
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज सोमबार चैत २५ । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६८ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४९ रुपैयाँ ९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ७५ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १७५ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७६ रुपैयाँ २० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ १३ पैसा र बिक्रीदर १५८ रुपैयाँ ८३ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८२ रुपैयाँ २५ पैसा र बिक्रीदर ८२ रुपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपैयाँ १० पैसा र बिक्रीदर १०१ रुपैयाँ ५५ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ २६ पैसा र बिक्रीदर नौ रुपैयाँ ३० पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १८ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ २७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९५ पैसा र बिक्रीदर तीन रुपैयाँ ९७ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ ५ पैसा र बिक्रीदर ३७ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६७ पैसा र बिक्रीदर ३० रुपैयाँ ८० पैसा, साउथ कोरियन वन एक सयको खरिद ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३ रुपैयाँ ६८ पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ र बिक्रीदर २० रुपैयाँ ८ पैसा तोकिएको छ । राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ५० पैसा र बिक्रीदर १७ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपैयाँ ९ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ४ पैसा, बहराइन दिनार एकको खरिददर ३६० रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६२ रुपैयाँ ५६ पैसा, ओमनी रियाल एकको खरिददर ३५३ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ५ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
सोमबार पनि सुनको भाउ घटेर १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार
काठमाडौं । सोमबार पनि सुनको भाउ घटेको छ । तोलामा ७ सय रुपैयाँ घटेको छ ।अघिल्लो दिन तोलाको १ लाख ७४ हजार ५ सयमा कारोबार भएको सुन आज घटेर १ लाख ७३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । चैत २१ गते सुनको भाउ तोलाको १ लाख ८० हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । चाँदी भने तोलामा ३० रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १८ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १८३० रुपैयाँ कायम भएको छ ।
प्रि ओपन सेसन : नेप्से सूचक १.३० अंकले घट्यो
काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक १.३० विन्दुले घटेको छ । यससँगै सूचक २७०२.०९ अंकमा आएको छ । ३१ लाख २१ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३६ कम्पनीको ५ हजार ८ सय १४ कित्ता सेयर कारोबार भएको छ ।
एनआइसी एसिया बैंकले ५० लाख इकाईको ऋणपत्र बिक्री खुला
काठमाडौं । एनआइसी एसिया बैंकले आज, चैत २५ गते सोमबारदेखि ऋणपत्र बिक्री खुला गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा कुल ५० लाख इकाई ऋणपत्र बिक्री गर्दैछ। यसमा ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई जारी गरिनेछ, जबकि ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्टको माध्यमबाट बिक्री गरिनेछ। सर्वसाधारणलाई जारी गरिने ऋणपत्रमा ५ प्रतिशत अर्थात १ लाख इकाई म्युचुअल फण्डका लागि छुट्याइएको बैंकले जनाएको छ। बैंकले १० वर्ष अवधि रहेको ‘७५ एआइसी एसिया डिबेन्चर २०९१’ ऋणपत्र निष्काशन गरेको हो।
नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तान्ने निर्णय, २३ दिनको निक्षेप संकलन उपकरण जारी
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार बजारबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत बजारबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको हो । आज सोमबार ९चैत २५ गते० २३ दिन अवधिको निक्षेप संकलन उपकरणको बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । साँवा र ब्याज भुक्तानी मिति वैशाख १७ गते निर्धारण भएको छ ।
करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगको आजदेखि पुनः सिमेन्ट उत्पादन सुरु
मकवानपुर । करिब पाँच महिनापछि हेटौँडा सिमेन्ट उद्योगले आजदेखि पुनः सिमेन्टको उत्पादन सुरु गरेको छ । उद्योगमा सिमेन्ट उत्पादनका लागि आवश्यक विद्युत्को अभावमा बन्द भएको सिमेन्ट उत्पादन विद्युत् आपूर्तीसँगै पुनः सुरु भएको जनाइएको छ । चुनढुङ्गा पेल्नका लागि उद्योगलाई दैनिक आठ मेगावाट विद्युत् आवश्यक पर्ने उद्योगका निमित्त महाप्रबन्धक नवीनकुमार कर्णले बताउनुभयो । उद्योगलाई आवश्यक पर्ने एक हजार ९०० मेट्रिक टन कोइला अहिले जगेडामा राखिएको छ । दोस्रो चरणमा गरी करिब चार हजार मेट्रिक टन कोइला बोलपत्र प्रक्रियामार्फत ल्याउने तयारी भइरहेको कर्णले जानकारी दिनुभयो ।
विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उद्योगले विसं २०४३ मङ्सिर २६ गते उद्घाटन गरिएको थियो । तत्कालीन समयमा हेटौँडा उद्योगमा रु एक अर्ब ५० करोड लगानी गरिएको थियो । हाल उद्योगमा प्रशासन, व्यापार महाशाखा, लेखा, भण्डारण, प्राविधिक र मजदुर कर्मचारी गरी १९५ जनाले स्थायी रोजगारीको अवसर प्राप्त गरिरहेका छन् । उद्योगले दैनिक १८ हजार बोरा सिमेन्ट उत्पादनको क्षमता भए पनि हाल १२ हजार बोरा मात्र उत्पादन भइरहेको जनाएको छ ।
कसको हित र कसको आडमा नागढुंगा सिस्नेखोला सुरुङ्गमार्ग ठप्प पारिएको छ ?
काठमाडौँ । सरकारको आडमा ठेकदार कम्पनीको हितमा नागढुंगा सिस्नेखोला सुरुङमाग ठप्प पारिएको सरोकारवालाहरू र पर्यवेक्षकहरूले बताएका छन् ।सकिनै लागेको नागढुंगा–सिस्नेखोला सुरुङमार्गको परियोजना लागत बढाउन काममा अनावश्यक अवरोध गर्न लगाइएको उनीहरूको आरोप हो । स्थानीयहरूले खानेपानीको ग्यारन्टी गरिदिनुपर्ने भनेर नागढुंगा सुरुङ्ग मार्गको काममा अवरोध सिर्जना गरेका हुन् । स्थानीयहरूको उक्त मागलाई समाधान गर्नुको साटो यसलाई सरकारले लम्ब्याउँदै लगेको छ ।स्थानीयहरूले खानेपानीको ग्यारन्टी गरिदिनुपर्नेलगायतका माग राखी काममा अवरोध गरेको एक महिना पुग्न लागेको छ तर सरकारले कानमा तेल हालेर बस्नुको पछाडि निहित स्वार्थ स्पष्ट भएको छैन र भनी आयोजना सम्बद्ध एक उच्च अधिकारीले बताएका छन् । नेपालकै पहिलो सडक सुरुङमार्ग सञ्चालनमा आउने अन्तिम तयारीमा रहेकै बेला त्यसको काम रोकिएको छ । काम खुलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको तदारुकता देखाएको देखिएको छैन् । आयोजनाका अधिकारीहरूले यसको काम सकेर आउने दशैतिहारबाट नियमित आवातजावत् खुलाउन सकिने गरी काम गर्दै आएका थिए। स्थानीयले पूरा भइसकेका माग व्यवस्थित गर्नुपर्ने भन्दै चैत ३ देखि काम गर्न नदिएका हुन् । अहिले काठमाडौं र धादिङ दुवैतर्फ काम रोकिएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थीले जनाए अनुसार पटक–पटक वार्ताकालागि बोलाइपनि स्थानीयहरु वर्तामा आइरहेका छैनन् ।
किन रुपेन्देहीका पर्यटन व्यवसायीहरूले गरे नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाही गर्न माग?
बुटवल । रुपन्देहीका दुई दर्जन बढी व्यावसायिक संस्थाहरूले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई कारबाही माग गरेका छन् ।गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सेवाबारे नकारात्मक टिप्पणी गर्दै आएका प्रदीप अधिकारी विरुद्धको अभियान सञ्चालन गर्दै उनीहरूले यस्तो माग गरेका हुन् ।अहिले भैरहवाको गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान बन्द भएको छ । अप्रिल १ देखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान रोकिएपछि ती व्यावसायिक संस्थाका प्रतिनिधिहरूले आक्रोश महानिर्देशक अधिकारी विरुद्ध पोखेका छन् । महानिर्देशक अधिकारीले पटकपटक दिएका नकारात्मक र आपत्तिजनक अभिव्यक्तिले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउन नसकेको भन्दै सञ्जालले कारवाहीको माग गरेको हो । भैरहवामै केही महिना अघि आयोजित एक कार्यक्रममै अधिकारीले गौतमबुद्ध विमानस्थल चल्न नसक्ने आशयको अभिव्यक्ति दिएका थिए । विदेशी एयरलाइन्स कम्पनीहरूले उडानलाई निरन्तरता नदिँदा लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीहरू निराश भएका छन् ।
चीनले ट्रम्पको करविरुद्ध प्रतिक्रिया दिँदै गर्दा सेयर बजार आतङ्कित
टोकियो । चिनियाँ प्रतिकार र विश्वव्यापी मन्दीको चेतावनी अझ चर्को हुँदै जाँदा पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो कठोर भन्सार शुल्कमा अडान लिइरहेको बेला सोमबार विश्व बजार आतङ्कित भएको छ ।
विश्वभरका देशहरूले नयाँ अमेरिकी भन्सार शुल्कको धारलाई कम गर्न सङ्घर्ष गरिरहेका छन् तर बेइजिङले विश्वको दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्धलाई बढावा दिँदै भन्सार शुल्कहरूको सामना गरिरहेको सङ्केत दिएको छ ।
ट्रम्पले अमेरिकाका व्यापारिक साझेदारहरूसँगको घाटामा कटौती गर्ने आफ्नो मागलाई दोब्बर तुल्याउँदै त्यो समाधान नभएसम्म कुनै पनि सम्झौतामा कटौती नगर्ने बताउनुभएको छ ।
“कहिलेकाहीँ तपाईँले केही कुरा ठिक गर्न औषधि लिनुपर्छ”, ट्रम्पले आइतबार भन्नुभयो । उहाँले एयर फोर्स वनमा सवार पत्रकारहरूलाई विश्व नेताहरू ‘सम्झौता गर्न लालायित भइरहेको’ बताउनुभयो ।
ट्रम्पले गत हप्ता संयुक्त राज्य अमेरिकामा आउने सामानहरूमा आधारभूत १० प्रतिशत आयात भन्सार शुल्क र युरोपेली सङ्घ ९इयु०, जापान र ताइवान सहित धेरै देशका लागि उच्च दरहरू घोषणा गर्नुभयो ।
काठमाडौँ महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई तीन महिनापछि तलब, प्रमुख प्रशासकीय अधिकृतको हाजिरीसँगै समाधान
काठमाडौं ।काठमाडौं महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले तीन महिनापछि तलब प्राप्त गरेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको हाजिरीसँगै सोमबार सबैको खातामा तलब जम्मा भएको हो। गत पुस ७ गतेदेखि बिदामा रहेका गुरागाईं बिहीबार कार्यालय हाजिर भएपछि कर्मचारी र जनप्रतिनिधिलाई तलब दिने प्रक्रिया अघि बढेको थियो।
शेयर बजार ; नेप्से परिसूचकमा ३२.४५ अंकले घटेर २६७०.९४ बिन्दुमा, ५ अर्ब ६५ करोडभन्दा बढीको कारोबार\
काठमाडौँ । आज नेप्से परिसूचकमा ३२.४५ अंकले घटेर २६७०.९४ बिन्दुमा आएको छ । आज ५ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूहका सूचक घटेका छन् । यस दिन ३ सय २२ कम्पनीको १ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५० करोड ३६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर र नेपाल पुनर्बिमा कम्पनी परेका छन् ।
मापदण्ड विपरीतका सवारी साधन रोकिने
काठमाडौँ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारी साधन सञ्चालनमा रोक लगाइने बताउनुभएको छ । मन्त्रालयमा यातायात व्यवसायी तथा मजदुरहरुसँगको आजको छलफलमा उहाँले नियम विपरीत सञ्चालन भइरहेका सवारी साधन सञ्चालनमा रोक लगाउन सडक तथा यातायात विभागले मात्र सम्भव नहुने भएकाले गृह मन्त्रालयसँग समेत समन्वय गरिने बताउनुभएको हो । यसैगरी निर्माणस्थलहरुमा सवारी साधन अवरोध हुन नदिन वैकल्पिक बाटो तथा ‘डाइभर्सन’को व्यवस्थापनलाई समेत प्राथमिकता दिइने उहाँले बताउनुभयो । काठमाडौँ र पूर्वी नेपाललाई जोड्ने बिपी राजमार्ग मर्मतलाई तीव्रता दिइएको जनाउँदै उहाँले वैकल्पिक सडकका रुपमा उपयोग हुने कान्ति लोकपथ मर्मतलाई समेत प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गर्नुभयो ।
विद्युतीय व्यापार र सेवा व्यापारको वृद्धि: विद्युतीय व्यापार नियमनका लागि ई–कमर्स ऐन, २०८१ कार्यान्वयनमा
काठमाडौँ ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सेवा र विद्युतीय व्यापारको क्षेत्रलाई प्रवद्र्धन गर्नमा जुटेको छ । प्रविधिको विकाससँगै विद्युतीय व्यापार (ई–कमर्स) नेपालमा दिनानुदिन बढ्दै गइरहेको सन्दर्भमा सरकार विद्युतीय व्यापार नियमन तथा प्रवद्र्धनमा जुटेको हो ।
विद्युतीय व्यापारलाई नियमन तथा प्रवद्र्धन गर्न विद्युतीय व्यापार (ई–कमर्स) ऐन, २०८१ जारी भइसकेपछि कार्यान्वयनका सन्दर्भमा मन्त्रालयले आवश्यक पहल थालेको मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले राससलाई बताउनुभयो ।
उहाँका अनुसार विश्व व्यापार सङ्गठनको सहकार्यमा मन्त्रालयले आइतबार सेवा तथा विद्युतीय व्यापार ९ई–कमर्स० सम्बन्धी तीनदिने कार्यशालासमेत सम्पन्न गरेको छ । यस्तै उहाँका अनुसार केही समयअघि मात्र ऐन पारित भएकाले कार्यान्वयनका लागि साझेदार निकायहरुसँग छलफल तथा सुझाव सङ्कलनको काम भइरहेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij