
काठमाडौं । आईपीओ निष्कासनको तयारीमा रहेको सानिमा लिमिटेडले सन् २०२४ मा ८ करोड १० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ६३६.३६ प्रतिशतले बढी हो। सन् २०२३ मा कम्पनीको आम्दानी १ करोड १० लाख रुपैयाँमा सीमित थियो भने सन् २०२२ मा भने ११ करोड ६० लाख रुपैयाँ आम्दानी भएको देखिन्छ। उक्त विवरण केयर रेटिङ नेपाल लिमिटेडले सार्वजनिक गरेको हो।
सानिमाको लगानी अधिकांश सूचीकृत नभएका सेयरहरूमा केन्द्रित रहेकाले तरलताको अभाव हुने जोखिम रहेको केयर रेटिङ नेपालले जनाएको छ। यद्यपि, केही कम्पनीहरू अहिले आइपीओ प्रक्रियामा रहेकाले भविष्यमा तरलताको अवस्था सहज हुन सक्ने देखिन्छ। तर, प्रमोटर सेयरहरूमाथिको लक(इन अवधिका कारण ती सेयरहरू तुरुन्त बजारमा बिक्री गर्न सम्भव नहुने अवस्था छ।
२०८०/८१ को अन्त्यसम्म कम्पनीले १२ करोड रुपैयाँ बैंक मौज्दात राख्न सफल भएको छ, जुन यसको तरलता अवस्था बलियो भएको संकेत हो। यो तथ्यले कम्पनीलाई अल्पकालीन वित्तीय दायित्वहरू पूरा गर्न सहज बनाउनेछ।
केयर रेटिङ नेपालले सानिमा लिमिटेडलाई क्रेडिट रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता मध्यम स्तरको रहेको जनाउँछ। यो रेटिङले मध्यम क्रेडिट जोखिम देखाउँछ।
कम्पनीको प्रमुख बलिया पक्षहरूमा अनुभवी व्यवस्थापन टोली, सानिमा समूहसँगको सम्बन्ध, र कम्पनीको ऋणमुक्त अवस्था रहेका छन्। सानिमाले हाइड्रोपावर, इन्सुरेन्स, स्वास्थ्य, शिक्षा, होटल र सञ्चार क्षेत्रमा लगानी गरिरहेको छ। यीमध्ये धेरै कम्पनीहरू वित्तीय रूपमा सन्तोषजनक अवस्थामा छन्।कम्पनीको आम्दानी स्रोत मुख्यतः सेयर बिक्रीबाट प्राप्त हुने पुँजी लाभमा निर्भर रहेको र व्यवसायको आकार मध्यम रहेको कारण आम्दानीमा उतारचढाव देखिने गरेको छ। आगामी दिनमा लगानीबाट नियमित लाभ प्राप्त गर्ने क्षमताले नै सानिमाको रेटिङमा सुधार या गिरावट ल्याउन सक्ने केयर रेटिङ नेपालको निष्कर्ष छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij