
काठमाडौँ । सरकारले राजस्व संकलनको लक्ष्य पु¥याउन नसक्ने देखिएको छ । सरकारले १४ खर्ब १९ अर्ब राजस्व उठाउने लक्ष्य राखेको भएपनि चैत सम्म करिब ९ खर्ब जति उठाउने देखिएको हो । सरकारले चैत २९सम्म ८ खर्ब २१ अर्ब मात्र राजस्व उठाएको छ । सरकारले अनुमानित चैतसम्म बढीमा ९ खर्ब जति उठाउने देखिन्छ । यो हिसाबले सरकारले राजस्वको लक्ष्य पु¥याउन झण्डै ६ खर्ब राजस्व तीन महिनामा उठाउनुपर्ने हुन्छ । महालेखापरीक्षकको तथ्यांक अनुसार सरकारले राजस्वको लक्ष्य भेटाउन धेरै मिहनेत गर्नुपर्ने हुन्छ ।९ महिनामा ५८ प्रतिशत मात्र राजस्व उठाउन सकेको सरकारले अबको तीन महिनामा ४२ प्रतिशत राजस्व उठाउन गाह्रो हुने देखिन्छ ।
तथ्यांकका आधारमा सरकार राजस्वमा मात्र नभइ विकासमा पनि पछि देखिएको छ । चालु आर्थिक वर्ष सकिन तीन महिना मात्र बाँकी रहेको छ । विकास निर्माणले पनि तीव्रता पाउन नसकेको तथ्यांकले देखाएको छ। ९ महिनामा पुँजीगततर्फ एक तिहाइ पनि खर्च हुन नसकेको देखिन्छ ।महालेखा परीक्षकको कार्यालयका अनुसार चालु आर्थिक वर्ष चैत मसान्तसम्म पुँजीगत बजेट २९.२ प्रतिशत मात्र खर्च भएको छ। यो आर्थिक वर्ष पुँजीगततर्फ ३ खर्ब ५२ अर्ब रुपैयाँ छुट्याएको थियो । ९ महिनामा १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ मात्र खर्च भएको छ।
विकास निर्माणमा सुस्त देखिएको सरकारले चालुतर्फ भने ५९.४५ प्रतिशत बजेट खर्च गरेको छ। यो वर्ष चालुतर्फ ११ खर्ब ४० अर्ब रुपैयाँ विनियोजन गरिएकामा चैत मसान्तसम्म ६ खर्ब ७८ अर्ब रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij