Logo

Apr 22 2025 | २०८२, वैशाख १०गते

Apr 22 2025 | २०८२, वैशाख १०गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ८ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख ८ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ...

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख ८ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    ट्रेड टावर लिमिटेडको आईपीओमा पहिलो दिनमै ९४% भन्दा बढी आवेदन

    काठमाडौं । ट्रेड टावर लिमिटेडले सोमबारदेखि सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा पहिलो दिनमै उल्लेखनीय माग देखिएको छ। सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार पहिलो दिन १६ हजार ७५१ आवेदकबाट कुल ३ लाख ७४ हजार १४० कित्ताको आवेदन परेको छ, जुन कुल निष्काशनको ९४ प्रतिशतभन्दा बढी हो।

     

    कम्पनीले ८१ करोड ५६ लाख रुपैयाँ चुक्ता पुँजीको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर सार्वजनिक निष्कासनका लागि अनुमति प्राप्त गरेको हो। यसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ९७ हजार १६९ कित्ता शेयर छुट्याइएको छ। उक्त आईपीओ वैशाख २२ गतेसम्म आवेदन दिन सकिनेछ।

    मञ्जुश्री फाइनान्सको नाफा १३.३३% ले वृद्धि, तेस्रो त्रैमासमा १७ करोड ११ लाख रुपैयाँ कमाई

    काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा १७ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३।३३ प्रतिशतले बढी हो। अघिल्लो वर्षको तेस्रो त्रैमासमा कम्पनीले १५ करोड ९ लाख रुपैयाँ नाफा कमाएको थियो।

     

    कम्पनीको खुद ब्याज आम्दानी पनि १३.८५ प्रतिशतले वृद्धि भई ६२ करोड ११ लाख रुपैयाँ पुगेको छ, जबकि गत वर्ष यो ५४ करोड ५५ लाख रुपैयाँ थियो।

    पियोर इनर्जीको आइपीओ वैशाख ११ गते बाँडफाँट, गोलाप्रथाबाट सीमित आवेदकले मात्र पाउने

    काठमाडौं । पियोर इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) वैशाख ११ गते, बिहीबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार, बाँडफाँटको तयारी पूरा भइसकेको भए पनि सटीक समय भने तोकिएको छैन।

     

    यो आइपीओ अत्यधिक माग भई गोलाप्रथाबाट मात्र बाँडफाँट गरिनेछ। माग अनुमानित परिमाणभन्दा १९.२८ गुणा बढी परेको छ, जसअन्तर्गत १९ लाख ३६ हजार ५३ जनाले २ करोड २७ लाख ४२ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए। तर, भाग्यमानी १ लाख १९ हजार ५२० जनाले मात्र सेयर प्राप्त गर्नेछन्, भने बाँकी १८ लाखभन्दा बढी आवेदकले हात खाली पार्नेछ।

    एभरेष्ट बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबार खुला

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र सोमबार सूचीकृत भएको छ। ‘एभरेष्ट बैंक लिमिटेड डिबेन्चर २०९१’ नामक उक्त ऋणपत्रको कुल ३० लाख इकाईहरू सूचीकृत गरिएको हो। १० वर्षे अवधि भएको यस ऋणपत्रमा वार्षिक ७.५० प्रतिशत ब्याजदर तोकिएको छ। नेप्से अनुसार, आगामी मंगलबारदेखि यस ऋणपत्रको कारोबार औपचारिक रूपमा सुरु हुनेछ।

     

    मल्टीपर्पस फाइनान्सको नाफा ३५.८७% ले वृद्धि, तेस्रो त्रैमासमा २ करोड नाफा

    काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २ करोड १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३५.८७ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १ करोड ५९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

    नाफा वृद्धिको प्रमुख कारण खुद ब्याज आम्दानी र सञ्चालन नाफाको सुधार हो।

     

    खुद ब्याज आम्दानी ४.५२% ले वृद्धि भई ६ करोड ४८ लाख रुपैयाँ पुगेको छ ९गत वर्ष ६ करोड २० लाख०।

    सञ्चालन नाफा उल्लेखनीय रूपमा ५७.०७% ले वृद्धि भई ३ करोड २५ लाख रुपैयाँ पुगेको छ।

    यद्यपि कम्पनीको इम्पेयरमेन्ट चार्ज भने बढेको देखिन्छ, जसले केही दबाब सिर्जना गर्न सक्छ।

    ज्योति विकास बैंकको नाफामा १०१% वृद्धि, तेस्रो त्रैमासमा ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा

    काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म उल्लेखनीय वित्तीय प्रगति गरेको छ। बैंकले सो अवधिमा ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्दै अघिल्लो वर्षको तुलनामा १०१.१४ प्रतिशतले वृद्धि हासिल गरेको छ। अघिल्लो वर्ष यस्तै अवधिमा बैंकको नाफा १५ करोड २४ लाख रुपैयाँ थियो।

    बैंकको नाफा वृद्धिको प्रमुख कारणमध्ये एक सञ्चालन नाफाको तीव्र वृद्धि र इम्पेयरमेन्ट चार्जको कमी हो। इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्षको ८३ करोड रुपैयाँबाट घटेर हाल ५२ करोड १६ लाख रुपैयाँमा झरेको छ। सोहीगरी, बैंकको सञ्चालन नाफा ९८.३८ प्रतिशतले बढ्दै ४३ करोड ७९ लाख रुपैयाँमा पुगेको छ।

    शेयर बजार : नेप्से परिसूचकमा ४.०४ अंकले घटेर २७०१.९९ बिन्दुमा, ८ अर्ब ७७ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ४.०४ अंकले घटेर २७०१.९९ बिन्दुमा आएको छ । आज ८ अर्ब ७७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।३ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । आज ८ वटा समूहका सूचक बढेका छन् । यस दिन ३ सय १९ कम्पनीको २ करोड १२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ५३ करोड ९९ सय लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र एचआइडीसीएल कम्पनी परेका छन् ।

    प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्टको अवितरित हकप्रद सेयरको बोलपत्र वैशाख ९ गते खुल्ने

    काठमाडौं । प्रभु स्टील्स एण्ड हाईड्रो इन्भेष्टमेण्ट कम्पनी लिमिटेडले अवितरित हकप्रद सेयर खरीदका लागि प्राप्त बोलपत्र आगामी वैशाख ९ गते खोल्ने भएको छ।

    कम्पनीले चैत ६ गतेदेखि २० गतेसम्म शतप्रतिशत हकप्रद सेयर विक्री खुला गर्दा वितरण नभएका १३ लाख १७ हजार ३० कित्ता हकप्रद सेयर लिलामी प्रक्रियाबाट विक्री गर्न लागिएको हो।

     

    यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू. ६० तोकिएको छ। कम्पनीले उक्त सेयर चैत ६ गतेदेखि वैशाख ५ गतेसम्म विक्रीका लागि खुला गरेको थियो।

    अन्नपूर्ण केबल कार लिमिटेडद्वारा ४०% हकप्रद सेयर निष्कासन, ४९.६ लाख कित्ता सेयर बिक्री खुला

    काठमाडौं ।  अन्नपूर्ण केबल कार लिमिटेडले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीको वार्षिक साधारण सभा गत चैत ३१ गते सम्पन्न भई हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरिएको थियो।

    यस अन्तर्गत, कम्पनीले प्रतिकित्ता रू.१०० अंकित मूल्यमा कुल ४९ लाख ६० हजार कित्ता हकप्रद सेयर सार्वजनिक रूपमा बिक्री खुला गरेको हो।

     

    विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र हकप्रद सेयर वापतको रकम राष्ट्रिय वाणिज्य बैंक, नबिल बैंक, तथा लक्ष्मी सन्राइज बैंकमा रहेको कम्पनीको खातामा जम्मा गर्नुपर्नेछ। रकम जम्मा गरेपछि भर्पाई पर्चा कम्पनीको रजिष्ट्रर्ड कार्यालय, पोखरामा पेश गर्नु पर्नेछ।

    सपोर्ट लघुवित्तको नाफामा १४८% वृद्धि, प्रतिसेयर आम्दानी र सञ्चालन नाफामा पनि उल्लेखनीय सुधार

    काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड ले प्रभावशाली नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीले ३ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा कमाएको १ करोड २३ लाख रुपैयाँको तुलनामा १४८.३७ प्रतिशतको उल्लेखनीय वृद्धि हो।

     

    खुद नाफामा भएको यो उछालको प्रमुख कारण खुद ब्याज आम्दानी हो, जुन ७७.४७ प्रतिशतले बढेर ८ करोड ७२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा झनै प्रभावशाली २४९.२८ प्रतिशतले वृद्धि भई ४ करोड ६५ लाख रुपैयाँमा पुगेको छ।

    सुनको मूल्य ऐतिहासिक उचाइमा, प्रतितोला एक लाख ९१ हजार पुग्यो

    काठमाडौँ ।  सुनको मूल्य प्रतितोला रू एक लाख ९१ हजार पुगेको छ । नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो ।

     

     

    आइतबार तोलामा रू एक लाख ८९ हजार आठ सयमा कारोबार भएको सुन आज प्रतिलोला रू एक हजार दुई सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    आज स्थानीय बजारमा चाँदी प्रतितोला रू एक हजार नौ सय ६० मा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार तीन सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

    आज दोर्दी खोला जलविद्युतको हकप्रद सेयरमा आवेदन दिने अन्तिम दिन

    काठमाडौँ । दोर्दी खोला जलविद्युत कम्पनीको १ सय प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले चैत १९ गतेदेखि १:१ अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता हकप्रद सेयर जारी गरेको थियो। यस सेयरमा आवेदन दिने आजको म्याद सकिनेछ, र सानिमा क्यापिटल र सानिमा बैंकको तोकिएको शाखाबाट आवेदन दिन सकिन्छ।

     

    शिक्षामन्त्री भट्टराई द्वारा राजीनामा

    काठमाडौं । शिक्षकहरूको आन्दोलनको दबाबबीच  शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जनाएको हो ।

     

    उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् ।

    कर नबुझाउने एक सय बाइस करदातामाथि कारबाही

    बागमती।आन्तरिक राजस्व कार्यालय मकवानपुर हेटौँडाले लामो समयदेखि कर नबुझाउने १२२ जना करदातामाथि कारबाही अघि बढाएको छ । दर्ता भएर पनि लामो समयदेखि कर नबुझाउने करदाताको अभिलेख तयार गरेर बैङ्क खाता, आयात निर्यात र सम्पत्ति रोक्काका लागि कानुनी कारबाहीको प्रक्रिया अघि बढाइएको प्रमुख कर अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभयो । कर नबुझाएका करदाताबाट करिब रु ६० करोडभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको सो कार्यालयले जनाएको छ । “पटक–पटक कर बुझाउन मौखिक र पत्राचार गरिए पनि आलटाल गर्ने करदातामाथि कारबाही अघि बढाएका छौँ”, प्रमुख कर अधिकृत सुवेदीले भन्नुभयो, “त्यही भएर हामीले करदाताको बैङ्क खाता, कारोबार, घरजग्गा र आयात निर्यात रोक्काका लागि प्रक्रिया अघि बढाएका छौँ ।” कानुनी प्रक्रिया अघि बढाएपछि केही करदाता कर बुझाउनसमेत आउने गरेको उहाँको भनाइ थियो । यस्तै आन्तरिक राजस्व कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा रु चार अर्ब ८७ करोड ५९ लाख राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको ८२ दशमलव ३२ प्रतिशत सङ्कलन भएको हो । कार्यालय प्रमुख सुवेदीका अनुसार चालु आव २०८१/८२ को नौ महिनाको अवधिमा रु छ अर्ब चार करोड ५४ लाख ३६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा रु चार अर्ब ८७ करोड ५९ लाख छ हजार राजस्व सङ्कलन भएको छ ।

    अविलम्ब वार्तामा बसेर विद्यालयमा फर्कन आह्वान शिक्षकहरूलाई प्रधानमन्त्रीको आग्रह

    काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई राज्यले सम्बोधन गर्ने भएकाले अविलम्ब वार्तामा बसेर विद्यालय फर्कन आन्दोलनरत शिक्षकहरूलाई आह्वान गर्नुभएको छ । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११ औँ राष्ट्रिय सम्मेलनको आज कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागलाई सम्बोधन गरिने बताउनुभयो । “विद्यालय शिक्षा विधेयक संसदीय समितिमा विचाराधीन छ । ऐन ल्याउन भनेर यत्रा शिक्षकहरू सकडमा आन्दोलनमा आउनु पर्दैन । भर्ना अभियान सुरू भइसकेको छ । कृपया जानूस्, विद्यालयमा गएर भर्ना गराउनूस् । एसइईको उत्तरपुस्तिका परीक्षण गर्नूस् । एसइईमा ५२ प्रतिशत विद्यार्थी फेल गराइएको भन्ने मेरो भनाइले चित्त नदुखाउनूस् ।

    विदेशमा सिकेको सिपबाट स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने महासंघ अध्यक्ष ढकालको जोड

    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गरेर स्वदेशमै अवसरहरू सिर्जना गर्नु पर्ने बताउनु भएको छ । अबुधाबीस्थित नेपाली राजदूतावास र दुबईस्थित गैरआवासीय नेपाली संघको सहकार्यमा आयोजित नेपाल महोत्सव २०२५ लाई सम्बोधन गर्दै उहाँले सो धारणा राख्नु भएको हो । 

     

    नेपालमा पर्याप्त सम्भावना रहेकोले ती सम्भावनाबाटै आर्थिक समृद्धि हासिल गर्न पर्न्‌ेमा उहाँको जोड थियो । “योजनाबद्ध दीर्घकालीन सोच विना विकास सम्भव छैन । विकासका लागि  दूरदर्शी र स्थिर नेतृत्व आवश्यक हुन्छ भन्ने कुरा हामीले दुवईबाट सिक्न सक्छौं । तेलमा मात्र निर्भर भएको युएईले अर्थतन्त्रको विविधीकरण गर्दै पर्यटन, वित्तीय सेवा, निर्माण, स्मार्ट सीटी र व्यापार जस्ता क्षेत्रहरूमा ध्यान दिएको छ । दुबईलाई विश्वको व्यापारिक हब बनाएको छ । हामीले पनि हाम्रो देशमा भएका सम्भावनाहरको पनि यसैगरी विविधिकरण गरेर त्यसबाट लाभ लिन सक्नुपर्छ । ”उहाँले भन्नुभयो ।

    मे ३देखि ५सम्म एनआरएनएको एकता महाधिवेशन काठमाडौँमा हुने घोषणा

    काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले एकताको महाधिवेशन बैशाख २०देखि २२सम्म तदनुसार ३ मेदेखि ५ मेसम्म चल्ने गरी निर्णय गरेको छ । लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघ (एनआरएनए) लाई एकताबद्ध गरी एकताको महाधिवेशन गराउने जिम्मेवारी सम्मानित सर्वोच्च अदालतको परमादेश अनुसार डा. शेष घलेको अध्यक्षतामा गठित एनआरएनए उच्चस्तरीय समितिले यस्तो निर्णय गरेको हो ।उक्त समितिले आगामी मे ३–५, २०२५ मा काठमाडौँमा गैर आवासीय नेपाली संघको एकता महाधिवेशन आयोजना गर्न लागेको जनाएको हो ।समितिले एनआरएनएको एकता महाधिवेशनमा बढी भन्दा बढी एनआरएनहरुको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गरिएको छ ।साथै सदस्यताका लागि आवेदन दिने मिति पटक पटक थप गरिएको पनि जनाइएको छ । 

    ऊर्जामन्त्री खड्काको निमन्त्रणमा भारतका विद्युत्मन्त्री नेपाल आउँदै

    काठमाडौँ ।भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर मङ्गलबार नेपालको भ्रमणमा आउँदै हुनुहुन्छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उहाँ यहाँ आउनलाग्नुभएको हो । 

     

    गत माघ ३० गते भारतको भ्रमणका क्रममा मन्त्री खड्काले भारतका विद्युत्मन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको थियो । उहाँ दुई दिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको मन्त्रालयका प्रवक्ता सन्दीपकुमार देवले जानकारी दिनुभयो ।  

    मन्त्री खड्कासँगै भारतीय मन्त्री खट्टरले मङ्गलबार सङ्खुवासभाको तुम्लिङटारमा भारत सरकारको सहयोगमा निर्माण सम्पन्न भएको कोशी करिडोर २२० केभी प्रसारण लाईनअन्तरगत ईनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०÷१३३÷३३ केभी तुम्लिङटार सवस्टेशन, २२०÷३३ केभी बानेश्वर सवस्टेशन तथा २२०÷१३३÷३३ केभी बसन्तपुर सवस्टेशनको संयुक्त रुपमा उद्घाटन गर्ने कार्यक्रम छ । उहाँले सोही दिन भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत् गृह र बाँध क्षेत्रको अवलोकन गर्नुहुने प्रवक्ता देवले बताउनुभयो ।

    गणतन्त्रलाई संस्थागत गर्न राससको महत्वपूर्ण भूमिकाः अध्यक्ष दाहाल

    काठमाडौँ ।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रासस फोटो पुस्तकले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास एवं प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

     

     

    ललितपुरको खुमलटारस्थित निवासमा राष्ट्रिय समाचार समिति ९रासस०द्वारा प्रकाशित ‘रासस फोटो किताबः गणतन्त्रको १६ वर्ष’ ग्रहण गर्दै अध्यक्ष दाहालले पुस्तकका माध्यमबाट गणतन्त्रपछिका उपलब्धि र विकास निर्माणका कामलाई जनमानसमा बुझाउन उपयोगी हुने बताउनुभयो ।

     

    पोप फ्रान्सिसको निधन : भ्याटिकन

    भ्याटिकन सिटी ।पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन भएको छ । इस्टर आइतबार सेन्ट पिटर्स स्क्वायरमा धेरै आशा गरिएको उपस्थिति देखाएको एक दिनपछि भ्याटिकनले एक वक्तव्यमा पोपको निधन भएको बताएको छ ।

     

     

    “प्रिय दाजुभाइ र दिदीबहिनीहरू, मैले गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधनको घोषणा गर्नुपर्दछ”, कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भन्नुभयो, “आज बिहान ७ः३५ बजे ९०५३५ जिएमटी० रोमका बिशप, फ्रान्सिस, पिताको घरमा फर्किनुभयो, उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो ।”

    ९ महिनामै गत आवको तुलनामा साढे चार गुना बढी चिनियाँ लसुन आयात

    काठमाडौँ । चालु आर्थिक वर्षको ९ महिना चिनियाँ सुकेको लसुन गत आवको तुलनामा साढे चार गुना बढी आयात भएको छ ।आव २०८१/८२को चैत मसान्तसम्म आयात भएको लसुनको परिमाण गत आवको १२ महिनामा आयात भएको भन्दा साढे चार गुना बढी भएको देखिएको हो ।

     

    भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार चिनियाँ लसुन चैत मसान्तसम्म २८ लाख ८ हजार ३ सय केजी आयात भएको छ ।जबकि गत आवमा चिनियाँ लसुन ६० हजार २ सय ४० केजी लसुन आयात भएको थियो । प्रतिवेदन अनुसार गत आवमा भारतीय लसुन १२ लाख ६६ हजार १ सय ५ केजी आयात गरिएको थियो । भारतीय लसुनको तुलनामा चिनियाँ लसुन दुई गुना बढी आयात भएको हो ।चालु आवको चैत मसान्तसम्म ८लाख ३१ ह्जार ८ सय २० केजी लसुन भारतबाट आयात भएको छ ।

    विद्यालय शिक्षा ऐन जारीको मागमा शिक्षकहरूको आन्दोलन २०औं दिनमा, काठमाडौंमा प्रदर्शन जारी

    काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित आन्दोलनरत शिक्षकहरूले आज पनि काठमाडौंमा प्रदर्शन जारी राख्ने भएका छन्। नेपाल शिक्षक महासंघको नेतृत्वमा भइरहेको यो आन्दोलन आज २०औं दिनमा पुगेको छ।

     

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै, प्रदर्शन आज बिहान ९ बजे माइतीघर मण्डलाबाट सुरु हुने बताएका छन्। उनले अनुशासन र मर्यादासहित आन्दोलनमा निरन्तरता दिन शिक्षकहरूलाई आग्रह गरेका छन्।

    शिक्षकहरूले गत चैत २० गतेदेखि काठमाडौंमा विद्यालय शिक्षा ऐन तत्काल पारित गरिनुपर्ने माग गर्दै रचनात्मक कार्यक्रम, नाचगान, नाराबाजीजस्ता शैलीमा आन्दोलन गर्दै आएका छन्।

    सिटिजन्स बैंकद्वारा १,११० कित्ता संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुला

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १,११० कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि खुला गरेको छ। यसअघि विद्यमान संस्थापकहरुमा बिक्री नभएपछि बैंकले दोस्रो चरणमा अन्य व्यक्ति तथा संस्थाहरुलाई सेयर खरीदको अवसर दिएको हो।

     

    वैशाख ८ गतेदेखि सुरु भएको यो बिक्री प्रक्रिया अन्तर्गत इच्छुक खरीदकर्ताले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्। सेयरको अंकित मूल्य प्रतिकित्ता ११६ रुपैयाँ तोकिएको छ, तर इच्छुक व्यक्तिले तोकिएको मूल्य वा सोभन्दा बढी दरमा आवेदन दिन सक्नेछन्।

    महालक्ष्मी विकास बैंकको नाफा १६.८७% ले वृद्धि,  प्रतिसेयर आम्दानी र नेटवर्थमा सुधार

    काठमाडौं । महालक्ष्मी विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६.८७ प्रतिशतले नाफा वृद्धि गर्दै ४३ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकको नाफा ३७ करोड ३५ लाख रुपैयाँ थियो।

    बैंकको खुद ब्याज आम्दानी पनि ३.७८ प्रतिशतले वृद्धि भई १ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्ष १ अर्ब ४८ करोड रुपैयाँ थियो। त्यस्तै, सञ्चालन नाफा १८.०६ प्रतिशतले बढेर ६२ करोड ८१ लाख रुपैयाँ पुगेको छ।

     

    हालसम्म बैंकको चुक्ता पुँजी ४ अर्ब २९ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५८ करोड रुपैयाँ सञ्चित रहेको छ।

    होटेल सारथीको आइपीओ तयारी : १५ करोड रुपैयाँ बराबरको सेयर निष्कासन हुँदै

    काठमाडौं । होटेल सारथी प्रालिले पहिलो पटक साधारण सेयर  निष्कासन गर्ने भएको छ। कम्पनीले सिटिजन्स क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा नियुक्त गरेको छ।

     

    सारथी होटेलका कार्यकारी अध्यक्ष प्रल्हाद प्याकुरेल र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठबीच सम्झौतामा हस्ताक्षर भएसँगै आइपीओ प्रक्रियालाई औपचारिकता दिइएको हो।

    कम्पनीले आफ्नो जारी पुँजीको ३० प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर सार्वजनिक निष्कासन गर्न लागेको हो। आइपीओ पश्चात कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ पुग्नेछ।

    आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रूपैयाँ ३० पैसा र बिक्रीदर १३६ रूपैयाँ ९० पैसा कायम भएको छ ।
     
     केन्द्रीय बैंकले युरोपियन युरो एकको खरिददर १५५ रूपैयाँ २८ पैसा र बिक्रीदर १५५ रूपैयाँ ९६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८१ रूपैयाँ २३ पैसा र बिक्रीदर १८२ रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६६ रूपैयाँ ९८ पैसा र बिक्रीदर १६७ रूपैयाँ ७२ पैसा कायम गरिएको जनाएको छ ।
     
         त्यसैगरी अष्ट्रेलियन डलर एकको खरिददर ८६ रूपैयाँ ९१ पैसा र बिक्रीदर ८७ रूपैयाँ २९ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रूपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रूपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रूपैयाँ ९५ पैसा र बिक्रीदर १०४ रूपैयाँ ४१ पैसा निर्धारण गरिएको छ ।

     
     
     
     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij