
काठमाडौँ । सरकार र आन्दोलनरत शिक्षक महासंघबीच आज वार्ता भएन । शिक्षकको वार्ता टोली सिंहदरवारको गेटबाटै फर्किएको हो ।
शिक्षामन्त्री रघुजी पन्तले आजै आन्दोलनतर शिक्षकहरूलाई वार्ताका लागि बोलाएका थिए । शिक्षक महासंघको टोली शिक्षामन्त्रीसँग भेट गर्न सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय गएको थियो । तर, मन्त्रालय नपुगी टोली फर्किएको हो ।
शिक्षक महासंघले मन्त्रीसँग भेट नगरी बीचबाट फर्किनुको कारण खुलाएको छ्रन् । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले समाजिक सञ्जालमा लेखेका छन्, ‘आज मिति २०८२ वैशाख १२ गते नवनियुक्त माननीय मन्त्रीज्यूसँग औपचारिक भेटका लागि हामी जाने क्रममा थियौं । तर विशेष कारणवश आज हामी मन्त्रालय प्रवेश नगरी फर्किएको कुरा जानकारी गराउँछौं ।’
यसअघि बिहीबार सर्वोच्च अदालतले शिक्षकको माग तीन दिन भित्र सम्बोधन गरेर पठनपाठनको वातवरण बनाउन सरकारलाई आदेश दिएको थियो । शिक्षकहरू गत चैत २० गतेबाट निरन्तर सडक आन्दोलनमा रहेका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij