
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख १४ आइतबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
शेयर बजार : नेप्से परिसूचकमा ५.९८ अंकले बढेर २६६४.०१ बिन्दुमा, १० अर्ब ८७ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ५.९८ अंकले बढेर २६६४.०१ बिन्दुमा आएको छ । आज १० अर्ब ८७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
आज २ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने एउटामा नकारात्मक सर्किट लागेको छ । ७ वटा समूहका सूचक बढेका छन् ।
यस दिन ३ सय १४ कम्पनीको २ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर अग्रस्थानमा छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी र राधी विद्युत कम्पनी परेका छन् ।
आफ्नो ‘बेडरुम’सम्म विचौलियाको पहुँच छ भन्नेहरूलाई आरोप प्रमाणित गर्न प्रधानमन्त्रीको चुनौती
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बेडरुमसम्म विचौलियाको पहुँच छ भनेर लाञ्छित गर्नेहरू आरोप प्रमाणित गर्न चुनौती दिनुभएको छ ।
मदनभण्डारी फाउण्डेशनको चौथो राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिमा छिर्के दाउ हाल्ने, षड्यन्त्र गर्ने र झेली खेलाडीले लाज—सरम पचाएर यस्ता आरोप लगाउँछन् भन्नुभयो ।
देशमा एमाले र नेपाली कांग्रेसको सहभागितामा सरकार बन्नु समयको आवश्यकता हो भन्दै उहाँले राजनीतिक स्थायित्व, विकास र सुशासनले गति लिन लागेका बेला सरकार र नेतृत्वविरुद्ध झुठा आरोप लगाउन थालिएको बताउनुभयो । “झुुठा कुराको सहायतामा यस्तो विरोध गरिएको छ कि मानौँ, सरकारले केही गरेको छैन । हामीले देश बर्बाद बनाइरहेका छौँरु, हामीले कुनै अपराध गरिरहेका छौँरु”, प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भन्नुुभयो, “आजकाल नीलो रङका स्यालहरु निकै हाउभाउ गरिरहेका छन् । तिनीहरुको वास्तविक रुप लामो समय टिक्ने छैन । एमालेले आफूूलाई आगामी निर्वाचनमार्फत निर्णायक राष्ट्रिय शक्तिमा रुपान्तरण गर्ने लक्ष्यमा छौँ । हामी हाम्रा सही विचार, इमान र सत्यको राजनीतिबाट स्थापित हुुन्छौँ ।”
ह्याम्स अस्पतालको आम्दानीमा १९.२१% वृद्धि, प्रिमियममा आईपीओ निष्कासनको तयारी
काठमाडौं । हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी लिमिटेड (ह्याम्स )ले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने तयारीसँगै आफ्नो वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार गरेको छ। कम्पनीले सन् २०२४ मा १ अर्ब ६६ करोड ३० लाख रुपैयाँ आम्दानी गर्दै अघिल्लो वर्षको तुलनामा १९.२१ प्रतिशत वृद्धि हासिल गरेको छ। पछिल्ला केही वर्षदेखि आम्दानी स्थिर रूपमा बढिरहेको देखिन्छ, जसले कम्पनीको दिगो सञ्चालन क्षमतालाई झल्काउँछ।
रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले ह्याम्सको ८० करोड रुपैयाँ कर्जाका लागि रेटिङ प्रदान गर्दै कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमता मध्यमस्तरको रहेको जनाएको छ। चालु आर्थिक वर्षको पहिलो छ महिनामा करिब २९ प्रतिशत सञ्चालन नाफा हासिल गर्नु र सन्तोषजनक वित्तीय प्रोफाइल कायम गर्नु कम्पनीको सुधारोन्मुख अवस्था दर्शक हो।
छ्याङ्दी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेवोनको अनुमति
काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेवोन)बाट अनुमति पाएको छ। बोर्डले वैशाख १२ गते कम्पनीलाई आवश्यक स्वीकृति प्रदान गरेको हो।
यसअघि कम्पनीले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको भए पनि, सो निर्णयलाई रद्द गर्दै शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरिएको छ।
३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पूँजीको आधारमा कम्पनीले सोही अनुपातमा हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो। यस प्रक्रिया अन्तर्गत, ग्लोबल आइएमई क्यापिटल लिमिटेड हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकको रूपमा रहनेछ।
दोर्दी खोला जलविद्युतको अवितरित हकप्रद शेयर खरिदको आज अन्तिम दिन
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर खरिदका लागि आवेदन दिन आज (वैशाख १४ गते) अन्तिम दिन हो। कम्पनीले आवेदन दिन छुट भएका शेयरधनीलाई लक्षित गर्दै वैशाख १२ गतेदेखि १४ गतेसम्मको अवधि थप गरी हकप्रद शेयर बिक्रीमा ल्याएको हो।
यसअघि कम्पनीले चैत १९ गतेदेखि वैशाख ८ गतेसम्म शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको थियो। तर केही शेयरधनीहरूले समयमै आवेदन दिन नसकेकाले, वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले अवधि थप गर्ने निर्णय गरेको हो।
कम्पनीले हाल कायम १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४०० रुपैयाँ चुक्ता पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो। यसपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १० करोड ८५ लाख २० हजार ८०० रुपैयाँ पुग्नेछ।
बैङ्किङ कसूरसम्बन्धी विधेयकमाथि राष्ट्रियसभाको संशोधन प्रतिनिधिसभाबाट स्वीकृत
काठमाडौँ । बैङ्किङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधन प्रतिनिधिसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेले राख्नुभएको ‘बैङ्किङ कसूर तथा सजाय ९दोस्रो संशोधन० विधेयक, २०८० माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।
राष्ट्रियसभाबाट भएको संशोधनमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभाबाट प्राप्त भएका सुझावलाई समेटेर जाँदा विधेयक थप स्पष्ट र प्रभावकारी हुने सरकारको बुझाइ रहेको बताउनुभयो । “राष्ट्रियसभाको सुझावप्रति मेरो सम्मान छ, त्यसलाई ग्रहण गर्नुपर्छ भन्ने दृष्टिकोण सभासमक्ष राख्दछु,” उहाँले भन्नुभयो ।
अल्जेरियामा पहिरो जाँदा चार जनाको मृत्यु, १३ घाइते
अल्जियर्स ।अल्जेरियाको पश्चिमी तटीय शहर ओरानमा पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् ।
नागरिक सुरक्षा एजेन्सीले शहरको हाई एसानौबार जिल्लामा शनिबार अबेर पहिरो गएको जनाएको छ ।
यसमा चार जना मृतकहरू पाँच देखि ४३ वर्ष उमेरका थिए । साथै, १२ देखि ७५ वर्ष उमेरका अन्य १३ जना पीडितहरूलाई विभिन्न चोटपटक लागेको बताएको छ ।
सुदूरपश्चिमको मानव विकास सूचकाङ्कमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छः परराष्ट्रमन्त्री डा राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले सुदूरपश्चिम प्रदेश अहिले पनि मानव विकास सूचकाङ्कमा निकै तल रहेकाले यसमा उल्लेखनीय सुधार हुने गरी आगामी बजेट र कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।
सुदूरपश्चिम प्रदेश, नीति तथा योजना आयोगद्वारा आज काठमाडौँमा आयोजित आर्थिक वर्ष २०८२र०८३ का लागि सङ्घीय बजेट र सुदूरपश्चिम प्रदेशका प्राथमिकताहरू विषयक अन्तरक्रियामा उहाँले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा मन्त्री डा राणाले भन्नुभयो “प्रादेशिक तुलना गर्दा नेपालको मानव विकास सूचकाङ्कमा सुदूरपश्चिम प्रदेश धेरै तल छ । मलाई लाग्छ हाल छैठौँ स्थानमा रहेको अवस्थामा उल्लेख्य सुधार गरेर माथि ल्याउने गरी हामीले आगामी योजना, कार्यक्रमहरू निर्माण र त्यसैबमोजिम बजेटको व्यवस्था गर्नुपर्दछ ।”
आन्तरिक अर्थतन्त्र अझै संकटग्रस्त, बाह्य सूचकहरू सबल: कामु गभर्नर ढुङ्गाना
काठमाडौँ ।नेपाल राष्ट्र बैंकका कायममुकायम गभर्नर डा नीलम ढुङ्गाना तिम्सिनाले मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख देखिए पनि आन्तरिक रुपमा अझै सङ्कटग्रस्त रहेको बताउनुभएको छ ।
आज यहाँ आयोजित राष्ट्र बैंकको ७०औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै कामु गभर्नर ढुङ्गानाले मुलुकको अर्थतन्त्र बिस्तारै लयमा आउन थालेको समेत उल्लेख गर्नुभयो । बाह्य सूचकहरु सबल बन्दै गएपनि आन्तरिक अर्थतन्त्रमा संरचनागत एवम् व्यवस्थापनजन्य विषयहरूको सम्बोधन अत्यावश्यक भइसकेको उहाँको भनाइ छ । “उच्च तरलता एवम् न्यून ब्याजदरका बाबजुद निजी क्षेत्रतर्फ प्रवाहित कर्जा एवम् आन्तरिक मागमा अपेक्षित सुधार हुन नसक्नु, पुँजीगत खर्च अपेक्षित रूपमा बढ्न नसक्नु र सञ्चालनमा रहेका परियोजनाहरू समयमै सम्पन्न हुन नसक्नु जस्ता चुनौतीहरू अर्थतन्त्रमा कायमै छन्”, उहाँले भन्नुभयो ।
सगरमाथा चढ्ने तयारीमा रहेका असइ छत्याललाई प्रधानमन्त्रीको बिदाइ
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा संवाद कार्यक्रमको प्रवर्द्धनका लागि विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने तयारीमा रहेका सशस्त्र प्रहरीका सहायक निरीक्षक दन्तबहादुर छत्याललाई आज बिदाइ गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीले असइ छत्याललाई सफल यात्राको कामनासहित बिदाइ गर्नुभएको हो । यात्राका क्रममा जलवायु परिवर्तनको अवस्थाबारे पनि अध्ययन गरी रिपोर्टिङको तयारीमा रहनुभएका छत्याललाई सगरमाथा संवाद लेखिएको व्यानर हस्तान्तरण गरिएको थियो ।
झडपमा शिक्षक, प्रहरी र पत्रकारसहित २६ जना घाइते
काठमाडौँ ।काठमाडौँको नयाँ वानेश्वरस्थित सडकमा आन्दोलन गरिरहेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेपछि भएको झडपमा शिक्षक, पत्रकार र प्रहरीसहित २६ जना घाइते भएका छन् ।
विगत २६ दिनदेखि आन्दोलन गरिरहेका शिक्षकले आज निषेधित क्षेत्र तोड्न खोजेपछि रोक्न खोज्दा उक्त झडप भएको हो । सो क्रममा ५ प्रहरी, एक पत्रकार र २० शिक्षक घाइते भएका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो । घाइतेको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
यस्तो छ राजस्व अनुसन्धान विभागको ६ वर्षको प्रगति विवरण
काठमाडौँ । राजस्व अनुसन्धान विभागले ६ वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ ।विभागले आर्थिक वर्ष २०७५/७६ देखि २०८०/८१सम्मको राजस्व चुहावट र विदेशी विनिमय अपचलन तर्फको प्रगति विवरण सार्वजनिक गरेको हो ।
यो अवधिमा राजस्व चुहावटसम्बन्धी मुद्दा ४ सय ४ वटा दर्ता गरिएको छ । ती मुद्दाहरूमा गरी १ हजार ३ सय २५ जनालाई प्रतिवादी बनाइएको छ । तीन मुद्दाहरूमा गरी कुल बिगो ६० अर्ब बढी रहेको छ । आव २०७५/७६मा ९३ मुद्दामा ३ सय १ जनालाई प्रतिवादी बनाइ ९ अर्ब ८३ करोड बराबरको बिगो मागदाबी विभागले गरेको थियो ।
यसैगरी २०७६/७७मा ९६ मुद्दामा ३ सय २० जनालाई प्रतिवादी बनाइ १५ अर्ब ५९ करोड ७२ लाख बिगो, २०७७/७८ मा ८४ मुद्दामा ३सय १७ प्रतिवादीमा १९ अर्ब ८१ करोड ९५ लाख ,२०७८/७९मा ७१ मुद्दामा २ सय ४६ जना प्रतिवादी बनाइ १० अर्ब ४करोड ५६ लाख बिगो मागदाबी गरिएको विभागले जनाएको छ । यस्तै २०७९/८०मा ३४ मुद्दामा ५९ जनालाई प्रतिवादी बनाइ १ अर्ब ४५ करोड ६१ लाख र २०८०/८१मा २६ मुद्दा मा ८२ जनालाई प्रतिवादी बनाइ ६ अर्ब ५० करोड १० लाख रुपैयाँ बराबरको मागदाबी गरिएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।
नागरिक उड्डयन प्राधिकरण विभाजन सदनमा प्रस्तुत भइरहेका बेला कर्मचारीद्वारा फिर्ता गर्न आन्दोलन
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का कर्मचारीहरूले क्यान विभाजन सम्बन्धी विधेयक फिर्ता लिन दबाब बढाएका छन्। कर्मचारीहरूले आइतबार क्यानका महानिर्देशकको सचिवालयमा तालाबन्दी गरेका छन्।कर्मचारी यनियनका अध्यक्ष सुवास कोइरालाले विधेयक फिर्ता लिन दबाबस्वरुप आफूहरु तालाबन्दीमा उत्रिएको बताएका हुन् । उनले भने ‘ आज बोर्ड हल र महानिर्देशकको सचिवालयमा ताला लगाइएको छ ं,’
कर्मचारीहरुले तालाबन्दी गरी एक घण्टा धर्नामा बसेर विधेयक फिर्ता लिन प्रदर्शन गरे । अध्यक्ष कोइरालाले जनाए अनुसार माग माग सुनुवाइ नभएन थप दबाबमूलक कार्यक्रम गरिनेछ । पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रतिनिधि सभाको बैठकमा नेपाल हवाई सेवा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने भएका छन् ।
भेरी अस्पतालमा भएको आगलागीबाट चार करोडको क्षति
नेपालगञ्ज । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको मेडिकल स्टोरमा शनिबार भएको आगलागीबाट रु चार करोड बराबरको क्षति भएको अनुमान गरिएको छ ।
मेडिकल स्टोरभित्र राखिएको फ्रिजमा विद्युत् सर्ट सर्किट भई आगलागी हुँदा यहाँ रहेका औषधि, उपकरण, कम्प्युटरलगायत सामग्री जलेर नष्ट भएका अस्पतालका मेडिकल सुपरिटेण्ड डा निराजन सुवेदीले जानकारी दिनुभयो ।
उहाँका अनुसार सो घटनाको छानबिनका सन्दर्भमा अस्पताल विकास समितिका अध्यक्ष वीरेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले अस्पताल विकास समितिका सदस्य डा डक्ट धितालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।
इरानको विशाल बन्दरगाहमा विस्फोट, १८ जनाको मृत्यु, आगलागी जारी
तेहरान । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा भएको विशाल विस्फोटपछि कम्तीमा १८ जनाको मृत्यु र अन्य आठ सय जना घाइते भएको एक दिनपछि आइतबार आगो अझै लागिरहेको सरकारी सञ्चार माध्यमले जनाएको छ ।
विश्वको तेल उत्पादनको पाँचौँ भाग हुने होर्मुज जलडमरुमध्य नजिकै दक्षिणी इरानको शहीद रजाई बन्दरगाहमा शनिबार विस्फोट भएको थियो ।
बन्दरगाहको भन्सार कार्यालयले राज्य टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।
प्रतिनिधि सभामा भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश
काठमाडौं । प्रतिनिधि सभामा भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश भएको छ । अर्थ समितिका सभापति सन्तोष चालिसेले आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गरेका हुन् । यो विधेयक तत्कालीन अर्थमन्त्री डा. प्रकाश शरण महतले ल्याएका थिए ।
१८ असोज २०८० मा प्रतिनिधि सभामा दर्ता भएको यो विधेयक १८ चैत २०८० मा प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा दफावार छलफलका लागि पुगेको थियो ।
आइतबार सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ७०० कायम
काठमाडौँ।आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु एक लाख ८९ हजार ७०० कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोही परिमाणको चाँदी आज रु एक हजार ९९० मा खरिदबिक्री भइरहेको छ ।
गत शुक्रबार एक तोला सुन रु एक लाख ८९ हजार ६०० मा कारोबार भएको थियो भने त्यति नै परिमाणको चाँदी रु दुई हजारमा किनबेच भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔंस सुन तीन हजार ३१८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
सोमबारदेखि गर्मी घट्ने, वर्षासँगै तापक्रममा उल्लेखनीय कमी आउने
काठमाडौं।देशका विभिन्न भागमा पछिल्ला केही दिनदेखि अत्यधिक गर्मी महसुस भइरहेको अवस्थामा सोमबारदेखि तापक्रम घट्ने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूका अनुसार आज अपराह्नदेखि देशका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेकाले गर्मी कम हुने अपेक्षा गरिएको हो।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार सोमबारदेखि क्रमिक रूपमा तापक्रममा कमी आउनेछ। "आज अपराह्नबाटै हल्का वर्षा सुरु हुने र भोलि सोमबार काठमाडौंसहित देशको पूर्वी भेगमा व्यापक वर्षाको सम्भावना रहेको छ," उनले बताए।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij