
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ८ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
लुम्बिनी विकास बैंकको नाफा ८५ प्रतिशतले घट्यो, खराब कर्जा दर दोब्बर
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा केवल ४ करोड ९७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ८५.४५ प्रतिशतले घटेको हो। गत वर्ष सोही अवधिमा बैंकले ३४ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यद्यपि खुद ब्याज आम्दानीमा ५.८३ प्रतिशतको सुधार देखिँदै १ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ, तर सञ्चालन नाफा भने भारी गिरावटसहित ८४.५९ प्रतिशतले घटेर १० करोड ८ लाख रुपैयाँमा सीमित भएको छ। बैंकको वितरणयोग्य नाफा मात्र ४ लाख ८० हजार रुपैयाँ रहेको छ, जुन लगानीकर्ताहरूका लागि निराशाजनक संकेत हो।
नेप्सेमा एनएमबि हाइब्रिड फन्ड एल-२ सूचीकृत, सोमबारदेखि दोस्रो बजारमा कारोबार सुरु
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० मा एनएमबि हाइब्रिड फन्ड एल-२ को इकाई आइतबार औपचारिक रूपमा सूचीकृत भएको छ। एनएमबि क्यापिटलको व्यवस्थापनमा सञ्चालित यस बन्दमुखी म्युचुअल फन्ड योजनाअन्तर्गत कुल १३ करोड ६४ लाख ८४ हजार इकाई सूचीकृत गरिएको हो।
१० वर्षे अवधिको यो योजना सोमबारदेखि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ। लगानीकर्ताहरूले अब नेप्से मार्फत उक्त फन्डको इकाई किनबेच गर्न सक्नेछन्।
सरकारद्वारा निषेधित सबै प्रकारका बँधुवा श्रममा आधारित समस्या सम्बोधनका लागि प्रतिबद्ध छौँः उपप्रधानमन्त्री पौडेल
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सबै प्रकारका बँधुवा श्रममा आधारित प्रथा र प्रचलन निषेध गरिसकिएकाले त्यससँग जोडिएका समस्या समाधान गर्न सरकारले प्रतिबद्ध रहेको बताउनुभएको छ ।
आज सिंहदरबारस्थित अर्थ मन्त्रालयमा राष्ट्रिय कृषि बँधुवा मजदुर सङ्घर्ष समितिका प्रतिनिधिहरूसँग भएको छलफलमा उहाँले यस्तो बताउनुभएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले मुक्तिको घोषणा गरिए पनि कतिपय समुदायको पुनःस्थापनासँग सम्बन्धित काम सम्पन्न नभएको गुनासा आइरहेकाले सरकारले समस्या समाधानका लागि योजना बनाइरहेको बताउनुभयो । “सरकारले बँधुवा श्रममा आधारित सबै प्रकारका प्रथा अन्त्य गरिसकिएको छ ।
एभरेष्ट बैंकको नाफा ३४% बढ्यो, वितरणयोग्य नाफा ३ अर्ब ६७ करोड नाघ्यो
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको ९ महिनासम्म ३ अर्ब ४५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३२.५ प्रतिशतले बढी हो। गत वर्ष बैंकले २ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको थियो। यस वर्ष कम्पनीको वितरणयोग्य नाफा पनि ३४ प्रतिशतले वृद्धि भई ३ अर्ब ६७ करोड रुपैयाँ भन्दा बढी पुगेको छ, जुन गत वर्ष २ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।
बैंकको चुक्ता पुँजी १२ अर्ब ९४ करोड ४६ लाख ९४ हजार रुपैयाँ रहेको छ भने जगेडा कोष १ अर्ब ३६ करोड रुपैयाँ भन्दा बढी रहेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म २ खर्ब ६६ अर्ब रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ भने २ खर्ब १६ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ। यस अवधिमा बैंकको निष्क्रिय कर्जा शून्य दशमलव ७० प्रतिशतबाट घटेर शून्य दशमलव ६४ प्रतिशतमा पुगेको छ, जसले बैंकको जोखिम व्यवस्थापनमा सुधार दर्शाउँछ।
राप्रपाका अध्यक्षसहित तीन जना पक्राउ
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, नेता बुद्धिमान तामाङ र प्रमुख सचेतक ज्ञानबहादुर शाही पक्राउ पर्नुभएको छ ।
उहाँहरु निषेधित क्षेत्रमा प्रदर्शनका गर्ने क्रममा पक्राउ पर्नुभएको नेपाल प्रहरीका प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो । राप्रपाले निषेधित क्षेत्र तोकिएको माइतीघर बिजुलीबजारमा प्रदर्शन गरेको थियो ।
कामना सेवा विकास बैंकको त्रैमासिक नाफा बढ्यो, वितरणयोग्य नाफा ५० करोड नजिक
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ४९ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४८.८३ प्रतिशतले बढी हो। गत वर्ष बैंकले ३३ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो। यस वर्षको सुधारको मुख्य कारण बैंकको ब्याज आम्दानीको वृद्धि र इम्पेयरमेन्ट चार्जको घटौती हो।
बैंकको इम्पेयरमेन्ट चार्ज ३४ करोड ६५ लाख रुपैयाँबाट घटेर ३१ करोड ७१ लाख रुपैयाँमा झरेको छ, जसले नाफामा सकारात्मक प्रभाव पारेको छ। त्यस्तै, खुद ब्याज आम्दानी १ अर्ब ४५ करोड रुपैयाँबाट बढेर १ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। बैंकको सञ्चालन नाफा पनि ३२।४४ प्रतिशतले वृद्धि भई ७१ करोड ६१ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्ष ५४ करोड रुपैयाँ रहेको थियो।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा ८.८४% गिरावट, ब्याज आम्दानीमा उल्लेख्य कमी
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले ९० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८.८४ प्रतिशतले घटेको हो, जसमा बैंकले ९८ करोड ७३ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकको नाफा घट्नुको मुख्य कारण खुद ब्याज आम्दानीमा देखिएको गिरावट हो। चालु वर्षको चैत मसान्तसम्म निफ्राको खुद ब्याज आम्दानी २४.१२ प्रतिशतले घटेर १ अर्ब ४८ करोड रुपैयाँमा सीमित भएको छ।
बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी ५३ पैसाले घटेर ६ रुपैयाँ ९ पैसा कायम भएको छ। यस्तै, प्रतिसेयर नेटवर्थ भने ११७ रुपैयाँ ८१ पैसामा रहेको छ, जसले बैंकको पुँजीगत आधारलाई भने अझै सबल देखाउँछ। ब्याज आम्दानी घटे पनि निफ्राले स्थायीतासहितको सञ्चालन कायम राख्न सफल देखिएको छ।
शेयर बजार : नेप्से परिसूचकमा १६.६८ अंकले बढेर २७०६.०४ बिन्दुमा, ८ अर्ब ४० करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा १६.६८ अंकले बढेर २७०६.०४ बिन्दुमा आएको छ । आज ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । १३ मध्ये जम्मा ३ वटा समूहको सूचकमात्र बढेको छ ।
यस दिन ३ सय २८ कम्पनीको २ करोड १३ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६८ करोड ७६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बलेफी हाइड्रोपावर परेका छन् ।
नबिल बैंकको नाफा ५ अर्ब नाघ्यो, वितरणयोग्य नाफामा ८५% भन्दा बढी वृद्धि
काठमाडौं । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढेको हो। यद्यपि बैंकको खुद ब्याज आम्दानी भने ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँमा झरेको छ। ब्याज आम्दानीमा गिरावट आए पनि इम्पेयरमेन्ट चार्जमा उल्लेखनीय कमी आएकोले नाफामा सुधार देखिएको हो।
बैंकको वितरणयोग्य नाफा ८५.७८ प्रतिशतले बढेर २ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ, जसले लाभांश वितरण क्षमतामा ठोस वृद्धि देखाउँछ। यता, बैंकको खराब कर्जामा केही वृद्धि भएको छ, जुन जोखिम सूचकको हिसाबले निगरानी योग्य पक्ष हो।
मुक्तिनाथ विकास बैंकको नाफामा १६.८६% गिरावट, तर ब्याज आम्दानीमा सुधार
काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा ७२ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिमा कमाएको ८७ करोड १८ लाख रुपैयाँ नाफाको तुलनामा १६.८६ प्रतिशतले कम हो।
बैंकको खुद ब्याज आम्दानी ४.९७ प्रतिशतले वृद्धि भएर ३ अर्ब २८ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्ष ३ अर्ब १३ करोड रुपैयाँ थियो।
तर सञ्चालन नाफा भने १८ प्रतिशतले घटेर १ अर्ब ३ करोड रुपैयाँमा झरेको छ, जुन गत वर्ष १ अर्ब २६ करोड रुपैयाँ थियो।यसको वितरणयोग्य नाफा ६१ करोड ९५ लाख रहेको छ । हाल यसको चुक्ता पुँजी ७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ३ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ जम्मा रहेको छ ।
७% ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकको रु २ अर्ब ५० करोड ऋणपत्र सार्वजनिक निष्काशनमा
काठमाडौँ।राष्ट्रिय वाणिज्य बैंकले आजदेखि रु दुई अर्ब ५० करोड बराबरको ऋणपत्र बिक्री गर्ने भएको छ । कूल २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।
कूल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर व्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य रु एक हजार दरको ऋणपत्रमा लगानीकर्ताले कूल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् । धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको सो ऋणपत्र छिटोमा यही वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म रहनेछ ।
रु दुई अर्ब ५० करोड बराबरको कूल निष्काशन मध्ये ६० प्रतिशतले हुन आउने एक अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ ।
अरुले आएर देश बनाइदिन्न, हामी सबै मिलेर विकास गर्नुपर्छ - केपी शर्मा ओली
काठमाडौँ । गोन्द्राङ–पुुल्चोक खण्ड एसियाली मापदण्डको सडकको कार्यसम्पन्न भएर उद्घाटन भएको छ । कार्यसम्पन्न हुनुु खुसीको कुरा हो । कार्यसम्पन्न भएर यो उद्घाटित भएको छ । यस अवसरमा यो कार्यमा सहयोग र सहयोगी हात अगाडि बढाउने सबैलाई धन्यवाद भन्न चाहन्छुु । यसमा योगदान गर्ने झन योगदानका पात्र हुँदै हुनुहुन्छ ।
वास्तवमा यो पूर्व–पश्चिम राजमार्गलाई एसियाली स्ट्याण्डरमा विकास गर्नु थियो र यसलाई यसै ठाउँबाट मैले सुरु गर्न किन चाहे भने बुुटवल–भैरहवा पनि यहाँबाट नजिकै पर्छ, हेटौँडा–वीरगञ्ज पनि नजिकै पर्छ, काठमाडौँ जाँदा सेन्टर नै पर्छ, पोखरा जाँदा सेन्टर पर्छ । यो सबै ठाउँको सेन्टर छ । विकासको हिसाबले, पर्यटकीय हिसाबले, शिक्षा, स्वास्थ्यका हिसाबले र अनेक हिसाबले यो केन्द्रको रुपमा छ । यसलाई तदअनुसार नै भरतपुरलाई विकास गर्नुपर्छ, चितवनलाई विकास गर्नुपर्छ भन्ने मेरो धारणा हो । त्यसअन्तर्गत नै यस ठाउँबाट सुरु गर्नुपर्छ भनेर नै सडक विकासको काम एसियाली मापदण्डमा निर्माणको काम यहीँबाट थालिएको थियो ।
चीनको विद्युत उत्पादन क्षमता १४.६ प्रतिशतले बढ्यो
बेइजिङ । चीनको कुल विद्युत उत्पादन क्षमता चालु वर्षको सन् २०२५ मार्चको अन्त्यसम्ममा अन्त्यसम्म तीन अर्ब ४३ करोड किलोवाट पुगेको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १४.६ प्रतिशतले बढी हो।
राष्ट्रिय ऊर्जा प्रशासनका अनुसार सौर्य ऊर्जाबाट उत्पादन हुने क्षमता ९५ करोड किलोवाट पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा ४३.४ प्रतिशतले वृद्धि भएको हो।
त्यस्तै, हावाबाट उत्पादन हुने विद्युतको क्षमता ५४ करोड किलोवाट पुगेको छ, जसमा १७.२ प्रतिशतले वृद्धि देखिएको छ।
संविधान संशोधनका लागि उपयुक्त समय भइसकेको छ : अध्यक्ष दाहाल
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको संशोधन गर्ने उपयुक्त समय भइससेको बताउनुभएको छ ।
पूर्वेली जनसञ्चार सहकारी संस्था लिमिटेडद्वारा प्रकाशित ‘हाम्रो मत राष्ट्रिय दैनिक पत्रिका’को २२औँ वार्षिकोत्सव समारोहको आज यहाँ उद्घाटन गर्दै अध्यक्ष दाहालले संविधानको परिमार्जन र संशोधनका निम्ति गम्भीर छलफलको आवश्यकता रहेको उल्लेख गर्दै सरकारले संविधान संशोधनका लागि आवश्यक छलफल गर्नुपर्छ भन्नुुभयो ।
अध्यक्ष दाहालले शासकीय स्वरुप नै अहिलेको अस्थिरताको कारक भएको चर्चा गर्दै अहिलेको व्यवस्थासँग मिल्दो शासकीय स्वरुप र निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिनुभयो । उहाँले राजनीतिक प्रणाली र आर्थिक विकासको एकापसमा गहिरो सम्बन्ध रहने भएकाले आर्थिक नीतिबारे छलफल हुनुपर्ने जिकिर गर्दै प्रचुर प्राकृतिक सम्पदा हुँदाहुँदै आर्थिक क्षेत्र बलियो हुन नसक्नु चिन्ताको विषय हो भन्नुुभयो ।
राप्रपा अध्यक्ष लिङ्देनसहित पक्राउ परेका सबै नेता रिहा
काठमाडौं । निषेधित क्षेत्र तोड्दै प्रदर्शनमा उत्रिएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनसहित पक्राउ परेका सबै नेताहरूलाई प्रहरीले रिहा गरेको छ। आइतबार सिंहदरबार क्षेत्रभित्र प्रदर्शन गरेपछि पक्राउ परिएका लिङ्देन, बुद्धिमान तामाङ, ज्ञानेन्द्र शाही, सरोज घिमिरे, अमर परियार, किरण दुवाल र कैलाश कटवाललाई जिल्ला प्रहरी परिसर भद्रकालीमा राखिएको थियो।
रिहाको जानकारी राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले दिएका हुन्।
नेपालमै पहिलो पटक क्रस बैंक टेलर क्यू.आरको भुक्तानी सेवाको घोषणा गर्दै सिटिजन्स बैंकको १८औं वार्षिकोत्सव सम्पन्न
काठमाडौँ । २०६४ साल बैशाख ७ गते २० औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रुपमा ग्राहकहरुमाझ उत्कृष्ट सेवा पुर्याँउदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज मिति २०८२ बैशाख ७ गते १८ वर्ष पूरा गरि १९ बर्षमा प्रवेश गरेको अवसरमा आफ्नो १८ औं बार्षिकोत्सव मनाएको छ । यस १८ वर्षको अवधि पार गरिसक्दा बैंकले १८ लाख ७९ हजार गा्रहक महानुभावहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा अवस्थित आफ्नै भवनमा प्रदेश कार्यालय संचालनका साथै २०० वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिव रु २ खर्व ०२ अर्व रहेकोमा कर्जा तर्फ रु १ खर्व ७३ अर्व परिचालन गरेको छ ।
दिगो विकासको लक्ष्य पूरा गर्न २सय ११ खर्ब ६५ अर्ब रुपैया आवश्यक हुने आकलन
काठमाडौँ । दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २ सय ११ खर्ब ६५ अबै रुपैयाँको आवश्यकता हुने अनुमान गरिएको छ । आगामी ६ वर्षभित्र मुलुकले दिगो विकास लक्ष्य कार्यान्वयन गर्न २ सय ११ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको हो ।दिगो विकास लक्ष्य कार्यान्वयन गर्न सन् २०२४ देखि २०३० सम्मका लागि वार्षिक औसत ३० खर्ब २३ अर्ब रुपैयाँ बराबर लगानी गर्नुपर्ने एक तथ्यांक सार्वजनिक गरिएको हो ।राष्ट्रिय योजना आयोग उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीद्वारा आइतबार सार्वजनिक गरिएको ‘दिगो विकास लक्ष्य ः आवश्यकता पहिचान, लागत अनुमान तथा वित्तीय रणनीति २०८१’ अद्यावधिक प्रतिवेदनमा यस्तो जनाइएको छ ।
कमाइको केही प्रतिशत नेपालमा लगानी गर्नुस्, प्रतिफल दिने वातावरण हामी बनाउछौँ, अध्यक्ष ढकाल
काठमाडौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको अपार सम्भावना रहेको बताउँदै आफ्नो आम्दानीको केही अंश नेपालमा लगानीका लागि वैदेशिक रोजगारीमा रहेका नेपाली तथा गैर आवासीय नेपालीहरुलाई आग्रह गर्नुभएको छ ।
नेपाली जनसम्पर्क समिति युएईद्वारा नयाँ वर्ष २०८२ को अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको र धेरै क्षेत्रहरु एक्सप्लोर गर्न बाँकी रहेको हुँदा ती क्षेत्रमा लगानी गरी राम्रो प्रतिफल लिन सकिने बताउनुभएको छ ।
“मलाई के लाग्छ भने नेपालमा धेरै सम्भावना छ । धेरै क्षेत्रहरु एक्सप्लोर गर्न बाँकी छन् । तर, नेपालमा सम्भावना छैन भन्ने र हरेक कुरा नकारात्मकरुपमा लिने गरिएको पाइन्छ । अझ, विदेशमा बस्ने नेपालीहरुलाई विदेशको विकास र प्रविधिहरु देखेर नेपालसँग तुलना गर्ने र विरोध गर्ने गरेको पनि पाइन्छ । म यहाँहरुलाई भन्न चाहन्छु । यदि साच्चिकै विदेशमा गरेको जस्तै लगानी र मिहिनेत नेपालमै गर्ने हो भने नेपालमा धेरै सम्भावना छन्,” उहाँले भन्नुभयो ।
चालु आवको ९ महिनामा चामलको आयात दोब्बर, पौने ९ करोड बढी केजी चामल आयात
काठमाडौँ । चालु आवको ९ महिनामा चामलको आयात दोब्बर भएको छ ।चालु आवको ९ महिनामा ब्राउन राइस,बासमती राइस, अन्य चालम र ब्रोकन राइस गरी कुल १७ करोड ७५ लाख ८६ हजार ७सय ११ केजी चामल आयत भएको छ । गत आवको सोही अवधिमा उक्त चामलहरू गरी कुल ८ करोड ८७ लाख ३५ हजार ७ सय ४८ केजी चामल आयात भएको थियो ।
चालु आवमा बासमती चामल ५ करोड २१ लख ९१ हजार ७७ केजी चामल आयात भयो । अन्य वर्गीकरणमा परेको चामलको आयात १२ करोड १२ लाख ८५ हजार ७ सय ४० केजी भएको छ । ब्रोकन राइसको वर्गीकरणमा ४१ लख६ हजार ३ सय ५२ केजी र ब्राउन राइसको वर्गीकरणमा ३ हजार ५ सय ४२ केजी आयात भएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
खानेपानीमन्त्री यादवद्वारा धौलिगाड खानेपानी आयोजनाको अनुगमन
जुम्ला । खानेपानीमन्त्री प्रदीप यादवले जिल्लामा निर्माणधीन खानेपानी आयोजनाको अनुगमन गर्नुभएको छ । शनिबार जुम्ला पुग्नुभएका उहाँले तातोपानी गाउँपालिका–१ मा निर्माणाधीन धौलिगाड खानेपानी आयोजनाको अवलोकन गर्नुभएको हो ।
आयोजना अनुगमनपछि सञ्चारकर्मीसँगको छलफलमा मन्त्री यादवले कर्णाली प्रदेशका दुर्गम जिल्लासहित जुम्लाका स्थानीयले वर्षौँदेखि भोग्दै आएका खानेपानीसहित विविध समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “यहाँका विद्यमान समस्याका बारेमा प्रत्यक्ष जानकारी लिने अवसर पाएँ । ती समस्या समाधान गर्न योजनाबद्ध रूपमा काम गर्दै जानेछौँ”, उहाँले भन्नुभयो ।
आयात १२ र निर्यात ६५ प्रतिशत बढीले वृद्धि ,आयात १३ खर्ब ९ अर्ब र निर्यात १ खर्ब ८८ अर्ब बढी
काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिनामा आयात १२ र निर्यात ६५ प्रतिशत बढीले वृद्धि भएको छ। सोही अवधिमा आयात १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख ३८ हजार भएको छ । यो गत आवको सोही अवधिको तुलनामा १२.१८ प्रतिशतले वृद्धि भएको हो । गत आवमा यो ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार रहेको थियो ।
यसैगरी गत आवमा निर्यात १ खर्ब १३ अर्ब९४ करोड ६० लाख ७ हजार रहेकोमा चालु आवको चैत महिनासम्म १ खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रहेको भन्सार विभागले जनाउँदै प्रतिवेदन सार्वजनिक गरेको छ ।यसैगरी सोही अवधिमा व्यापार घाटा ६.४५ प्रतिशतले बढेको छ ।गत आवमा व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख १ हजार रहेकोमा चालु आवमा यो बढेर ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख ६८ हजार रहेको जनाइएको छ ।
डुम्रे–बेँसीसहर सडकखण्डमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुईको मृत्यु, १४ घाइते
‘पूर्वराष्ट्रपति, उपराष्ट्रपतिलाई पुनःराजनीतिमा फर्कन बन्देज छैन’
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल९प्रचण्ड०ले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन कुनै बन्देज नभएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले पूर्वराष्ट्रपति एवं उपराष्ट्रपतिलाई राजनीतिमा पुनः फर्कन संवैधानिक कानुन र अन्तरराष्ट्रिय परम्पराले पनि नरोक्ने बताउनुभयो ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र आफूबीच भएको बैठक शान्ति प्रक्रिया टुङ्ग्याउने विषयमा केन्द्रित भएको जानकारी दिनुभयो ।
पुटिनको इस्टर युद्धविरामका बाबजुद रुसी आक्रमणहरू जारी : जेलेन्स्की
क्रामाटोर्स्क ।युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले आइतबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आश्चर्यजनक तर छोटो इस्टर युद्धविरामको घोषणा गर्नुभए पनि रुसी सेनाले फ्रन्ट लाइनमा आफ्नो गोलाबारी र आक्रमणहरू जारी राखेको बताउनुभएको छ ।
तीस घण्टाको युद्धविराम तीन वर्षको द्वन्द्वमा लडाइँको सबैभन्दा महत्त्वपूर्ण विराम हुनेछ ।
तर आदेश लागु भएको केही घण्टापछि किएभ र अन्य धेरै युक्रेनी क्षेत्रमा हवाई–आक्रमण साइरन बजेका थिए । जेलेन्स्कीले रुसमाथि आफ्नो आक्रमणहरू कायम राखेको आरोप लगाउनुभयो ।
अमेरिकी सहरहरूमा ट्रम्प विरोधी प्रदर्शनको अर्को चरण
न्युयोर्क ।हजारौँ प्रदर्शनकारीले शनिबार न्यूयोर्क, वासिङ्टन र संयुक्त राज्य अमेरिकाका अन्य सहरमा डोनाल्ड ट्रम्प र उहाँको कडा नीतिहरू विरुद्ध प्रदर्शनको दोस्रो प्रमुख चरण आयोजना गरेका छन् ।
न्युयोर्कमा ‘अमेरिकामा कुनै राजा छैनन्’ र ‘अत्याचारको प्रतिरोध गर्नुहोस्’ जस्ता नारासहित अमेरिकी राष्ट्रपतिलाई लक्षित गर्ने सङ्केतहरू बोकेका मानिसहरू सहरको मुख्य पुस्तकालय बाहिर भेला भएका थिए ।
कमजोर बैंक तथा वित्तीय संस्थाको सूक्ष्म निगरानी गर्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय सूचक कमजोर भएका विकास बैंक र फाइनान्स कम्पनीहरुमाथि निगरानी बढाएको छ ।उनीहरूका सूचकहरू सूक्ष्म निगरानी अन्तर्गत राष्ट्र बैंकले खराब कर्जा उच्च र पुँजीकोष अनुपात सीमाभन्दा तल आएका बैंक तथा वित्तीय संस्थाहरुको सूचकहरूको निगरागनी थालेको हो।
समस्याग्रस्त घोषणा भएका तीन संस्थाका अलावा राष्ट्र बैंकले थप दुईवटा विकास बैंक र दुईवटा फाइनान्स कम्पनीको सूचकलाई नजिकबाट निगरानी गरिरहेको सम्बद्ध स्रोतको भनाइ छ । पुँजीकोषको सीमा कायम गर्न नसकेका सिन्धु विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, पोखरा फाइनान्स र जानकी फाइनान्स अहिले राष्ट्र बैंकको शीघ्र सुधारात्मक कारबाही (पीसीए)मा परेका छन्। यसैगरी कर्णाली डेभलपमेन्ट बैंक तथा नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स र क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स यसअघि नै समस्याग्रस्त घोषणा भएका छन्।
आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती
काठमाडौँ ।नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ ।
विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिनुभयो ।
आज सुनको मूल्य स्थिर, प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कायम
काठमाडौँ।नेपाली बजारमा शुक्रबारको तुलनामा आज सुनको मूल्य स्थिर छ । शुक्रबार जस्तै आज पनि सुन प्रतितोला एक लाख ९० हजार ८०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै, चाँदी रू एक हजार ९६० कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस तीन हजार ३१५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।
वाणिज्य बैंकहरूको नाफा ९ महिनामा सवा ४१ अर्ब बढी
काठमाडौँ । चालु आर्थिक वर्ष (आव)२०८१÷८२को ९ महिनामा वाणिज्य बैंकहरूको नाफा बढेर सवा ४१ अर्ब बढी भएको छ । चालु आवको तेस्रो त्रैमासिकसम्म वाणिज्य बैंकहरुले ४१ अर्ब २५ करोड ११ लाख रुपैयाँ भन्दा बढी नाफा कमाएका हुन् ।सञ्चालनमा २० वटा वाणिज्य बैंकहरू रहेका छन् । चालु आर्थिक वर्षको ९ महिनामा कमाएको नाफा गत आवको सोही अवधिको तुलनामा १.४० प्रतिशतले बढी हो । गत आवको सोही अवधिसम्म वाणिज्य बैंकहरुको नाफा ४० अर्ब ६८ करोड ३० लाख रुपैयाँ थियो ।
११ वटा बैंकको नाफा बढेको छ भने ९ वटाको घटेको छ । सो अवधिमा सबै भन्दा बढी नाफा कमाउने बैंकमा नबिल रहेको छ । यसको नाफा ५ अर्बभन्दा बढी छ । यो बैंकको नाफा ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ रहेको छ । यो गत आवको सोही अवधिको तुलनामा ८.२१ प्रतिशतले बढी हो । ५ अर्ब नाफा कमाउने नबिल एक्लो बैंक हो ।
एनआइसी एसिया बैंकको नाफा ९१.८१% घट्यो, ब्याज आम्दानी र खराब कर्जा प्रभावित
काठमाडौँ। एनआइसी एसिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९१.८१ प्रतिशत नाफा घटेर रु १५ करोड ६७ लाख ७५ हजारसम्म सीमित भएको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले रु १ अर्ब ९१ करोड ४८ लाख ९१ हजार नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी २.७६ प्रतिशतले घटेर रु ७ अर्ब ९६ करोड २५ लाख १९ हजार पुगेको छ, जबकि सञ्चालन नाफा ६४.४० प्रतिशतले घटेर रु १ अर्ब २९ करोड ५ लाख ९ हजारमा झरेको छ। खराब कर्जामा पनि ०.१६ प्रतिशत वृद्धि भएको छ, जसका कारण नाफामा दबाब परेको देखिन्छ।
प्राइम कमर्सियल बैंकको नाफामा २२% गिरावट, इम्पेयरमेन्ट चार्जमा वृद्धि
काठमाडौँ। प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रु २ अर्ब २२ करोड ९३ लाख खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यसै अवधिको तुलनामा २२.५६ प्रतिशतले कम हो। अघिल्लो वर्ष सोही अवधिमा बैंकले रु २ अर्ब ८७ करोड नाफा कमाएको थियो।
बैंकको इम्पेयरमेन्ट चार्ज रु ८९ करोड ५० लाखबाट बढेर रु २ अर्ब ३३ करोड १५ लाख पुगेको छ, जसले नाफामा दबाब परेको छ। यद्यपि, ब्याज आम्दानी ५ अर्ब ७८ करोडबाट बढेर ६ अर्ब ६६ करोड पुगेको छ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०३ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७१ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८० रुपैयाँ ९६ पैसा र बिक्रीदर १८१ रुपैयाँ ७६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६७ रुपैयाँ ३१ पैसा कायम गरिएको जनाएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८१ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०४ रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij