Logo

May 06 2025 | २०८२, वैशाख २४गते

May 06 2025 | २०८२, वैशाख २४गते

images

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २२ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

नयाँसडक बुलेटिन : यस्ता छन् वैशाख २२ सोमबार मुख्यमुख्य आर्थिक समाचारहरू ....

  •  

    काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २२ सोमबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...

    राष्ट्रिय वाणिज्य बैंकका सहायक प्रबन्धकविरुद्ध विशेष अदालतको फैसला बदर गराउन अख्तियारको सर्वोच्चमा पुनरावेदन

    काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैङ्क शाखा कार्यालय इनरुवा सुनसरीमा कार्यरत सहायक प्रबन्धक तारणीप्रसाद खतिवडाका हकमा विशेष अदालतले गरेको फैसला विरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

     

     

    चपडाह निम्न माध्यमिक विद्यालयको नाममा रहेको खाताको रकम झिक्ने प्रयोजनका साथ खतिवडाले खातावालाको नाम परिवर्तन गरी लेटर प्याड तथा छाप दस्तखत गरी किर्ते दस्तखत गरी रु पाँच लाख ६० हजार रकम हिनामिना गरेको आयोगको दावी थियो ।

     

    सो मुद्दामा विशेष अदालतले यही २०८१ वैशाख २४ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो । उक्त फैसला कानुन सम्मत् नभएको दाबी गर्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो ।

    वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ट्रेड टावरको आईपीओमा ३.२५ गुणा बढी आवेदन

    काठमाडौं । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरेको प्राथमिक सेयर (आईपीओ) मा १२ करोड ९२ लाख ३८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार (वैशाख २२ गते) साँझ ५ः०५ बजेसम्म ५८ हजार २७८ आवेदकले कुल १२ लाख ९२ हजार ३८० कित्ताका लागि आवेदन दिएका छन्। यो कम्पनीले निष्कासन गरेको सेयर संख्याको करिब ३।२५ गुणा बढी हो।

    ट्रेड टावर लिमिटेडले वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ लाख ९७ हजार १६९.३० कित्ता सेयर बिक्रीमा ल्याएको थियो, जसको कुल मूल्य ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँ बराबर पर्छ।

    आरएसडीसी लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सका बोनस सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार दुई कम्पनीका बोनस सेयर सूचीकृत भएका छन्। आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले अघिल्लो आर्थिक वर्षको नाफाबाट वितरण गरेको ९.५० प्रतिशत बोनस सेयर सूचीकृत गरिएको हो, जसअनुसार कम्पनीका ८ लाख ९७ हजार १३३.५२ कित्ता सेयर नेप्सेमा सूचीकृत भएका छन्।

     नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको पनि ८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गरिएको छ। कम्पनीको कुल २ लाख ८७ हजार ५५३.०८ कित्ता बोनस सेयर सोमबार सूचीकृत भएको हो।

    धौलागिरी लघुवित्त : ५२ लाख रुपैयाँ नाफा, अघिल्लो वर्षको ४.९३ करोड घाटाबाट उल्लेखनीय सुधार

    काठमाडौँ ।  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धौलागिरी लघुवित्त वित्तीय संस्थाले ५२ लाख ५६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको यही अवधिमा कम्पनी ४ करोड ९३ लाख रुपैयाँको घाटामा थियो।

     

    नाफा वृद्धिको प्रमुख कारण खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा आएको उल्लेखनीय सुधार हो। यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १४७.११ प्रतिशतले बढेर ९ करोड ७० लाख रुपैयाँ पुगेको छ।

    गत वर्ष ४.९३ करोडको सञ्चालन घाटामा रहेको कम्पनीले यस त्रैमासमा ५२ लाख ५६ हजार रुपैयाँ सञ्चालन नाफा कमाउन सफल भएको छ।

    शेयर बजार : नेप्से परिसूचकमा ९.६२ अंकले घटेर २६१०.७६ बिन्दुमा, ७ अर्ब ६३ करोडभन्दा बढीको कारोबार

    काठमाडौँ । आज नेप्से परिसूचकमा ९.६२ अंकले घटेर २६१०.७६ बिन्दुमा आएको छ ।  आज ७ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।४ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् भने एउटा कम्पनी नकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।यस दिन ३ सय १९ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७६ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा राधी विद्युत कम्पनी अग्रस्थानमा छ । आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र सानिमा माई हाइड्रोपावर परेका छन् ।

    अपर स्याङ्गे हाइड्रोपावरको घाटा बढ्दै १.६३ करोड पुग्यो, आम्दानी घट्दा दबाव

    काठमाडौं । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म आइपुग्दा १ करोड ६२ लाख ९८ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीको घाटा ३४ लाख १७ हजार रुपैयाँ मात्र थियो। घाटामा आएको तीव्र वृद्धिको मुख्य कारण विद्युत् बिक्री आम्दानीमा आएको गिरावट हो।

     

    कम्पनीको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी अघिल्लो वर्षको ५ करोड ६ लाख रुपैयाँ बाट घटेर ३ करोड ९८ लाख रुपैयाँ मा झरेको छ। यद्यपि, वित्तीय खर्च भने घट्दै ४ करोड ९१ लाख रुपैयाँबाट २ करोड ६२ लाख रुपैयाँमा सीमित भएको छ, जसले घाटालाई केही हदसम्म सन्तुलनमा राखेको देखिन्छ।

    गणपति लघुवित्तको नाफामा १७१% वृद्धि, प्रतिसेयर आम्दानी  २० रुपैयाँ नाघ्यो

    काठमाडौं  । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा उल्लेखनीय वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले यो अवधिमा २ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ८५ लाख ७९ हजार रुपैयाँको तुलनामा १७१.७१ प्रतिशतले बढी हो। नाफामा आएको यो तीव्र वृद्धिको मुख्य कारण खुद ब्याज आम्दानी र सञ्चालन नाफामा देखिएको ठूलो उछाल हो। एक वर्षको अवधिमा खुद ब्याज आम्दानी ५४.१८ प्रतिशतले बढेर १२ करोड १ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा १७१.७३ प्रतिशतले उकालो लाग्दै ३ करोड ३३ लाख रुपैयाँमा पुगेको छ। कम्पनीको वित्तीय प्रदर्शन सुदृढ भएसँगै प्रतिसेयर आम्दानी  पनि उल्लेखनीय रूपमा १२ रुपैयाँ ९६ पैसाले बढेर २० रुपैयाँ ५१ पैसा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ८० पैसामा पुगेको छ भने चैत मसान्तसम्म चुक्ता पुँजी १५ करोड १५ लाख रुपैयाँ रहेको छ। यी सूचकहरूले गणपति लघुवित्तको लाभप्रदता र वित्तीय स्थायित्वमा मजबुती आएको स्पष्ट संकेत गर्छन्।

    लक्ष्मी लघुवित्तको नाफा १३% बढ्यो, ब्याज आम्दानीले नाफामा योगदान

    काठमाडौं  ।लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमाससम्म ५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको ४ करोड ४४ लाख रुपैयाँको तुलनामा १३.०७ प्रतिशतको वृद्धि हो।

     

    संस्थाको खुद ब्याज आम्दानी २७ करोड ७९ लाख रुपैयाँबाट बढेर ३२ करोड ३४ लाख रुपैयाँ पुगेको छ। यस आम्दानी वृद्धिले नाफा वृद्धि गर्न सहयोग पुगेको हो।

    संस्थाले जोखिम व्यवस्थापनअन्तर्गत १ करोड ५८ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जसले नाफा केही हदसम्म घटाए पनि, दीर्घकालीन स्थायित्वमा सहयोग पुर्‍याउने अपेक्षा गर्न सकिन्छ।

    आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३५ रूपैयाँ ०४ पैसा र बिक्रीदर १३५ रूपैयाँ ६४ पैसा कायम भएको छ ।

     

     

    त्यसैगरी युरोपियन युरो एकको खरिददर १५२ रूपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रूपैयाँ २२ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७९ रूपैयाँ २३ पैसा र बिक्रीदर १८० रूपैयाँ ०३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रूपैयाँ ३४ पैसा र बिक्रीदर १६४ रूपैयाँ ०६ पैसा कायम गरिएको छ ।

     

    अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ०२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १०४ रूपैयाँ ५३ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

    कीर्तिपुर क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइबारे प्रधानमन्त्रीको गम्भीर चासो

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित क्रिकेट रङ्गशाला निर्माणमा भइरहेको ढिलाइबारे गम्भीर चासो राख्नुभएको छ । रङ्गशाला अन्तरराष्ट्रियस्तरको प्यारापिट र फ्लडलाइट जडानकार्य तोकिएको समयमा सम्पन्न हुन नसकेको विषयमा आज सम्बन्धित निकायका अधिकारी र निर्माण व्यवसायीलाई डाकेर उहाँले छलफल गर्नुभयो ।  

     

     

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले काम सुरु भए पनि तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने स्थितिप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । छलफलमा सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माणकार्यको कार्यान्वयन निकाय सङ्घीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कण्ठसहित सङ्लग्न निर्माण व्यवसायी सहभागी हुनुहुन्थ्यो ।

    ‘पुरानै शैलीको नीति तथा कार्यक्रमले अहिलेका समस्या समाधान गर्न सक्दैन’

    काठमाडौँ । संसद्मा प्रस्तुत भएको सरकारको वार्षिक नीति तथा कार्यक्रमप्रति प्रतिपक्ष दलका सांसदहरूले गम्भीर आलोचना गरेका छन् । कार्यक्रम पुरानै शैलीको र व्यवहारमा कार्यान्वयन गर्न नसकिने खालको भएको सांसदहरूको टिप्पणी छ ।  

     

    विगतका राम्रा कार्यक्रमलाई निरन्तरता नदिएको, पूर्वाग्राही ढङ्गले नीति ल्याइएको र संविधानले निर्देश गरेको समाजवादोन्मुख अर्थतन्त्र तथा तीनखम्बे अर्थनीतिलाई उपेक्षा गरिएकोलगायत विषयमा सांसदहरूले आलोचना गरेका हुन् ।

    यस्तै, प्राकृतिक स्रोतको प्रभावकारी उपयोग, 
    सम्पत्ति शुद्धीकरण मामिलामा वित्तीय कारबाही कार्यदल ९एफएटिएफ० को हालको सूचीबाट बाहिरिन आवश्यक रणनीति, समावेशिता तथा सुशासनको पक्ष कमजोर रहेको सांसदहरूको धारणा छ । सार्वजनिक संस्थानहरूको सुधार र ठूला जलविद्युत् आयोजना कार्यक्रमबाट बाहिरिएको, पूर्वाधार निर्माणमा समन्वयको अभाव रहेको र सहकारी जस्तो संवेदनशील क्षेत्रमा ठोस योजना नआएको प्रतिपक्ष सांसदहरूको आरोप छ ।

    चालु आवको ९ महिनामा निर्जीवन र लघुबीमा कम्पनीद्वारा पैने ३३ अर्ब बढी बीमा शुल्क संकलन

    काठमाडौँ । चालु आवको ९ महिनामा निर्जीवन बीमा कम्पनी तथा लघुबीमा कम्पनीद्वारा पौने ३३ अर्ब बढीको बीमा शुल्क संकलन गरिएको छ ।नेपाल बीमा प्राधिकरणका अनुसार  चैत महिनासम्म निर्जीवन बीमा कम्पनी तथा लघुबीमा कम्पनीले ३२ अर्ब ८१ करोडको बीमा शुल्क संकलन गरेको देखिएको हो ।  सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी तथा चार लघु निर्जीवन बीमा कम्पनी कम्पनीले यो अवधिमा २४ लाख १२ हजार वटा बीमालेख बिक्री गरी उक्त बीमा शुल्क संकलन गरेका छन् ।

     

    ती मध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमाशुल्क संकलन गरेको छ । शिखरले ४ अर्ब ३४ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १० करोड, हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क उठाएको देखिएको छ ।

    एक महिनामा दुई लाख ५० हजारभन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता

    काबुल । अप्रिलमा दुईलाख ५० हजार भन्दा बढी अफगान शरणार्थीहरू छिमेकी देश पाकिस्तान र इरानबाट स्वदेश फर्केको शरणार्थीका लागि राष्ट्र सङ्घीय उच्च आयुक्त (यूएनएचसीआर) जनाएको छ ।  

     

    स्वदेश फिर्ता हुनेहरूमध्ये अधिकांश महिला तथा बालबालिका रहेका जनाइएको छ । शरणार्थी समयमा उनीहरू शिक्षा, आवागमनको स्वतन्त्रतालगायतका प्रतिबन्धका विचमा अनिश्चित भविष्यको सामना गरिरहेका छन् । उनीहरूले स्वऐच्छिक रुपमा सुरक्षित र सम्मानजनक फिर्ता हुन पाउनुपर्ने युएनएचसीआरले  सामाजिक सञ्जाल एक्समार्फत जनाएको छ ।  

    करिब ७० लाख अफगान शरणार्थीमध्ये अधिकांश कागजातविहीन आप्रवासीहरू  हाल विदेशमा बसिरहेका छन् अधिकांश इरान र पाकिस्तानमा छन् ।

    स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैनः मन्त्री पौडेल

    चितवन। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले बिमा कार्यक्रम रोक्ने अस्पतालको दर्ता नवीकरण नहुने बताउनुभयो । सरकारी अस्पतालले बिमाको दाबी भुक्तानी नभएको उल्लेख गर्दै कार्यक्रम रोकिन सक्ने बताइरहेका छन् । सोही प्रसंगमा मन्त्री पौडेलले भन्नुभयो, “बिमा कार्यक्रम रोक्ने अधिकार सरकारी अस्पताललाई छैन । कसैले बिमा कार्यक्रम रोकेको भए दर्ता नवीकरण हुँदैन ।” उहाँले कार्यक्रम वापतको दाबी भुक्तानी बिमा बोर्डले छिट्टै फरफारक गर्ने जानकारी समेत दिनुभयो । उहाँले थप्नुभयो, “हिजो मात्र रु चार अर्ब भुक्तानी भइसकेको छ, बाँकी रकम चालु आर्थिक वर्षभित्र पठाउने तयारीमा लागेका छौँ ।” सरकारले बिमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उहाँले विभिन्न सङ्घसंस्थामार्फत सरकारले दिएका स्वास्थ्य बिमाका सुविधालाई एकीकृत प्रणालीमा ल्याउन आवश्यक रहेको बताउनुभयो ।

    मेक्सिकोमा अमेरिकी सैनिक पठाउने ट्रम्पको प्रस्ताव

    वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार लागुऔषध तस्करी विरुद्ध लड्न मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामसँग फोनमा अमेरिकी सेना पठाउने प्रस्ताव राखेको पुष्टि गर्नुभएको छ ।

     

     

    सेनबामले शनिबार एक सार्वजनिक कार्यक्रममा उहाँले आफ्नो देशमा अमेरिकी सेना पठाउने ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको तर यसको सट्टा उहाँले नजिकको सहयोग र सूचना साझेदारीको प्रस्ताव गरेको खुलासा गर्नुभएको थियो ।

     

    ट्रम्पले आइतबार पत्रकारहरूलाई कार्टेलहरू ‘डरलाग्दा मानिसहरू हुन् जसले दायाँ बायाँ मानिसहरूलाई मारिरहेका छन्’ भन्ने दाबी गर्दै आफूले सैनिक तैनाथीको प्रस्ताव गरेको ‘सत्य हो’ भन्नुभयो ।

    सुनको भाउ प्रतितोला ५०० रुपैयाँले बढ्यो, चाँदी स्थिर

    काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ ५०० रुपैयाँले बढेर प्रतितोला १ लाख ८४ हजार ६०० रुपैयाँ पुगेको छ। आइतबार यसै सुनको मूल्य १ लाख ८४ हजार १०० रुपैयाँ थियो। पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको उतारचढावसँगै नेपाली बजारमा पनि सुनको मूल्य परिवर्तन भइरहेकै छ।

     

     चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार पनि चाँदीको भाउ प्रतितोला १ हजार ९१० रुपैयाँमै कायम रहेको छ, जुन आइतबारको मूल्यसँग समान हो।

    स्रोत नखुलेको ९५ लाख १७ हजार पाँचसय सहित चार जना पक्राउ

     

    काठमाडौँ ।  प्रहरीले स्रोत नखुलेको रु ९५ लाख १७ हजार पाँच सयसहित चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ तार्केश्वर नगरपालिका–३ फेदीका २९ वर्षीय समुद्र जमकट्टेल, सप्तरी, सप्तकोशी नगरपालिका–१ का ४३ वर्षीय गणेश राई, लमजुङ, दोर्दी गाउँपालिका–३ का ३१ वर्षीय सन्तोष गुरुङ तथा सोही ठाउँका ३९ वर्षीय सन्तोष घिमिरे रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

    मधेश प्रदेशमा मंगलबार सार्वजानिक विदा

    महेन्द्रनगर (धनुषा) ।मधेश प्रदेश सरकारले सार्वजानिक विदा थप गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले गत चैत २२ गते आफ्नो राजपत्रमा प्रकाशित विदामा थप गरेको हो ।

     

    गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकद्वारा यही वैशाख २१ गते जारी सूचनाका अनुसार यही वैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र आगामी जेठ २८ गते बुधवार कविर दास जयन्तीका दिन प्रदेशमा विदा दिने निर्णय भएको उल्लेख गरिएको छ ।

    चौतारा र घैँटोमा पानी राख्ने चलन हराउँदै

    लमजुङ ।यहाँका पहाडी गाउँगाउँमा केही वर्षअघिसम्म बाटैभरी पाटी पौवा र धर्मशाला भेटिन्थे । स्वर्गीय आफन्तका स्मृतिमा बटुवाले थकाइ मार्ने देउराली डाँडा, रुखका छहारीमा पौवा र धर्मशाला बनाउने चलन थियो । यसरी चौतारा निर्माण गर्दा, विशेष गरी चैत वैशाखमा घँैटोमा खुदोपानी तथा पानी राख्दा धर्म हुने विश्वास थियो । 

     

    तर अब ती इतिहास भइसके । कहीँकतै भग्नावशेष मात्रै देख्न पाइन्छन् । पछिल्लो समय त्यस्ता संरचना निर्माण हुनै छाडे । निर्माण भएकासमेत संरक्षण नगर्दा भत्किएर लोप भएका छन् । सडक विस्तारसँगै ऐतिहासिक महत्वका पाटी, पौवा तथा धर्मशाला लोप भएका हुन् । 

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij