Logo

Apr 19 2025 | २०८२, वैशाख ७गते

Apr 19 2025 | २०८२, वैशाख ७गते

images

स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी

स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी

  •  

    काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी गरेको छ । 

     

    स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागू गर्ने निर्णय गर्नुभएको थियो । त्यसलाई मद्दत पुग्ने गरी व्यक्तिका सबै स्वास्थ्य विवरण एकैठाउँमा रहनेगरी ‘युनिक हेल्थ आइडी’ निर्माणको तयारी थालिएको जनाइएको छ ।

     

    आज मन्त्रिस्तरीय निर्णय गर्दै उहाँले मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा सरोज शर्माको नेतृत्वमा सुझाव समिति गठन गर्ने निर्णय गर्नुभएको छ । समितिमा मन्त्रालयको नीतियोजना तथा अनुगमन महाशाखा, कानुन तथा फैसला कार्यान्वयन महाशाखा, पञ्जीकरण विभागका प्रतिनिधि रहेको मन्त्रालयले जनाएको छ । 

     

    यसैगरी, सूचना प्रविधि परामर्शदाता इञ्जिनियर शशांकश्री न्यौपाने, स्वास्थ्य बिमा बोर्ड, विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल उद्योग परिसङ्घका प्रतिनिधि समितिमा छन् । समितिको सदस्य सचिवमा मन्त्रालयका सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी हुनुहुन्छ । समितिलाई स्वास्थ्य पहिचान नम्बर सिर्जना गर्ने विधि, प्रक्रिया तथा ‘अल्गोरिदम’ अध्ययन गरी प्रस्ताव गर्न कार्यादेश दिइएको छ ।

     

    राष्ट्रिय परिचयपत्र, स्वास्थ्य बिमा प्रणाली तथा सरकारबाट जारी भएका मान्यता प्राप्त परिचयपत्रसँग आवश्यक अनुसन्धान गर्न  भनिएको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार मन्त्रालयले समितिबाट प्राप्त विस्तृत सुझावसहितको प्रतिवेदन दिएपछि थप प्रक्रिया अघि बढ्नेछ ।

     

    यसले व्यक्तिका स्वास्थ्यसम्बन्धी सबै विवरण एकत्रित हुने र  उपचार तथा राज्यलाई नागरिकको स्वास्थ्य तथ्याङ्कका आधारमा कार्यक्रम, योजना तर्जुमामा मद्दत मिल्ने विज्ञहरुको भनाइ छ । 

     

    समितिका सदस्य न्यौपानेले विद्यमान विद्युतीय चिकित्सा अभिलेख कार्यान्वयन र विद्युतीय माध्यमबाट सहज स्वास्थ्य सुविधा दिन नयाँ व्यवस्था लागू हुनसके मद्दत पुग्ने बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij