
काठमाडौं । औषधि उत्पादनमा सक्रिय एरो फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन ल्याउने तयारी तीव्र बनाएको छ। कम्पनीले आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई विक्री व्यवस्थापकका रूपमा नियुक्त गर्दै औपचारिक प्रक्रिया अघि बढाएको हो।
चैत २८ गते काठमाडौंको नक्सालस्थित ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहका बीच सम्झौतापत्रमा एरो फर्मास्युटिकल्सका अध्यक्ष उद्धवप्रसाद मैनाली र क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुइँटेलले हस्ताक्षर गरेका थिए।
कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा १५ लाख कित्ता सेयर निष्कासन गर्ने तयारी गरेको छ। यस आइपीओमार्फत सर्वसाधारणबाट १५ करोड रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य राखिएको छ।
एरो फर्मास्युटिकल्सको अधिकृत पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने हालको जारी पूँजी ७५ करोड रुपैयाँ छ। भक्तपुरको सुडालस्थित उत्पादन केन्द्रबाट सञ्चालन हुने यस कम्पनीले विगत ५ वर्षदेखि विभिन्न प्रकारका ट्याब्लेट, क्याप्सुल, ओइन्टमेन्ट, ड्राइ सस्पेन्सन, लिक्विड र पाउडर औषधिहरू उत्पादन गर्दै आएको छ। हाल कम्पनीका १०७ ब्रान्डका औषधिहरू नेपाली बजारमा उपलब्ध छन्।
मुख्य रूपमा उच्च रक्तचाप, मधुमेह, एन्टिबायोटिकजस्ता औषधिहरूमा केन्द्रित एरो फर्मास्युटिकल्सले हालैदेखि भेटेरिनरी ९पशु उपचारका लागि प्रयोग हुने० औषधिहरूको उत्पादनसमेत सुरू गरेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij