Logo

Apr 11 2025 | २०८१, चैत २९गते

Apr 11 2025 | २०८१, चैत २९गते

images

कसको हित र कसको आडमा नागढुंगा सिस्नेखोला सुरुङ्गमार्ग ठप्प पारिएको छ ?

कसको हित र कसको आडमा नागढुंगा सिस्नेखोला सुरुङ्गमार्ग ठप्प पारिएको छ ?

  • काठमाडौँ । सरकारको आडमा ठेकदार कम्पनीको हितमा नागढुंगा सिस्नेखोला सुरुङमाग ठप्प पारिएको सरोकारवालाहरू र पर्यवेक्षकहरूले बताएका छन् ।सकिनै लागेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको परियोजना लागत बढाउन काममा अनावश्यक अवरोध गर्न लगाइएको उनीहरूको आरोप हो । 

    स्थानीयहरूले खानेपानीको ग्यारन्टी गरिदिनुपर्ने भनेर नागढुंगा सुरुङ्ग मार्गको काममा अवरोध सिर्जना गरेका हुन् । स्थानीयहरूको उक्त मागलाई समाधान गर्नुको साटो यसलाई सरकारले  लम्ब्याउँदै लगेको छ ।स्थानीयहरूले खानेपानीको ग्यारन्टी गरिदिनुपर्नेलगायतका माग राखी काममा अवरोध गरेको एक महिना पुग्न लागेको छ तर सरकारले कानमा तेल हालेर बस्नुको पछाडि निहित स्वार्थ स्पष्ट भएको छैन र भनी आयोजना सम्बद्ध एक उच्च अधिकारीले बताएका छन् ।

    नेपालकै पहिलो सडक सुरुङमार्ग सञ्चालनमा आउने अन्तिम तयारीमा रहेकै बेला त्यसको काम रोकिएको छ । काम खुलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तदारुकता देखाएको देखिएको छैन् । आयोजनाका अधिकारीहरूले यसको काम सकेर आउने दशैतिहारबाट नियमित आवातजावत् खुलाउन सकिने गरी काम गर्दै आएका थिए। स्थानीयले पूरा भइसकेका माग व्यवस्थित गर्नुपर्ने भन्दै चैत ३ देखि काम गर्न नदिएका हुन् । अहिले काठमाडौं र धादिङ दुवैतर्फ काम रोकिएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले  जनाए अनुसार पटक–पटक वार्ताकालागि बोलाइपनि स्थानीयहरु वर्तामा आइरहेका छैनन् ।

    काम रोकिँदा निर्माण व्यवसायीले काम रोकिएको अवधिको  क्षतिपूर्ति  दाबी गर्न सक्छ । दाबी गरे  दैनिक करिब ५० लाखका दरले सरकारले तिर्नुपर्ने जोखिम बढेर गएको छ । यस हिसाबले अहिलेसम्म १० करोडको जोखिम त्यसै बढेर गएको देखिन्छ । 

    आयोजनामा परेका चन्द्रागिरी नगरपालिकास्थित वडा नम्बर २ का बासिन्दाहरूका अनुसार समाधान खोज्न तदारुकताका साथ काम नभएको हो । उनीहरूका अनुसार खानेपानीको ग्यारन्टी गर्ने सवालमा विश्वसनीय आधार तय नभएको हो । तर आयोजनाका अधिकारीहरूका अनुसार सम्झौता भएको छ । आयोजनाको सुरुङ्ग मार्ग स्थानीयहरूकै अगाडि रहने हो । सरकारले माग पूरा नगरे आन्दोलनको बाटो जतिखेर पनि रहिरहने हो । तर पनि स्थानीयहरूले काम रोकेर कसैलाई फाइदा नहुने हो । विकासको काममा  यसरी अवरोध गर्न थाले देशले विकासै गर्न नसक्ने अवस्था आइपुगेको छ ।

    स्थानीयहरूले आयोजनाको काम पूरा भए मागको बेवास्ता गरिने आंशका व्यक्त गरेका छन् ।अहिले आयोजना प्रमुखविहीन छ । आयोजना प्रमुख ज्ञानेन्द्रकुमार झाको सूर्यविनायक–धुलिखेल सडक आयोजनामा सरुवा भएपछि नागढुंगा–सुरुङमार्ग निर्माण आयोजना प्रमुखविहीन बनेको हो ।

    २०८२ असोजभित्र सुरुङमार्ग सञ्चालनमा ल्याउने गरी काम भइरहेको थियो ।अहिले सुरुङभित्र लाइटिङ, भेन्टिलेसन, कंक्रिट सडक निर्माणलगायत काम अन्तिम चरणमा छन् । बलम्बुस्थित किसिपिडी क्षेत्रमा निर्माणको अन्तिम चरणमा रहेको फ्लाइओभरको काम पनि ठप्प बनेको छ । चन्द्रागिरि–२ टुटीपाखाका स्थानीयले परियोजनामार्फत भइरहेका तथा चालु रहेका कार्यक्रम या परियोजनाबाटै निरन्तर सञ्चालन गर्नुपर्ने वा सडक विभागमार्फत सञ्चालन गरिनुपर्ने माग अघि सारेका छन् ।

    २०७६ कात्तिक ४ मा सुरु भएको सुरुङमार्गको भौतिक प्रगति ८७ प्रतिशत पुगेको छ । आपतकालीन सुरुङको दूरी २,५५७ मिटर छ भने मुख्य सुरुङ २,६८८ मिटर लामो छ । हाल नागढुंगा सडक खण्ड भएर दैनिक १० हजारभन्दा बढी सवारीसाधन ओहोरदोहोर गर्छन् । जापानी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माणको काम गरिरहेको छ । परियोजनाको कुल ठेक्का रकम २२ अर्ब रुपैयाँ छ, जसमा जापानको साढे १६ अर्ब रुपैयाँ सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ लगानी छ ।

    अन्तिम समयमा आएर काममा अवरोध गरेर २२ अर्ब रुपैयाँको लागत बढाउने काम भइरहेको आयोजनासम्बद्ध स्रोतको भनाइ छ । एक महिना त्यसै भइसेको छ । वार्तामा स्थानीयहरू संलग्न भए र वार्ता लम्बिएर दुई तीन महिना बढेर गए लागत थप अर्ब थपिने सम्भावना रहेको छ । लागत र समय दुवै बढे यसबाट आउने प्रतिफल झन् टाढिने छ ।
    यसमा बुझिने गरी हेर्दा सरकारले ठेकदार कम्पनीहरूको हितमा समस्या लम्ब्याउन खोजेको हो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij