Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

ट्रम्पका दूतले रोक्न आग्रह गरेपछि युरेनियम संवर्धन ‘गैर–सम्झौता योग्य’ भएको इरानी विदेशमन्त्रीको भनाइ

ट्रम्पका दूतले रोक्न आग्रह गरेपछि युरेनियम संवर्धन ‘गैर–सम्झौता योग्य’ भएको इरानी विदेशमन्त्रीको भनाइ

  •  

    तेहरान ।अमेरिकी विशेष दूत स्टिभ विटकफले रोक लगाउन आह्वान गरेपछि इरानले आफ्नो आणविक कार्यक्रमको एक हिस्साका रूपमा युरेनियमको संवर्धन ‘गैर–सम्झौता योग्य’ भएको विदेशमन्त्री अब्बास अराघचीले बुधबार बताउनुभएको छ ।

     

    “इरानको संवर्धन वास्तविक, स्वीकृत विषय हो । हामी सम्भावित चिन्ताहरूको जवाफमा विश्वास निर्माण गर्न तयार छौँ, तर संवर्धनको विषय गैर–सम्झौता योग्य छ”, अराघचीले मन्त्रिपरिषद्को बैठकपछि पत्रकारहरूलाई बताउनुभयो ।

     

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१८ मा ऐतिहासिक आणविक सम्झौता त्याग्नुभएपछि लामो समयदेखि शत्रु रहेका दुई मुलुकबीच उच्चस्तरीय वार्ता भएको एक हप्तापछि शनिबार ओमानमा अराघची र विटकफले फेरि भेट्ने क्रममा यो टिप्पणी आएको हो ।

     

    ट्रम्पले जनवरीमा कार्यालयमा फर्केपछि तेहरानविरुद्ध ‘अधिकतम दबाव’ को नीतिमा व्यापक प्रतिबन्धहरू फेरि लागू गर्नुभएको छ ।

     

    मार्चमा उहाँले इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीलाई वार्ताको आग्रह गर्दै पत्र पठाउनुभयो तर वार्ताले सम्झौता ल्याउन नसकेमा सम्भावित सैन्य कारबाहीको चेतावनी पनि दिनुभयो ।

     

    दुवै पक्षले शनिबारको बैठकलाई ‘रचनात्मक’ भएको बताए ।

     

    तर मङ्गलबार विटकफले इरानले कुनै पनि आणविक सम्झौताको भागका रूपमा युरेनियमको संवर्धन ‘रोक्न र उन्मूलन’ गर्नुपर्ने बताउनुभयो ।

     

    यसअघि उहाँले सन् २०१५ मा इरान र प्रमुख शक्तिहरूबीच भएको सम्झौताले इरानलाई दिएको तीन दशमलव ६७ प्रतिशतको सीमा फिर्ता गर्नुपर्ने माग गर्नुभएको थियो । उक्त सम्झौताबाट ट्रम्पले हात झिक्नुभएको थियो ।

     

    शनिबारको वार्ताअघि ट्रम्प प्रशासनबाट बाहिर आएको ‘विरोधाभासी र परस्पर विरोधी स्थिति’ भन्दै अराघचीले निन्दा गर्नुभयो ।

     

    “हामी वार्ता सत्रको समयमा अमेरिकीहरूको वास्तविक विचारहरू पत्ता लगाउनेछौँ”, उहाँले भन्नुभयो ।

     

    इरानका शीर्ष कूटनीतिज्ञले सम्भावित सम्झौताको ढाँचामा वार्ता सुरु गर्ने आशा व्यक्त गर्नुभयो तर त्यसका लागि संयुक्त राज्य अमेरिकाबाट ‘रचनात्मक स्थितिहरू’ आवश्यक रहेको बताउनुभयो ।

     

    “यदि हामीले विरोधाभासी र परस्पर विरोधी स्थितिहरू ९सुन्न० जारी राख्यौँ भने, हामीसँग समस्याहरू हुनेछन्”, उहाँले चेतावनी दिनुभयो ।

     

    मङ्गलबार खामेनीले वार्ताहरू प्रारम्भिक चरणमा राम्रोसँग अघि बढेको भए पनि तिनीहरू अझै पनि निष्फल साबित हुनसक्ने चेतावनी दिनुभयो ।

     

    “वार्ताले नतिजा निकाल्न सक्छ वा नदिन पनि सक्छ”, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij