
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ३ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय (सूचीसहित)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्ति छिटो हुने बताएका छन्। बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता साझेदार दलका प्रमुख नेताहरूबीच सहमति भइसकेकोले अब नियुक्तिमा ढिलाइ नहुने स्पष्ट पारे।
उनले भने, 'गभर्नर नियुक्तिको विषयमा समस्या समाधानका लागि सहमति जुटिसकेको छ, त्यसैले प्रक्रिया अब चाँडै अघि बढ्नेछ।'
नाडेप लघुवित्तले यस वर्ष नाफाबाट लाभांश नदिने निर्णय, साधारण सभामा प्रस्ताव पेश नहुने
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको नाफाबाट कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बुधबार दिउँसो बसेको सञ्चालक समिति बैठकले बोनस सेयर वा नगद लाभांश नदिने प्रस्ताव आगामी वार्षिक साधारण सभामा पेश नगर्ने निर्णय गरेको हो।
आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गर्ने निर्णय पनि सोही बैठकबाट गरिएको छ।
शेयर बजार : नेप्से परिसूचकमा ९.७५ अंकले बढेर २६९८.९७ बिन्दुमा, ७ अर्ब २६ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ९.७५ अंकले बढेर २६९८.९७ बिन्दुमा आएको छ । आज ७ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।यस दिन ३ सय २९ कम्पनीको १ करोड ६६ लाख भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५९ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत र बलेफी हाइड्रोपावर परेका छन् ।
वीरगञ्ज भन्सारद्वारा नौ महिनामा १ खर्ब २४ अर्ब बढी राजस्व सङ्कलन
वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको नौ महिनामा रु एक खर्ब २४ अर्ब ७० करोड राजस्व सङ्कलन गरेको छ ।
उक्त कार्यालयका अनुसार साउनमा रु १२ अर्ब १५ करोड, भदौमा रु १३ अर्ब ४२ करोड, असोजमा रु १३ अर्ब ४७ करोड, कात्तिक रु ११ अर्ब १० करोड, मङ्सिरमा रु १४ अर्ब ४० करोड, पुसमा रु १५ अर्ब ४७ करोड, माघमा रु १४ अर्ब ४४ करोड राजस्व सङ्कलन भएको हो ।
यसैगरी, फागुनमा रु १४ अर्ब ६३ करोड र चैतमा रु १५ अर्ब ४७ करोड राजस्व सङ्कलन भएको छ ।
स्वरोजगार लघुवित्तको साधारण सभा वैशाख २९ गते, बोनस सेयर र नगद लाभांश प्रस्ताव
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १६औं वार्षिक साधारण सभा यही वैशाख २९ गतेका लागि बोलाएको छ। कम्पनीको सञ्चालक समितिको वैशाख २ गते बसेको बैठकले सभाको आयोजना नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विहान ११स्३० बजे गर्ने निर्णय गरेको हो।
साधारण सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन, वित्तीय विवरण पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ। साथै, गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरिएको १३.५०% बोनस सेयर र ०.७१% नगद लाभांशलाई अन्तिम स्वीकृति दिनेछ।
नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता व्यवस्थापन गर्न ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा व्याप्त अधिक तरलता सन्तुलन गर्न ३० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने निर्णय गरेको छ। आज बुधबार केन्द्रिय बैंकले उक्त उपकरणको बोलकबोल प्रक्रिया सञ्चालन गर्दैछ, जसमा बैंक तथा वित्तीय संस्थाहरूले दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्।
राष्ट्र बैंकले २१ दिन अवधिको लागि यो उपकरण प्रयोग गर्न लागेको हो, जसको साँवा तथा ब्याज भुक्तानी वैशाख २४ गते हुनेछ। ब्याजदर भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। इच्छुक संस्थाहरूले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष बाँडफाँड हुनेगरी उपकरण बराबरको माग प्रस्तुत गर्न सक्ने छन्।
स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्यसम्बन्धी सबै विवरण उपलब्ध हुने प्रणाली लागू गर्ने तयारी गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सबै विद्युतीय चिकित्सा विवरण एउटै प्रणालीमा ल्याउन एकीकृत विद्युतीय चिकित्सा प्रणाली लागू गर्ने निर्णय गर्नुभएको थियो । त्यसलाई मद्दत पुग्ने गरी व्यक्तिका सबै स्वास्थ्य विवरण एकैठाउँमा रहनेगरी ‘युनिक हेल्थ आइडी’ निर्माणको तयारी थालिएको जनाइएको छ ।
प्रहरीले विमानस्थलमा दुर्व्यवहार गरेको घटनामा छानबिन सुरु
काठमाडौँ ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा एक युवालाई दुर्व्यवहार भएको घटनामा प्रहरीले छानबिन थालेको छ ।
काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङले केही दिनअघि भएको उक्त घटनामा संलग्न तीनजना प्रहरीमाथी घटनाको छानबिन थालिएको राससलाई जानकारी दिनुभयो ।
दुबईबाट काठमाडौँ आएका मोरङका सञ्जय ओझालाई गत चैत ३१ गते विमानस्थलमा तीन प्रहरीले समातेर दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा ‘भाइरल’ भएको थियो ।
बाढीले क्षतिग्रस्त बिपी राजमार्ग चार खण्डमा पुनर्निर्माण हुँदै
काभ्रेपलाञ्चोक । गत असोज दोस्रो साता रोशी खोलाको बाढीले बिपी राजमार्गको क्षतिग्रस्त सडकखण्ड चार खण्डमा पुनर्निर्माण हुने भएको छ । डिभिजन सडक कार्यालय भक्तपुरले राजमार्गअन्तर्गत क्षति पुगेको काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाको चौकीडाँडाबाट सिन्धुलीको बर्खेखोलासम्मको सडकलाई चार खण्डमा पुनर्निर्माण गर्ने जनाएको हो । कार्यालयका अनुसार क्षतिग्रस्त सडकखण्डमध्ये नेपाल सरकारको लागतमा तीन खण्डको पुनर्निर्माण गरिने हुनेछ । यस्तै एक खण्ड पुनर्निर्माणका लागि जापान सरकारलाई अनुरोध गरिएको कार्यालयले जनायो । उसका अनुसार काभ्रेपलाञ्चोकतर्फको तीन खण्डमध्ये दुई खण्ड र सिन्धुलीतर्फको एक खण्डका लागि बोलपत्र आह्वान गरिसकिएको छ । क्षतिग्रस्त सडकखण्ड पुनर्निर्माण गर्दा साबिककै सडक ट्रयाकबाटै सडक पुनर्निर्माण गरिने कार्यालयले जनाएको छ । काभ्रेपलाञ्चोकतर्फ भकुन्डेबेँसीबाट चार सय बेँसीसम्मको करिब ११ किलोमिटर सडक र डालाबेँसीबाट चार सय बेँसीसम्मको आठ दशमलव पाँच किलोमिटर सडक तथा सन्धुलीतर्फ बर्खेखोलाबाट नेपालथोकसम्मको चार किलोमिटर सडकखण्ड पुनर्निर्माणका लागि बोलपत्रको सूचना प्रकाशित भइसकेको डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिनुभयो ।
नेपालमा ९ महिनामा ६७६ विदेशीलाई श्रम स्वीकृति
काठमाडौँ । नेपालमा काम गर्न ९ महिनामा ६७६ विदेशीलाई श्रम स्वीकृति दिइएको छ ।चालु आर्थिक वर्ष २०८१÷८२ को ९ महिना (साउन–चैत) सम्म ६ सय ७६ विदेशीले नेपालमा श्रम स्वीकृति लिएका छन् । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार चैतमा मात्र ९० विदेशीलाई श्रम स्वीकृति प्राप्त भएको देखिन्छ । नेपालबाट हरेक दिन २ हजार २ सय जति युवा वैदेशिक रोजगारीमा जाने गरेको देखिएको बेला नेपालमा भने विदेशी परियोजनामा बढी श्रमिक श्रम स्वीकृति लिएर आउने गरेका छन् ।
नेपालमा काम गर्न श्रम स्वीकृति लिनेहरूमा चिनियाँ धेरै छन् । तथ्यांक अनुसार चैतसम्म १ हजार २ सय ३१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । चैतमा मात्र १ सय ५० श्रमिकको श्रम स्वीकृति नवीकरण गरिएको विभागले दर्शाएको छ ।
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
काठमाडौँ । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको चिकित्सा शिक्षा आयोगको १८औँ बैठकले निजी मेडिकल कलेजमा एमबिबीएस र बिडिएसको सिट सङ्ख्या तथा शुल्क संरचना पुनरावलोकनका लागि ११ सदस्यीय कार्यदल गठन गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको उक्त बैठकबाट १० दिनभित्र राय सुझाव पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको हो । कार्यदलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विकास देवकोटा, त्रिभुवन विश्वविद्यालयअन्तर्गत चिकित्सा शिक्षा शास्त्र सङ्कायका डीन डा मोहन शर्मा, काठमाडौँ विश्वविद्यालयअन्तर्गत चिकित्सा शास्त्र सङ्कायका डीन डा मनोज हुमागाईँ, विज्ञहरू डा भगवान कोइराला, डा रमेशकान्त अधिकारी, डा दिव्यासिंह शाह, डा मङ्गल रावल, नेपाल मेडिकल कलेजका अध्यक्ष डा अनिल कार्की र एसोसिएसन अफ प्राइभेट मेडिकल तथा डेन्टल कलेजका अध्यक्ष डा ज्ञानेन्द्र कार्की सदस्य रहनुभएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागद्वारा दुई व्यवसायी कम्पनीलाई कारबाही
काठमाडौँ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई व्यवसायी कम्पनीलाई कारबाही गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ को उल्लङ्घन गरेकाले विभागले उपत्यकाकै डिलरका रूपमा रहेको ललितपुरस्थित पशुपति इन्टरनेसनल बिजनेस प्रालि तथा पशुपति ट्रेडिङ कन्सर्न काठमाडौँलाई कारबाही गरेको विभागका महानिर्देशक कुमारप्रसाद दहालले जानकारी दिनुभयो ।
उहाँका अनुसार पशुपति इन्टरनेसनल बिजनेस प्रालिले बिक्री वितरण गर्ने गुट्खा तथा खैनीको कारोबार रोक्का गरिएको र यस प्रालिका सामग्रीमा तौलसमेत कैफियत देखिएकाले देशैभर कारोबार रोक्का गर्न निर्देशन गरिएको छ ।
खुकुलो नीतिगत व्यवस्थाले शेयर कर्जा लगानी साढे एकतीस प्रतिशतले बढ्यो
काठमाडौँ । शेयर धितो कर्जामा बैंकहरूको लगानी बढेर गएको छ । चालु आर्थिक वर्षमा शेयर धितो कर्जामा लगानी तीस प्रतिशत बढीले बढेको हो । गत असारको तुलनामा यो ३१.५ प्रतिशतले बढेको देखिएको छ ।केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले शेयर कर्जामा लगानी गर्न बैंकहरूका लागि स्थिति खुकुलो पारेपछि यो स्थिति बनेको हो । बैंकहरुले चालु आर्थिक वर्ष ८ महिनामा शेयर धितोमा २८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन्।
राष्ट्र बैंकले तीन वर्षअघि शेयर धितोमा नीतिगत अंकुश लगाएको थियो । गत वर्षदेखि राष्ट्र बैंकले यसलाई खुकुलो पार्दै आएको देखिएको छ । अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब देखिएको अवस्थालाई मूल्यांकन गरी पछि तत्कालीन गभर्नर महाप्रसाद अधिकारी नेतृत्वको राष्ट्र बैंकले २०७८÷७९ को मौद्रिक नीतिबाट शेयर धितो कर्जामा ४÷१२ को सीमा लगाएका थिए । सोही वर्ष मौद्रिक नीतिको समीक्षा गर्दै शेयर धितो कर्जाको जोखिमभार १५० प्रतिशतसम्म पु¥याएपछि बैंकिङ प्रणालीबाट ऋण लिएर सिधै शेयरमा लगानी गर्ने बाटो बन्द भएको थियो । यसपछि बजारको गति उल्टिएको देखिएको थियो।
ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी नियुक्त
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा हरिकृष्ण जोशी नियुक्त भएका छन् । वैशाख २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जोशीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । वैशाख १५ गतेदेखि लागू हुने गरी जोशीलाई सीईओ पदका लागि नियुक्त गर्ने निर्णय गरेको जानकारी कम्पनीले दिएको छ ।
कति हुन्छ ट्रकमा फेला परेको २५ करोड रुपैयाँका मालिक नारायण पौडेललाई सजाय र जरिवाना ?
काठमाडौँ । विभिन्न देशका मुद्रा गरी २५ करोड रुपैयाँ बोकेको कन्टेनरका मालिक नारायाण पौडेललाई तीन वर्षको जेल सजाया र ७५ करोड रुपैयाँ जरिवाना हुने भएको छ । लुकाइ छिपाइ लाँदै गरेको २५ करोड लोड गरिएको टोखामा समातिएको कन्टेनर(ट्रक)को अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरिएको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागले टोखामा समातिएको उक्त ट्रकबाट बरामद गरिएको २५ करोडका मालिक पौडेललाई ठहर गरी जिल्ला अदालत काठमाडौँमा मंगलबार दायर ग¥यो ।
गत वर्ष चैत ४ गते काठमाडौँ जिल्लाको टोखा नगरपालिका वडान २स्थित झोर सडकबाट ना ७ ख १६५२ नम्बरको ट्रक नियन्त्रणमा लिइएको थियो ।टोखादेखि झोरतर्फ गइरहेको उक्त ट्रक नियन्त्रणमा लिइरहेका बेला उक्त मुद्दामा प्रतिवादी बनाइएका कुन्साङ लामाले चलाइरहेका थिए । ट्रक नियन्त्रणमा लिइएर खानतलाशी गरियो । खानतलाशी गर्दा चालक बस्ने स्थानदेखि माथिको क्याबिनमा फल्स बटम बनाइएको पाइयो । फल्स बटम बनाइ लुकाइ राखेको युरोपियन युनियनको मुद्रा युरोका विभिन्न दरका नोटहरू बरामद भए । युरोका नोटहरू ५सय, २सय, १सय र ५० दरका थिए । यी विभिन्न दरका नोट गरी कुल १३ लाख ७५ हजार १ सय ५० बराबरका थिए । त्यसमै अमेरिकी डलरका १सय र ५० दरका नोटहरू थिए । बरामद गरिएका अमेरिकी डलरका नोटहरू कुल ३ लाख बीस हजार आठ सय पचास बराबर रहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
सरकारद्वारा आन्दोलनरत शिक्षकलाई कक्षाकोठामा फर्कन अनुरोध
काठमाडौँ ।सरकारले आन्दोलनरत शिक्षकहरुलाई आआफ्नो कार्यथलोमा फर्किन अनुुरोध गरेको छ ।
मन्त्रिपरिषद्को मङ्गलबारको बैठकले हाल विद्यार्थी भर्नाको समय, एसइईको उत्तरपुुस्तिका परीक्षण एवं कक्षा १२ को राष्ट्रिय परीक्षासमेत भइरहेकाले विरोधप्रदर्शनका कार्यक्रम स्थगन गरी कार्यथलोमा फर्कन आग्रह गरेको हो ।
शिक्षा तथा विज्ञान प्रविधिमन्त्री विद्या भट्टराईले नेपाल शिक्षक महासङ्घको आह्वानमा भइरहेको प्रदर्शनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारले सङ्घीय संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशक्य चाँडो पारित गर्ने प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्ने निर्णय गरेको बताउनुभयो ।
सुनको भाउले तोड्यो नयाँ रेकर्ड , प्रतितोला १ लाख ८७ हजार रुपैयाँ
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले बढेर ऐतिहासिक रुपमा १ लाख ८७ हजार रुपैयाँ पुगेको छ। यसअघि चैत ३१ गते आइतबार पनि सुनको मूल्य १ हजार रुपैयाँले वृद्धि भई यति नै मूल्यमा पुगेको थियो। तर, मंगलबार भने सुनको मूल्य १,७०० रुपैयाँले घटेर १ लाख ८४ हजार ३०० रुपैयाँमा झरेको थियो। बजारमा सुनको मूल्यमा यति छिटो घटबढ हुनुले व्यवसायी तथा उपभोक्ता दुवैको ध्यान तानेको छ।
कोशी प्रदेशलगायत पहाडी भू–भागमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना
काठमाडौँ। हाल देशमा स्थानीय वायुको प्रभाव रहेको तथा पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थान तथा अन्य प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको पनि सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहनेछ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij