
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज बुधबार, चैत २७ । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सरकारलाई करिब साढे तीन खर्ब आन्तरिक ऋण उठाउन पाउने स्थिति
काठमाडौँ । सरकारका लागि आगामी आर्थिक वर्ष २०८२/८३ मा करिब साढे ३ खर्ब रुपैयाँसम्म आन्तरिक ऋण उठाउन पाउने स्थिति बनेको छ ।राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सरकारलाई आगामी आवमा उठाउने पाउने आन्तरिक ऋण सीमा सिफारिस गरेको हो । सो सिफारिस अनुसार २०८२/८३ का लागि अनुमानित कुल गार्हस्थ उत्पादन (जीडीपी) को ५ प्रतिशतमा नबढ्ने गरी आन्तरिक ऋण उठाउन सक्ने गरी सीमा तय गरिएको छ ।
यसैगरी प्रदेश र स्थानीय तहले आन्तरिक ऋण उठाउन नसकेको अवस्थामा थप शून्य दशमलव ५ प्रतिशत समेत संघीय सरकारले नै उठाउन पाउने गरी सिफारिस गरिएको छ । चालु आव २०८१/८२ सम्म जीडीपीको आकार ६३ खर्ब ७५ अर्ब १६ करोड रहने अनुमान छ । चालु आवको आर्थिक वृद्धिदरका कारण बढ्ने जीडीपीको आकारको ५.५ प्रतिशत हाराहारी आन्तरिक ऋण उठाउन पाउने प्रावधान अनुसार आगामी आव सरकारले करिब साढे ३ खर्ब उठाउन पाउने स्थिति बनेको छ ।
आठ महिनामा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ : राष्ट्र बैंक
काठमाडौँ । आठ महिनामा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको वित्तीय विवरणअनुसार विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको हो ।
असार मसान्तको तुलनामा यस्तो सञ्चिति १८ प्रतिशतले बढेको जनाइएको छ । अमेरिकी डलरमा भने १३.१ प्रतिशत बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १७ अर्ब २७ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।
सरकारको प्रतिबद्धता: तीनकुने प्रदर्शनका घाइतेहरूको उपचार खर्च सरकारले गर्ने
काठमाडौँ ।गृहमन्त्री रमेश लेखकले काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शनमा घाइते भएका व्यक्तिहरूसँग सिभिल अस्पतालमा भेट गर्दै भने कि सरकारले सबै घाइतेको उपचार खर्च व्यहोर्नेछ। मन्त्री लेखकले बुधबार सञ्चारकर्मीसँग कुरा गर्दै भन्नुभयो कि प्रदर्शनको क्रममा घाइते भएका सबै व्यक्तिहरूको उपचार सरकारले सुनिश्चित गर्नेछ।
सरकारले यसअघि मन्त्रिपरिषद् बैठकमा घाइतेहरूको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिने निर्णय गरेको थियो। यद्यपि, घाइतेहरूले राज्यबाट उपचारमा सहयोग नगरेको गुनासो गरेपछि गृहमन्त्री लेखक घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अस्पताल पुगेका थिए।
चालु आर्थिक वर्षको आठ महिनामा साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रियो
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१र८२ को आठ महिनामा साढे १० खर्बभन्दा बढी विप्रेषण भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको फागुन महिनासम्मको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह नौ दशमलव चार प्रतिशतले बढेर रु १० खर्ब ५१ अर्ब ७७ करोड पुगेको हो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या तीन लाख १७ हजार ६८ र पुनःश्रम स्वीकृति लिनेको संख्या दुई लाख १७ हजार चार सय तीन रहेको छ । यो अवधिमा खुद द्वितीय आय ९खुद ट्रान्सफर० रु ११ खर्ब ४८ अर्ब १२ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी समीक्षा अवधिमा चालु खाता रु एक खर्ब ८० अर्ब आठ करोडले बचतमा रहेको छ । यो अवधिमा रु आठ अर्ब ४९ करोड बराबर प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको पनि राष्ट्र बैंकले जनाएको छ ।
गत फागुन मसान्तसम्ममा शोधनान्तर स्थिति रु तीन खर्ब १० अर्ब ३७ करोडले बचतमा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु तीन खर्ब २७ अर्ब ५५ करोडले बचतमा रहेको थियो ।
नेपालको अर्थतन्त्रमा सुधार आउने एडीबीको प्रक्षेपण ,नेपालको अर्थतन्त्र ४.४ प्रतिशतले वृद्धि हुने
काठमाडौँ । एसियाली विकास बैंक(एडीबी)ले नेपालको अर्थतन्त्रमा सुधार आउने प्रक्षेपण गरेको छ ।आर्थिक वर्ष २०८१/८२ मा नेपालको अर्थतन्त्र ४.४ प्रतिशतले वृद्धि हुने जनाउँदै एडीबीले यस्तो प्रक्षेपण गरेको हो । यो आर्थिक वर्ष २०८०/८१ को अनुमानित ३.९ प्रतिशतभन्दा माथि रहने एसियाली विकास बैंक (एडीबी) को पछिल्लो प्रमुख प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य) ले जनाएको छ ।आयोजित पत्रकार सम्मेलनमा एडीबीले राष्ट्रिय अन्तर्राष्ट्रिय आर्थिक गतिविधिको विगतको आधारमा आगतको तुलनात्मक अध्ययन गर्ने क्रममा विभिन्न आँकडा प्रस्तुत गरी सुधारबारे जानकारी दिएको छ ।
कामना सेवा विकास बैंकको १३ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बुधवार कुल १३ हजार ५०० कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले कुल कित्ता शेयरमध्ये ५ हजार कित्ता विद्यमान संस्थापक शेयरधनीहरुका लागि र ८ हजार ५०० कित्ता अन्य व्यक्ति तथा संस्थाहरुले समेत खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको हो । यी शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र र अन्य व्यक्ति तथा संस्थाहरुले आगामी सात दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।आवेदनका लागि कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा सम्पर्क राख्नुपर्नेछ ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको साधारण सभा वैशाख १९ गते , ५% बोनस सेयर र नगद लाभांश वितरण गर्ने प्रस्ताव
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले वैशाख १९ गते आफ्नो वार्षिक साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। कम्पनीले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव राख्नेछ, साथै बोनसमा लाग्ने कर प्रयोजनको लागि ०।२६३२ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने योजना बनाएको छ।
सान्भि इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आइपीओ बिक्री खुला गर्ने
काठमाडौं ।सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ८ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने घोषणा गरेको छ। कम्पनीले जारी गरेको पुँजीको १० प्रतिशत, अर्थात ८ करोड ८० लाख रुपैयाँको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्ने भएको हो।
सुनको मूल्यमा ४ दिनको गिरावटपछि बुधबार २ हजार रुपैयाँको वृद्धि
काठमाडौं । नेपालमा सुनको मूल्यमा लगातार ४ कारोबार दिनको गिरावटपछि बुधबार वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँ बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँमा पुगेको छ। मंगलबार यसको मूल्य १ लाख ७३ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो।
राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्ने घोषणा
काठमाडौँ।राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ ऋणपत्र बिक्री गर्ने योजना घोषणा गरेको छ। बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा २५ लाख इकाई ऋणपत्र बिक्री खुला गर्नेछ। यसमध्ये १५ लाख इकाई प्राइभेट प्लेसमेन्ट मार्फत बैंकले आफ्नै पहलमा बिक्री गर्नेछ भने, बाँकी १० लाख इकाईमध्ये ५ प्रतिशत ९५० हजार इकाई० म्युचुअल फण्डलाई छुट्याइएको छ। सर्वसाधारणलाई ९ लाख ५० हजार इकाईमा आवेदन दिने अवसर दिइनेछ।
नेपाल राष्ट्र बैंक २१ दिनका लागि बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तान्दै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले २१ दिनका लागि २० अर्ब रुपैयाँ तानिरहेको छ ।विभिन्न सर्तहरू अन्तर्गत निक्षेप संकलन उपकरणको उपयोगरी बोलकबोल मार्फत् २० अर्ब रुपैयाँ तान्न राष्ट्र बैंकले योग्य बोलकबोलकर्ताहरूलाई आह्वान गरेको हो ।
केन्द्रीय बैंकद्वारा जारी विज्ञप्ति अनुसार बोलकबोलकर्ताले अनलाइन बिडिङ सिस्टम सफ्टवेयरको प्रयोग गरी बोलकबोल गर्न चाहने रकम र त्यसको ब्याजदर उल्लेख गरी आवेदन दिनुपर्ने छ ।
निष्काशन मिति २७ गते जारी भइ त्यसको सावाँ र ब्याज भुक्तानी बैशाख १७ गते हुने जनाउँदै आह्वान गरिएको सूचना अनुसार बोलकबोलकर्ताले घटीमा १० करोडले र बढीमा ५ करोडले निशेष भाग जाने रकम बोलकबोल गर्न आवेदन दिनुपर्नेछ ।
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन अधिकारीविरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कलैया उपमहानगरपालिकामा सेनिटरी प्याड खरिदमा भ्रष्टाचार भएको आरोपामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतलगायतका अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आर्थिक बर्ष २०७७/७८ र आव २०७८/७९ का लागि सेनिटरी प्याड खरिदमा प्रतिप्याकेट रु ७९ दशमलव एक कायम गरी ठेक्का गरिएको थियो । आयोगले तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रह्लादप्रसाद वर्णवाल, शिक्षा अधिकृत विजय अधिकारी, जिन्सी प्रमुख राजेश ठाकुर र लेखा अधिकृत दिव्या सर्राफविरुद्ध रु ५१ लाख ९९ हजार एक सय २० बराबरको बिगो माग दावी गरी मुद्दा दायर गरेको जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij