावनी दिएका छन्।
ट्रम्पको बुधबार अपरान्हको घोषणाअघि वाल स्ट्रिटमा गिरावट आएको छ भने विश्वको सबैभन्दा बढी बिक्री हुने अटोमेकर टोयोटाको मूल्य तीन प्रतिशतभन्दा बढीले घटेको छ ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले टोकियोले ‘सबै प्रकारका प्रतिकारात्मक उपायहरू विचार गरिरहेको’ बताउनुभएको छ भने क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको करलाई आफ्नो देशका कामदारहरूमाथि ‘सीधा आक्रमण’ को संज्ञा दिनुभएको छ ।
‘कार्बन बिक्रीबापत प्राप्त रकम विपन्न नागरिकको हितमा परिचालन गर्नुपर्छ’ : दीपक खड्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले कार्बन बिक्रीबापत प्राप्त भएको रकम गरिब र विपन्न वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्ने बताउनुभएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले आज यहाँ आयोजना गरेको ‘ऊर्जा आयोजनामा कार्बन वित्त, लगानीका अवसर’ विषयक गोष्ठीमा उहाँले कार्बन बिक्रीबापतको रकम गरिब, आर्थिक अवस्था कमजोर भएका, पिछडिएका वर्गका नागरिकको हितमा परिचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
“कार्बन कोषमार्फत दूरदराजमा रहेका गरिब, विपन्न र पिछडिएका जनताका लागि सोलारसहित मिटर राखिदिएमा स्थानीयलाई आम्दानीको वातावरण निर्माण हुन्छ । यो कार्यले सरकारले राखेको विपन्न नागरिकलाई समृद्ध बनाउने लक्ष्यमा सहयोग पुग्नेछ”, उहाँले भन्नुभयो । कार्बन उत्सर्जन न्यूनीकरणमा साझा प्रयासको खाँचो रहेकामा जोड दिनुभयो ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी कामलाई सफल बनाउन सरकार प्रयत्नशील छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका कामलाई सफल बनाउन सरकारका तर्फबाट आवश्यक सबै सहजीकरण हुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
जवाफदेहीता निगरानी समिति र द्वन्द्धपीडित सङ्गठनद्वारा आज आयोजित सङ्क्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका यसअघिका काम किन सफल भएनन् भन्ने समीक्षा गरी आगामी दिनका कामलाई सफल बनाउन जिम्मेवार पक्ष हामी सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले पीडितलाई न्याय र परिपूरण दिन सरकार सक्रिय रहने विश्वास दिलाउँदै विगतमा भएको अनावश्यक र अनुचित हिंसालाई अब उप्रान्त यस्तो नहुने सुनिश्चित गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा लान सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई संसद्बाट सहमतिमा पारित गराइएको स्मरण गर्नुभयो । संसद्बाट सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगसम्बन्धी कानुन बनेपछि ती आयोगका पदाधिकारी नियुक्तिका लागि यसअघि गठित सिफारिस समितिमा सहमति नभइ त्यस समितिको अवधि सकिएपछि सरकारले प्रमुख दलको परामर्शमा फेरि अर्को सिफारिस समिति गठन गरेको छ ।
प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई
देउखुरी । पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेको बताउनुभएको छ ।
आज घोराहीमा आयोजित एक कार्यक्रममा उहाँले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखापरेका समस्या समाधान हुने बताउनुभयो । संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उहाँको भनाइ छ ।
सुन र चाँदीको मूल्यमा बृद्धि : छापावाल सुन १३ सय र चाँदी ३० रुपैयाँले महङ्गो
काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १३ सय रुपैयाँले बढेर १ लाख ७४ हजार ८०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले बढेर २ हजार २० रुपैयाँ कायम भएको छ ।
अहिलेसम्म पुँजीगत खर्च एक चौथाइ मात्र
काठमाडौं । चालु आवमा अहिलेसम्म वार्षिक पुँजीगत खर्चको एक चौथाइ मात्र खर्च भएको देखिएको छ ।चालु आवको फागुन महिनासम्म वार्षिक लक्ष्यको एक चौथाइ पनि नपुगेको देखिएको हो ।महालेखा नियन्त्रणको कार्यालयका अनुसार मंगलबारसम्म गरिएको आकलन अनुसार २५.०३सम्म मात्र भएको छ । सो आकलन अनुसार ८८ अर्ब २० करोड ८६ लाख रुपैया बराबरको पूँजीगत खर्च भएको हो ।
यो वर्ष सरकारले ३ खर्ब ५२ अर्ब रुपैयाँ पूँजीगत खर्च गर्ने लक्ष्य तय गरेको छ । अर्थ मन्त्रालयले ११ चैतसम्मको सबै मन्त्रालयको पूँजीगत खर्चको विश्लेषण गरे अनुसार एक दर्जन मन्त्रालयको पूँजीगत खर्च गत वर्ष यसै अवधिको तुलनामा नेगेटिभ ग्रोथ (अधोगति) मा गएको छ ।
पूँजीगत खर्च विवरण अनुसार सबैभन्दा कमजोर अवस्था उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको देखिएको छ । यो मन्त्रालयले ११ चैतसम्म ७ करोड ८५ लाख रुपैयाँमात्र पूँजीगत खर्च मात्र गरेको छ । यो कुल लक्ष्यको ३.७३ प्रतिशतमात्र हो । गत वर्षको यसै अवधिको तुलनामा भने ७६.२१ प्रतिशत कम हो ।
राजस्व चुहावट गर्ने दुई कम्पनी विरुद्ध राजस्व अनुसन्धान कार्यालय पथलैयाद्वारा मुद्दा दायर, ५ करोड बिगो माग
वीरगञ्ज (पर्सा)। राजस्व अनुसन्धान कार्यालय पथलैयाले कपडाको कारोबारमा राजस्व चुहावट गरेका दुई कम्पनीविरुद्ध राजस्व चुहावटको मुद्दा दायर गरेको छ ।राजस्व अनुसन्धान कार्यालय पथलैयाले पाँच करोड सात लाख ९४ हजार ९८२ राजस्व चुहावटको माग दाबीसहित दुई कम्पनीविरुद्ध मुद्दा दर्ता गरेको हो ।
अमायरा वस्त्रालयका सञ्चालक चन्दन गुप्ता र शिव शान्ति कन्स्ट्रक्सनका सञ्चालक सञ्जयकुमार कुर्मीको कम्पनीले राजस्व चुहावटको कसुर गरेको मागदाबीसहित उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा अभियोगपत्र बुधबार दायर गरिएको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले जनाएका छन् ।
आज नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिने आन्तिम दिन
काठमाडौं।नेको इन्सुरेन्सको हकप्रद सेयरमा आवेदन दिनको लागि आज, चैत १४ गते बिहीबार अन्तिम अवसर हो। लगानीकर्ताले आज दिनभर कार्यालय समय भित्र आवेदन दिन सक्नेछन्। कम्पनीले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री प्रक्रिया सुरु गरेको थियो। यसमा ४:१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता सेयर जारी गरिएको छ, जसको कुल मूल्य १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ हुन्छ।
हकप्रद सेयरको बुक क्लोज माघ १८ गतेमा सम्पन्न भएको थियो, जसका कारण उक्त मितिसम्म कायम रहेका लगानीकर्ताले मात्रै सेयर दाबी गर्न सक्नेछन्। यस हकप्रद सेयरको बिक्री प्रबन्धक सानिमा क्यापिटलले गरेको हो, र आवेदन दिने स्थानका रूपमा नक्साल, काठमाडौंस्थित सानिमा क्यापिटल र नेको इन्सुरेन्सका तोकिएका शाखा कार्यालयहरू रहेका छन्। साथै, धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक र वित्तीय संस्थाहरू र मेरो सेयरमार्फत पनि आवेदन गर्न सकिन्छ।
चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशत आर्थिक वृद्धिदरको अनुमान, जिडिपीमा सामान्य वृद्धि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को दोस्रो त्रैमासिकमा पाँच दशमलव एक प्रतिशतको आर्थिक वृद्धि अनुमान हासिल भएको अनुमान गरिएको छ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार चालु आवको दोस्रो त्रैमासिकको कुल गार्हस्थ्य उत्पादन ९जिडिपी० सार्वजनिक गर्दै यातायातलगायत केही क्षेत्रमा राम्रो सुधार देखिए पनि जिडिपीमा सामान्य वृद्धि हासिल भएको जनाएको हो । यद्यपि, यो मौसमी प्रभाव समायोजन नगरिएको वृद्धिदर हो । दोस्रो त्रैमासिकको मौसमी प्रभाव समायोजनपछिको जिडिपी वृद्धिदर भने दुई दशमलव दुई प्रतिशत रहेको कार्यालयले जनाएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
आज अमेरिकी डलर केही घटेर एकको खरिददर १३६ रूपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रूपैयाँ ४४ पैसा कायम भएको छ । बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रूपैयाँ ५२ पैसा कायम भएको थियो । युरोपियन युरो एकको खरिददर १४७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ३३ पैसा कायम भएको छ । युरो पनि हिजोको भन्दा घटेको हो । बुधबार युरो एकको खरिददर १४८ रुपैयाँ १६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ८१ पैसा कायम भएको थियो ।
यस्तै, युके पाउन्ड स्टर्लिङ र स्विस फ्र्याङ्कको विनिमयदर पनि घटेको छ । आज पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रूपैयाँ ५९ पैसा र बिक्रीदर १७७ रूपैयाँ ३७ पैसा, स्विस फ््र्याङ्क एकको खरिददर १५४ रूपैयाँ ९० पैसा र बिक्रीदर १५५ रूपैयाँ ५८ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij