Logo

Apr 26 2025 | २०८२, वैशाख १४गते

Apr 26 2025 | २०८२, वैशाख १४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख १२ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख १२ शुक्रबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  • काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख १२ शुक्रबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    एभरेष्ट हस्पिटालिटी (मेरियट) को आयमा ५.५% वृद्धि, वित्तीय स्थिति बलियो बन्दै

    काठमाडौं । एभरेष्ट हस्पिटालिटी एन्ड होटल लिमिटेड (मेरियट) ले सन् २०२४ मा १ अर्ब ७९ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ५।४६ प्रतिशतले बढी हो। सन् २०२३ मा कम्पनीको आम्दानी १ अर्ब ७० करोड १० लाख रुपैयाँ रहेको थियो भने २०२२ मा १ अर्ब २ करोड ४० लाख रुपैयाँ थियो।

    रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेड का अनुसार चालु आर्थिक वर्षको पहिलो ६ महिनामा मात्र कम्पनीले ८७ करोड ७० लाख रुपैयाँ आम्दानी गरिसकेको छ। कम्पनीको ऋण सेवा क्षमता, तरलता स्थिति र पुँजी संरचनामा पनि उल्लेख्य सुधार आएको जनाइएको छ।

     

    कम्पनीले काठमाडौं नक्सालस्थित पाँचतारे होटल ुमेरियटु सञ्चालन गर्दै आएको छ र मेरियट इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन, तालिम, बुकिङ प्रणाली तथा अन्तर्राष्ट्रिय बजार पहुँचको फाइदा उठाउँदै आएको छ।

    छ्याङ्दी हाइड्रोपावरलाई १०० प्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ। कम्पनीले १:१ अनुपातमा प्रतिकित्ता १०० रुपैयाँको दरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर निष्कासन गर्न पाउनेछ।

    उक्त हकप्रद सेयर बिक्रीको बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले लिएको छ।

     

    हकप्रद निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ। यसले कम्पनीको पूँजी संरचना थप मजबुत बनाउने अपेक्षा गरिएको छ।

    मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट फाइनान्सका बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र श्री इन्भेष्टमेन्ट फाइनान्स लिमिटेडका बोनस सेयरहरू सूचीकृत भएका छन्।

    मिथिला लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १४।२५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसअन्तर्गत २ लाख ७९ हजार ३०३.९३ कित्ता सेयर सूचीकृत भएको हो।

     

     श्री इन्भेष्टमेन्ट फाइनान्सले १.८७ प्रतिशत बोनस सेयर वितरण गरेको थियो, जसअनुसार १ लाख ८३ हजार १६८ कित्ता सेयर नेप्सेमा सूचीकृत गरिएको छ।

    विराटनगर लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुनेः मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  विराटनगरमा हुने दुईदिने प्रदेशस्तरीय लगानी सम्मेलनबाट अर्थतन्त्र थप चलायमान हुने धारणा व्यक्त गर्नुभएको छ ।

     

     

    नेपाल उद्योग वाणिज्य सङ्घ कोशी प्रदेशद्वारा आज यहाँ आयोजित ‘कोशी प्रदेशको आर्थिक अवस्थाः लगानीका सम्भावना र चुनौती’ विषयक अन्तरसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले ‘समृद्ध कोशी प्रदेश, सम्पत्र नेपाल’ भन्ने सङ्कल्प पूरा गर्न यही वैशाख १८ र १९ गते हुन गइरहेको लगानी सम्मेलन कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गर्नुभयो ।

    ‘बजेट अधिवेशन नागरिकको विकास आकाङ्क्षा पूरा गर्दै निराशा चिर्नेगरी केन्द्रित हुनुपर्छ’

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले का सचिव तथा सांसद गोकर्णराज विष्टले नागरिकका विकास र समृद्धिका आकाङ्क्षा पूरा गर्नेगरी संसद्को चालु अधिवेशन केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।

     

     

    प्रतिनिधिसभाको आजको बैठकमा दलीय आधारमा बोल्ने क्रममा उहाँले संसद्को गरिमा कायम राख्दै राजनीतिक दल तथा सरकारले नागरिकको असन्तुष्टि चिर्नेगरी काम गर्नसक्नुपर्नेमा जोड दिनुभयो ।

     

    संसद्लाई जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने थलोका रूपमा चित्रण गर्दै विष्टले संसद्को सञ्चालन संयमित, शिष्ट र अनुशासित ढङ्गले हुनुपर्ने बताउनुभयो । “यदि संसद्ले नागरिकमा आशा जगाउने गरी काम गर्न सक्यो भने त्यो नै लोकतन्त्रको मूल्य र विश्वासप्रतिको सम्मान हुनेछ”, उहाँले भन्नुभयो,“संसद्मा विगतका अधिवेशनहरूबाट पाठ सिक्दै चालु अधिवेशनलाई परिणाममुखी बनाउनुपर्छ ।”

    ग्रामीण विकास लघुवित्तको नाफा २४ करोड नाघ्यो, गत वर्षको तुलनामा १६.८०% वृद्धि

    काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म २४ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १६.८० प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा संस्थाले २१ करोड १३ लाख रुपैयाँ नाफा कमाएको थियो।

     

    ब्याज आम्दानीमा उल्लेख्य वृद्धि
    संस्थाको खुद ब्याज आम्दानी ६४ करोड ६५ लाख रुपैयाँबाट बढेर ८५ करोड ५७ लाख रुपैयाँ पुगेको छ। ब्याज आम्दानीको यही वृद्धि नाफा बढ्नको प्रमुख कारण हो।

    सूर्यज्योति लाइफ इन्सुरेन्सको नाफा ३१.९०% ले बढ्यो, तेस्रो त्रैमासमा २९.५७ करोड रुपैयाँ कमाई

    काठमाडौं ।सूर्यज्योति लाइफ इन्सुरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको २२ करोड ४३ लाख रुपैयाँको तुलनामा ३१.९० प्रतिशतले बढी हो।

     

    कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि उल्लेख्य रूपमा बढेको छ। यो आम्दानी १३.९८ प्रतिशतको वृद्धि सहित २ अर्ब ६० करोड रुपैयाँ नाघेको छ। त्यस्तै, खुद बीमा शुल्क आर्जन पनि १७।८५ प्रतिशतले बढ्दै ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।

    सूर्यज्योति लाइफको जीवन बीमा कोषको आकार ३९ अर्ब ४५ करोड रुपैयाँभन्दा धेरै पुगेको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ९जग्गिएको मुनाफा० ४२ करोड १९ लाख रुपैयाँ रहेको छ।

    दोर्दी खोला जलविद्युतद्वारा शतप्रतिशत हकप्रद शेयर आवेदनको अवधि थप

    काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले शतप्रतिशत हकप्रद शेयर खरीद गर्न छुट भएका शेयरधनीहरूको सुविधाका लागि आवेदन अवधि थप गरेको छ। यसअघि कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेपनि केही शेयरधनीहरू आवेदन दिन छुटिएकाले, वैशाख ११ गते सम्पन्न सञ्चालक समितिको बैठकले वैशाख १२ देखि वैशाख १४ गतेसम्म कार्यालय समयभित्र पुनः आवेदन खुला गर्ने निर्णय गरेको हो। कम्पनीले हालको चुक्तापूँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको छ, जसअनुसार एक कित्ता शेयर भएका शेयरधनीहरूले थप एक कित्ता हकप्रद शेयर खरीद गर्न पाउनेछन्। हकप्रद बाँडफाँटपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ। हकप्रद शेयर निष्कासनको लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको थियो भने सार्वजनिक बिदाका कारण फागुन १३ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र आवेदन दिन योग्य छन्।

    चिनियाँ राष्ट्रपति सीसँग करका विषयमा कुरा गरेको ट्रम्पद्वारा जानकारी :अमेरिकी सञ्चारमाध्यम

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग करका विषयमा कुराकानी भएको बताउनुभएको छ । 

     

    ट्रम्पले चिनियाँ सामानमा लगाएको नयाँ करका कारण विश्वका दुई ठूला अर्थतन्त्रबीच बढ्दो तनाबबीच यो भनाइ सार्वजनिक भएको हो । अमेरिकाले चीनबाट आयात हुने अधिकांश उत्पादनमा १४५ प्रतिशतसम्म कर लगाएको छ । 

    चीनले संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ता गरिरहेको कुरा अस्वीकार गर्दै आएको छ तर ट्रम्पले आगामी केही हप्तामा दुई देशबीच सम्झौता हुने अपेक्षा गरेको बताउनुभएको छ ।

    बागमती प्रदेशः डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति

    बागमती ।बागमती प्रदेशको विभिन्न जिल्लास्थित सामुदायिक वनमा बर्सेनि हुने वन डढेलोका कारण थुप्रै नवजङ्गल तथा बिरुवा विनाश हुने गरेका छन् । मानवीय लापर्वाहीका कारण हुने डढेलोबाट मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधतामा क्षति हुने गर्दछ । 

     

     

    गत माघदेखि चैतसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा डढेलोका कारण करिब नौ हजार ६०० भन्दा बढी हेक्टर वनमा क्षति पुगेको प्रदेशका वन निर्देशनालयका सूचना अधिकारी टेकनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलोबाट सबैभन्दा बढी चितवनमा चार हजार २२१ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने सबैभन्दा कम दोलखामा २३ दशमलव ५५ हेक्टर क्षेत्रफलमा नोक्सानी भएको छ ।

    स्वास्थ्य बिमाको पैसा नआएपछि भरतपुर अस्पतालले हटायो २४ वटा परीक्षण

    चितवन । साउनयता स्वास्थ्य बिमामार्फत पाउनुपर्ने भुक्तानी नपाएपछि यहाँको भरतपुर अस्पतालले बिमामा तोकिएका २४ प्रकारका परीक्षण बन्द गरेको छ । परीक्षणका लागि आवश्यक रिएजेन्ट (केमिकल) खरिद गर्न कठिन भएसँगै सेवा बन्द गरेको अस्पतालले जनाएको छ । 

     

     

    बिमा बोर्डबाट पाउनुपर्ने रु ५० करोड भुक्तानी नभएपछि ती सेवा परीक्षण बन्द गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वैशाख १ गतेदेखि रोकिएका ती परीक्षण अत्यावश्यक परीक्षण होइनन् । यसअघि नै बिमा बोर्डले तीन महिनामा एकपटक मात्रै परीक्षण गर्न पाउनेगरी नीति बनाएको थियो ।  भिटामीन डी, भिटामिन १२ जस्ता परीक्षण बिमामार्फत गर्न रोकिएको हो । 

     

    राप्रपाका अध्यक्ष लिङदेनले तीनकुने लुटपाट घटनामा नेपाली कांग्रेसका नेताकै छोरा संलग्न भएको संसदमा गरे खुलासा

    काठमाडौँ । तीनकुनेमा भएको प्रदर्शनको क्रममा भएको लुटपाटको घटनामा सत्ता साझेदार दल नेपाली कांग्रेसका नेताकै छोरा पनि रहेको संसदमा खुलेको छ ।

     

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको घटनामा सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्रीकै छोरा पनि पक्राउ परेको दाबी गरेका हुन् ।
    शुक्रबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा सहमहामन्त्रीका छोरा पक्राउ परेको र प्रहरीले तुरुन्तै छाडिदिएको बताए ।

    शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान

    काठमाडौँ । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले शिक्षक महासङ्घलाई वार्ताका लागि आह्वान गर्नुभएको छ । उहाँले सरकारका तर्फबाट आज पत्राचार गरी लामो समयदेखि आन्दोलनरत शिक्षक महासङ्घ राष्ट्रिय समितिलाई वार्ताका लागि आह्वान गुर्नभएको हो ।

     

     

    मन्त्री पन्तले शिक्षकहरूसँग विगतमा झैँ निरन्तर संवाद तथा छलफल गरी सामूहिक रूपमा समाधानका उपाय खोज्न यथाशीघ्र वार्ताका लागि आग्रह गर्नुभएको छ । उहाँले शिक्षक प्रतिनिधिहरूसँगको यथोचित छलफल र परामर्शबाट विधेयकको मस्यौदा तयार गरिएकाले विद्यालय शिक्षा विधेयक चाँडै जारी होस् भन्ने शिक्षक तथा कर्मचारीको चासो र अपेक्षा रहनु स्वाभाविकै भएको उल्लेख गर्नुभएको छ ।

    सरकारले फेसबुकको माउ कम्पनी मेटालाई नेपालमा बन्देज गर्दै

    काठमाडौँ । सरकारले फेसबुकको माउ कम्पनी मेटालाई नेपालमा बन्देज गर्ने चेतावनी दिएको छ ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ७ दिनभित्र दर्ता नभए मेटालाई नेपालमा प्रतिबन्ध लगाउने चेतावनी दिएका हुन् । 

     

    शुक्रवार काठमाडौँमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हकसम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरूङले यस्तो बताए ।मन्त्री गुरुङले मेटालाई नेपालमा दर्ता हुन आग्रहसहित पटक पटक सूचना जारी गरे पनि नमानेको खुलाए ।

    भूकम्पको विपत्तिबाट उठ्न जनताले देखाएको साहस अद्वितीय छ : अध्यक्ष दाहाल

    काठमाडौँ ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक दशकअघि आजकै दिन गएको भूकम्प (गोरखा  भूकम्प) को विपत्तिबाट उठ्न जनताले देखाएको साहस, संयमता र दृढ सङ्कल्प अद्वितीय रहेको बताउनुभएको छ ।

     

     

    गोरखा भूकम्पको स्मरणमा आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले पुनर्निर्माणका केही कार्य सम्पन्न भए पनि जनताले अझै पनि शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पूर्वाधार, रोजगारजस्ता विषयमा विभिन्न चुनौतीको सामना गरिरहेको उल्लेख गर्नुभयो ।

    धनगढी–खुटिया सडकखण्डमा दुई वटा पक्की पुल निर्माण गरिँदै

    गोदावरी (कैलाली)।धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले खण्डमा दुईवटा पक्की पुलको निर्माण प्रारम्भ भएको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकअन्तर्गत गोदावरी नगरपालिका–८ भएर बग्ने जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५ सुकुटी खोलामाथि पक्की पुल निर्माणको थालिएको हो । पुल निर्माणका लागि रु तीन करोड १५ लाखमा गत पुसमा निर्माण कम्पनीसँग सम्झौता भएको हो ।

     

    जोनापुर खोलाको पुल ५० प्रतिशत बनेको छभने सुकुटी खोलामा धमाधम पिलर उठाइँदै छ । आयोजना कार्यालयलका अनुसार १३ किलोमिटर सडक कालोपत्र भएको छ । विसं २०६४ मा खुटिया–दिपायल द्रुतमार्गको ‘ट्रयाक’ खोलिएको हो ।

    प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक

    पाटन (ललितपुर)। गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफै जोखिम निम्त्याउन नहुने बताउनुभएको छ । गोरखा भूकम्पको दश वर्ष पूरा भएको अवसरमा आज ललितपुर महानगरपालिकाद्वारा पाटन दरबार क्षेत्रमा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’ कार्यक्रममा गृहमन्त्री लेखकले विगतमा भोगेको विपद् र त्यसले पु¥याएको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्प लगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिनुभयो । “हामीले निर्माण गरेका भौतिक संरचना बलिया हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्नुपर्छ । विपद्मा खोज उद्धार र राहत प्रतिकार्य गर्न आवश्यक छ, विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ”, उहाँले भन्नुभयो । गृहमन्त्री लेखकले विपद्पछिको पुनःनिर्माण, खोज, उद्धार र राहातका कार्यमा ललितपुर महानगरले अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गर्नुभयो । “पुनःनिर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, हामी जोखिमपूर्ण भू–भागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै बेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्छ ।” उहाँले भन्नुभयो । विपद्मा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको गृहमन्त्री लेखकको भनाइ थियो ।

    सुनको मूल्य तोलामा एक हजार रुपैयाँले घट्यो, चाँदी स्थिर

    काठमाडौँ । सुनको मूल्य तोलामा रू एक हजार घटेको छ ।

     

    बिहीबार प्रतितोला रू एक लाख ९० हजार छ सयमा कारोबार भएको सुनको मूल्य आज रू एक लाख ८९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
    यस्तै, आज चाँदीको मूल्य प्रतितोला रू दुई हजार कायम भएको छ ।

    तातो लहरसँगै मौसममा परिवर्तन, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    काठमाडौँ । हाल नेपालमा स्थानीय वायुप्रणालीको आंशिक प्रभाव सक्रिय रहेकाले देशभरको मौसममा केही परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार यही प्रभावले गर्दा देशका धेरै स्थानहरूमा अधिकतम र न्यूनतम तापक्रममा वृद्धिको क्रम जारी छ।

     

    कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदलीको अवस्था देखिएको छ भने अन्य भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ। गण्डकी प्रदेशको पहाडी क्षेत्रमा कहीं–कहीं चट्याङ्गसहित हल्का वर्षा समेत भइरहेको छ।

    आज दिउँसो पनि कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ। ती क्षेत्रका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुनसक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।

     

    त्यस्तै, यी तीनै प्रदेशका हिमाली भूभागहरूमा पनि एक–दुई स्थानमा हल्का हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ। यही मौसमी प्रवृत्तिले राति पनि निरन्तरता पाउने सम्भावना छ।

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ १२ पैसा र बिक्रीदर १३६ रुपैयाँ ७२ पैसा कायम भएको छ । 

     

     

    यस्तै, युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६५ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ २५ पैसा र बिक्रीदर १८२ रुपैयाँ ०५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १६४ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।

     

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा र बिक्रीदर ८७ रुपैयाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ २१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०४ रुपैयाँ २५ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij