
काठमाडौं ।संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा दर्ता नगरेका सामाजिक सञ्जालहरू, विशेष गरी फेसबुक, मेसेन्जर, इन्स्टाग्राम, टिकटक लगायतका प्लेटफर्महरूमा प्रतिबन्ध लाग्न सक्ने संकेत दिएका छन्।
शुक्रवार काठमाडौंमा सञ्चारिका समूहद्वारा आयोजित कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन भइरहेका यस्ता सामाजिक सञ्जालहरू निर्धारित समयसीमामा दर्ता नभएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे। उनका अनुसार संविधान, ऐन र कानूनले तोकेको म्याद सकिनै लाग्दा समेत ती कम्पनीहरूले दर्ता नगरेको र त्यसप्रति राज्य गम्भीर बन्नुपर्ने अवस्था आएको बताए।
“मेटा, गुगल, टिकटक—जुनसुकै होस्—नेपालमा सञ्चालन हुन्छ भने नेपालको संविधान मान्नुपर्छ, दर्ता हुनुपर्छ,” मन्त्री गुरुङले जोड दिँदै भने, “दर्ता नगरी निरन्तर रूपमा भ्रामक सूचना, हिंसा प्रवर्द्धन, समाजमा विखण्डन ल्याउने खालका सामग्री प्रवाह भइरहेको छ। यस्तो कार्यले देशको स्वाधिनता, सामाजिक सद्भाव र एकतालाई खतरा पुर्याउँछ।”
उनले सरकारद्वारा ल्याइएको मिडिया काउन्सिल विधेयकसमेत यिनै कम्पनीहरूले दर्ता नगरेकै कारण रोकिएको खुलासा गरे।
मन्त्री गुरुङका भनाइमा, तीन महिनाअघि नै दर्ताका लागि सूचना जारी गरिएको थियो भने हाल एक महिनाको सूचना सकिन केही दिन मात्र बाँकी छ। ूतर, मेटाजस्ता कम्पनीहरूले अहिलेसम्म कुनै पहल गरेका छैनन्,ू उनले बताए।
“यदि नेपाललाई टेर्दैन, सरकारलाई सम्मान गर्दैन भने प्रतिबन्ध अनिवार्य हुन्छ। यो प्रेस स्वतन्त्रता खोस्ने प्रयास होइन, नियमन गर्ने कुरा हो,” उनले स्पष्ट पारे।
उनले फेक आइडी, गलत सूचना तथा सामाजिक सद्भाव विथोल्ने कन्टेन्टहरू फैलाउने कार्यप्रति पनि कडा आपत्ति जनाए
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij