
काठमाडौँ । तीन दिनसम्म चल्ने दक्षिण एसियाली ड्रोन महोत्सव काठमाडौंमा सुरु भएको छ। दक्षिण एसियाली मुलुकका हवाई नियामक संस्थाका प्रतिनिधिहरूको सहभागितामा काठमाडौंमा महोत्सवको आयोजना गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दक्षिण एसियामा ड्रोनको प्रयोगको अवस्था, समस्या, नियमनजस्ता विषयमा छलफलका लागि यो महोत्सवको आयोजना गरिएकोे जनाएको छ । महोत्सव उद्घाटनका क्रममा सबै देशका प्रतिनिधिले आ आफ्नो देशमा विद्यमान व्यवस्थाबारे जानकारी गराएका छन्।
क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जनाए अनुसार ड्रोन प्रयोगको अनुमति सम्बन्धमा एकद्वार प्रणाली लागू गर्ने तयारी गरिएको छ । केही समय अगाडि काभ्रेमा गएको बाढीले ड्रोनको आवश्यकता र महत्वलाई दर्शाएको बताउँदै उनले अब ड्रोन दर्ता र नियमनका लागि छुट्टै निर्देशिका बनाउने तयारी गरिएको बताए । माल्दिभ्सको यातायात तथा नागरिक उड्डयन मन्त्रालयका प्रतिनिधि मोहम्मद अफ्लाले ड्रोनको प्रयोग दिनहुँ बढिरहेको बताए। उनका अनुसार माल्दिभ्समा धेरै टापु छन्। ड्रोनले गर्दा औषधी, खाद्य सामग्री ढुवानी सहज भएको छ। त्यहाँ ड्रोन प्रयोगलाई बढावा दिइएको छ । बंगलादेशको नागरिक उड्डयन प्राधिकरणका प्रतिनिधि अस्राफुल आलमले ड्रोन आफैंमा नवीन प्रविधि भएकाले यसबार साक्षरता अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए ।
भारतको नागरिक उड्डयन प्राधिकरणकी महानिर्देशक कविता सिंहले विकट क्षेत्रका कृषकलाई लक्षित गरेर ड्रोन सम्बन्धी निर्देशिका लागू गरिएको जानकारी दिइन्। अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)का प्रतिनिधि हिरोयुकी टाकाटाले ड्रोन प्रयोग सम्बन्धमा हेक देशका आ आफ्नै नीति रहेपनि सहकार्य आवश्यक रहेको जनाए । ड्रोनको महत्व एक पछि अर्कोगरी क्षेत्र विस्तार भइरहेकोले यसको नियमन र सञ्चालन सरकारहरूको विशेष चासोको विषय बनेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij