Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

म्याग्दीमा बङ्गुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

म्याग्दीमा बङ्गुरको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान सुरु

  • म्याग्दी। बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत बङ्गुर जोन कार्यक्रममार्फत बङ्गुरमा कृत्रिम गर्भाधान सेवा सुरु गरिएको हो । परियोजनाका प्रमुख भरत गौतमले म्याग्दीमा पहिलोपटक मङ्गला गाउँपालिका–५ हाडेभिरका विमल सापकोटाको फार्ममा पालिएका बङ्गुरमा उच्च नश्लको कम बोसो भएको अमेरिकन नश्लको शुद्ध बङ्गुरको ताजा वीर्यबाट निःशुल्क कृत्रिम गर्भाधान सेवा सुरु गरिएको जानकारी दिनुभयो । “राष्ट्रिय पशु प्रजनन कार्यालय पोखरासँग समन्वय गरेर प्राविधिक गङ्गामति रोकाले कृत्रिम गर्भाधान गराउनुभएको हो”, उहाँले भन्नुभयो, “हाललाई सहज यातायात सुविधा भएका म्याग्दीका बङ्गुर फार्ममा यो सेवा उपलब्ध गराउँछौँ ।” उपयुक्त समय र विधि भएमा जमेको वीर्यभन्दा ताजा वीर्यबाट गर्भाधान दर उच्च (९० प्रतिशत) हुने परियोजना प्रमुख गौतमले बताउनुभयो ।

    पशु प्रजनन कार्यालय पोखराबाट बोसो कम हुने अमेरिकन नश्लको बङ्गुरको वीर्य निःशुल्क उपलब्ध गराइएको परियोजनाले जनाएको छ । कृत्रिम गर्भाधान सेवाबाट स्थानीय जातका बङ्गुरको नश्ल सुधारमा सहयोग पुग्ने किसान सापकोटाले बताउनुभयो । म्याग्दीमा यसअघि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र स्थानीय तहका पशु सेवा शाखाले गाईभैँसीमा कृत्रिम गर्भाधान सेवा सञ्चालन गरेका थिए । बेनी नगरपालिका, मङ्गला, मालिका, धवलागिरि, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकामा पछिल्लो तीन वर्षयता बङ्गुरपालक किसानलाई परियोजनाले जोन कार्यक्रममार्फत सघाउँदै आएको छ । ---

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij