
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज वैशाख २३ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
धितोपत्र बोर्डद्वारा अध्यक्षमाथिको आरोपको खण्डन: 'आधारहीन र नियोजित प्रचारप्रसार'
काठमाडौं । नेपाल धितोपत्र बोर्डले अध्यक्ष सन्तोषनारायण श्रेष्ठविरुद्ध आएको हाइड्रोपावरको आईपीओ अनुमतिमा कमिसन मागेको आरोपलाई कडा रूपमा खारेज गरेको छ। बोर्डले उक्त आरोपलाई 'तथ्यहीन, आधारविहीन, कपोकल्पित र नियोजित प्रचार' को संज्ञा दिँदै नियामक संस्थाको छविलाई धूमिल पार्ने नियोजित प्रयास भएको दाबी गरेको हो।
बोर्डका अनुसार पूँजी बजारमा सुधार देखिएसँगै केही स्वार्थ समूहहरू आत्तिएर नियामकलाई बदनाम गर्न प्रायोजित सामग्रीहरू सार्वजनिक गरिरहेका छन्। साथै, कसैले अध्यक्ष श्रेष्ठको नाम लिएर गैरकानुनी लाभ लिएको प्रमाण भएमा 'तथ्यगत विवरण उपलब्ध गराउन' बोर्डले सबैलाई आग्रह गरेको छ।
राजस्व सङ्कलन कमजोर भएपछि प्रदेश र स्थानीय तहको अनुदान कटौती
काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा राजस्व सङ्कलन वार्षिक लक्ष्यको तुलनामा निकै कमजोर देखिएपछि सङ्घ सरकारले प्रदेश र स्थानीय तहमा जाने वित्तीय समानीकरण शीर्षकको अनुदान कटौती गरेको छ । यसअघि सङ्घ सरकारले यो शीर्षकमा प्रदेश र स्थानीय तहमा जाने तेस्रो किस्तावापतको अनुदान पनि कटौती गरेको थियो ।
अर्थ मन्त्रालयले यही वैशाख १६ गते महालेखा नियन्त्रक कार्यालयलाई पत्र लेख्दै चौथो किस्ताबापतको वित्तीय समानीकरण अनुदान कटौती गर्न भनेको हो । अर्थ मन्त्रालयको सो निर्देशन पछि महालेखा नियन्त्रक कार्यालयले गत आइतबार देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई परिपत्र गर्दै वित्तीय समानीकरण अनुदानको अन्तिम किस्ताबापतको २० दशमलव ६८ प्रतिशत हिस्सा मात्रै पठाउन भनेको हो ।
बिल गेट्स र विनोद चौधरीबीच भेट : नेपालको स्वास्थ्य र रोजगारी क्षेत्रमा सहकार्यको सम्भावना छलफल
काठमाडौँ । सिङ्गापुरमा आयोजित फिलान्थ्रपी एसिया एलायन्स–२०२५ (PAA–2025) सम्मेलनको अवसरमा चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरीले माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्ससँग भेट गरेका छन्। उक्त साइडलाइन मिटिङमा नेपालका स्वास्थ्य सेवा र रोजगारी क्षेत्रसँग सम्बन्धित मुख्य चुनौतीहरूबारे गम्भीर छलफल भएको हो।
भेटवार्ताका क्रममा चौधरीले २०७२ सालको भूकम्पदेखि कोभिड–१९ महामारीसम्म तथा बालपोषणको क्षेत्रमा “बलियो नेपाल” अभियानमार्फत गेट्स फाउन्डेसनसँग भएको सहकार्यको चर्चा गर्दै आभार प्रकट गरे। उनले गेट्स फाउन्डेसनसँगको सामाजिक सहकार्यलाई अझ व्यापक बनाउने विषयमा पनि छलफल भएको जानकारी दिएका छन्।
बुद्धभूमि नेपाल हाइड्रोपावरको तेस्रो त्रैमासिक रिपोर्ट सार्वजनिक , खुद नाफामा ४४.९०% ले गिरावट
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म बुद्धभूमि नेपाल हाइड्रोपावरले ५ लाख ६२ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको समान अवधिको १० लाख २० हजार रुपैयाँ नाफाको तुलनामा ४४.९०% ले कम हो।
कम्पनीको विद्युत् बिक्रीबाट प्राप्त आम्दानी गत वर्षको १२ करोड ७९ लाख रुपैयाँ बाट घटेर यस त्रैमासमा १२ करोड २५ लाख रुपैयाँमा झरेको छ।
कम्पनीको प्रशासनिक खर्चमा केही सुधार देखिएको छ। अघिल्लो वर्ष १ करोड ७१ लाख रुपैयाँ खर्च भएकोमा यस त्रैमासमा खर्च घटेर १ करोड ५१ लाख रुपैयाँमा सीमित भएको छ।
आज नेप्से परिसूचकमा ४.२६ अंकको वृद्धि , नेप्से २६१४.६७ बिन्दुमा , कारोबार ८ अर्ब ७४ करोड बढी
काठमाडौँ । आज नेप्से परिसूचकमा ४.२६ अंकले वृद्धि भई २६१४.६७ बिन्दुमा उक्लिएको छ । आज ८ अर्ब ७४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ यस दिन ३ सय १८ कम्पनीको २ करोड ५ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ ।
हिजो नेप्से परिसूचकमा ९.६२ अंकले घटेर २६१०.७६ बिन्दुमा झरेको थियो । हिजो ७ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो ।हिजो ३ सय १९ कम्पनीको १ करोड ८४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको थियो ।
सुपर मादी हाइड्रोपावरको नाफा २.७७% ले घट्यो, विद्युत बिक्री घट्दा असर
काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ८ करोड ७७ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २।७७ प्रतिशत कम हो। गत वर्ष यस अवधिमा कम्पनीले ९ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
कम्पनीको विद्युत बिक्री आम्दानीमा उल्लेख्य गिरावट आएको छ, जसले नाफामा नकारात्मक प्रभाव पारेको हो। बिक्री आम्दानी ९४ करोड ५५ लाख रुपैयाँबाट घटेर ७४ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ।
स्वरोजगार लघुवित्तको नाफामा उल्लेख्य वृद्धि: तेस्रो त्रैमासमा ११८.९६% ले नाफा बढ्दै १६ करोड रुपैयाँ
काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १६ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ११८.९६ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्ष यस अवधिमा कम्पनीले ७ करोड ३१ लाख रुपैयाँ नाफा कमाएको थियो।
नाफामा भएको उल्लेख्य वृद्धिको मुख्य कारण खुद ब्याज आम्दानीमा ६६।७० प्रतिशतको वृद्धि हो, जसले ४३ करोड ८६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, सञ्चालन नाफा २००।४० प्रतिशतले उकालो लाग्दै २१ करोड ११ लाख रुपैयाँ पुगेको छ।
हिमालयन रिइन्सुरेन्सको लाभांश घोषणा : ४.७५% लाभांश प्रस्ताव
काठमाडौं । हिमालयन रिइन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७९/८० को नाफाबाट ४।७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको वैशाख २२ गते बसेको सञ्चालक समितिको बैठकले ४.५० प्रतिशत बोनस सेयर र ०.२४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको हो।
उक्त लाभांश बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्रै वितरण हुनेछ। अघिल्लो वर्ष कम्पनीले ४.२१ प्रतिशत लाभांश दिएको थियो।
स्थानीयको शेयर माग र जलविद्युत् आईपीओ अवरोध : अनुमति नपाएर निर्माणमै असर
काठमाडौं । हाल निर्माणाधीन जलविद्युत् आयोजनाले प्रभावित क्षेत्रमा स्थानीय बासिन्दालाई शेयर नदिएको गुनासो लिएर काठमाडौं आएका प्रतिनिधिमण्डलले ऊर्जा मन्त्रीसँग भेट गरी आफ्नो माग राखेका छन्। उनीहरूका अनुसार, आयोजना सञ्चालन भईरहेका जिल्लामा स्थानीयलाई प्राथमिक शेयर नदिइएको छ, जसप्रति ती क्षेत्रका बासिन्दाहरू गम्भीर असन्तुष्ट छन्।
ऊर्जा मन्त्रालयमा छुट्टाछुट्टै समूहमा पुगेका स्थानीय बासिन्दाले मन्त्रीसँग केही समयको भेट पाएका थिए। उक्त भेटमा उनीहरूले स्पष्ट रूपमा उल्लेख गरे कि निर्माणाधीन आयोजनाले उनीहरूलाई कम्पनीको शेयर दिन अस्वीकार गरेको छ। ऊर्जा मन्त्रीले उनीहरूलाई "तपाईंहरूले पाउनु पर्ने शेयर पाउनुहुनेछ" भनी आश्वस्त बनाएपछि उनीहरू आफ्ना जिल्लामा फर्किएका थिए।
सरकारलाई समाजको वास्तविकता देखाउन खोजी पत्रकारिता जरुरी छ : मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारलाई समाजको वास्तविकता देखाउनका लागि सशक्त खोजी पत्ररिताको आवश्यकपर्ने बताउनुभएको छ ।
राष्ट्रिय सूचना आयोगको सहकार्य र नेपाल पत्रकार महासङ्घद्वारा आज यहाँ आयोजित ‘विश्वसनीय पत्रकारिताका लागि सूचनाको हकको प्रयोग’ विषयक अन्तर्क्रियामा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गरुङले सरकारको ध्यान केन्द्रीत गराउने खालका खोजमूलक पत्रकारिता अहिलेको आवश्यकता भएको तर्क गर्नुभयो ।
खानेपानी मन्त्रालय र कर्णाली प्रदेश जलस्रोत मन्त्रालयबीच सम्झौता
काठमाडौँ । नेपाल सरकार, खानेपानी मन्त्रालय र कर्णाली प्रदेश, जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयबीच खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजनाअन्तर्गत लागत सहभागितासम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज यहाँ आयोजित कार्यक्रममा खानेपानी मन्त्रालयका सहसचिव ई रमाकान्त दुवाडी र ऊर्जा विकास मन्त्रालयका तर्फबाट प्रदेश सचिव इन्द्रदेव भट्टले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा खानेपानीमन्त्री प्रदीप यादवले यस सम्झौतामार्फत सङ्घीय र प्रदेश सरकारबीच आपसी समन्वय, पारदर्शिता, उत्तरदायित्व र सेवा प्रवाहमा प्रभावकारिता सुनिश्चित गरिने बताउनुभयो । उहाँले कर्णाली प्रदेशभित्र खानेपानी क्षेत्रको सुशासन प्रवर्द्धन तथा पूर्वाधार विकासका लागि लागत साझेदारीमा आधारित कार्यक्रमहरू सञ्चालन गर्ने साझा प्रतिबद्धता गरिएको बताउनुभयो ।
श्रम मन्त्रालयद्वारा डिजिटल सेवा प्रवाहमा तीव्रता: 'श्रम संसार' पोर्टलको स्तरोन्नति निर्देश
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले मन्त्रालयअन्तर्गतका डिजिटल प्रविधिलाई तत्कालै स्तरोन्नती गरी नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ ।
मन्त्रालयमा आज आयोजित छलफलमा उहाँले ‘श्रम संसार’ पोर्टलमा वैदेशिक रोजगार, सीप विकास, श्रम तथा रोजगार सम्बद्ध सेवालगायत श्रम तथा रोजगार सेवामा संलग्न सरोकारवालाको विवरणसमेत थप गरेर स्थानीय तहबाट सेवा प्रवाह गर्न निर्देशन दिनुभयो । अन्तरराष्ट्रिय श्रमिक दिवसदेखि यो पोर्टल सञ्चालनमा आएको हो ।
सूचना प्रविधिलाई एकीकृत र प्रभावकारी तवरले विकास एवं विस्तार गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउन केकसरी सकिन्छ भन्ने विषयमा भएको उक्त छलफलमा मन्त्री भण्डारीले मन्त्रालयले श्रम बजार सूचना प्रणालीको निर्माण कार्यमा ढिलाइ नगर्न निर्देशन दिनुभयो । उहाँले आन्तरिक रोजगार व्यवस्थापन महाशाखाले डिजिटलाइजेसन कार्यको नेतृत्व गर्न तथा फोकलपर्सन तथा मिति नै तोकेर काम गर्न निर्देशन दिनुभयो ।
क्यालिफोर्नियामा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु, सात बेपत्ता
लसएन्जलस ।क्यालिफोर्नियाको तटमा डुङ्गा दुर्घटना हुँदा तीन जनाको मृत्यु हुनुका साथै सात जना बेपत्ता भएको अधिकारीहरूले सोमबार बताएका छन् ।
अमेरिकी तटरक्षक बललाई सान डिएगोको उत्तरमा डेल मार नजिकै डुङ्गा दुर्घटना भएको सुचना प्राप्त भएको प्रवक्ता हन्टर श्नाबेलले बताउनुभयो । उहाँले घटनास्थलमा एउटा डुङ्गा र हेलिकप्टर पठाई चार जनालाई उद्धार गरी अस्पताल लगिएको र तीन जना मृत फेला परेको जानकारी दिनुभयो ।
स्टार्टअप कर्जा पाउन योग्य यस्ता छन् सिफारिसमा परेका ६६१ जना
काठमाडौँ । चालु आर्थिक वर्षमा तीन प्रतिशत ब्याजदरमा स्टार्टअप कर्जा पाउन ६६१ जनालाई सिफारिस गरिएको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले ६६१ उद्यमीलाई स्टार्टअप कर्जाका लागि सिफारिस गरेको हो।कर्जाका लागि सिफारिस भएका उद्यमीहरूले आगामी ४५ दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क नगरे परियोजना प्रस्ताव र सिफारिस रकम स्वतः रद्द हुने प्रतिष्ठानले जनाएको छ। उद्यमीहरूलाई कुन बैंकको कुन शाखाबाट कर्जा प्राप्त हुने जानकारी आगामी बिहीबारसम्म जानकारी गराइने छ ।
चालु आर्थिक वर्षको बजेटमा स्टार्टअप कर्जा प्रवाहका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको थियो। विनियोजित बजेटबाट ३ प्रतिशतसम्म प्रतिष्ठानको प्रशासनिक खर्च, कर्जा सुरक्षा (बिमा) का लागि २५ प्रतिशत निक्षेप तथा कर्जा सुरक्षा कोषमा र बाँकी रकम उद्यमीहरूलाई प्रवाह गरिने जनाइएको छ ।
एलन मस्कको स्टारलिंकको इन्टरनेट सेवा नेपालमा अवैध प्रयोग हुँदै
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अमेरिकी अर्बपति तथा मन्त्री एलन मस्कको कम्पनी स्टारलिंकले नेपालमा अवैधरूपमा इन्टरनेट उपलब्ध गराइरहेको जनाएको छ ।हिमाल आरोहण गराउने कम्पनीहरुले अग्ला हिमालहरुको आधार शिविरमा धनाढ्य इलन मस्कको स्टारलिंक इन्टरनेट अवैधरुपमा सञ्चालन गरेको भन्दै प्राधिकरणले त्यस्तो नगर्न चेनावनी दिएको हो ।
प्राधिकरणको अनुगमन महाशाखाले अग्ला हिमालहरुको बेस क्याम्पमा हिमाल आरोहण सञ्चालन गर्ने कम्पनीहरुले अनधिकृतरुपमा विदेशी दूरसञ्चार सेवा प्रदायक कम्पनीको सेटलाइट इन्टरनेट सेवा उपलब्ध गराउने गरेको सूचना पाएको भन्दै त्यसलाई तत्काल रोक्न निर्देशन दिएको हो।
एनआरएनएको एकता महाधिवेशन सम्पन्न भएसँगै परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा एकता महाधिवेशन सार्ने पेस गरेको निवेदन फिर्ता
काठमाडौँ । डा शेष घलेको नेतृत्वमा गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन सम्पन्न भएसँगै परराष्ट्र मन्त्रालयले सर्वोच्च अदालतमा यसअघि पेस गरेको निवेदन फिर्ता लिएको छ ।
एकता महाधिवेशन सम्पन्न भइसकेको भन्दै मन्त्रालयले यसअघि आफैले सर्वोच्च अदालतमा पेस गरेको निर्देशनात्मक आदेश कार्यान्वयनको समयावधि थप गर्नेसम्बन्धी निवेदन फिर्ता लिएको हो ।
सचिव अमृत बहादुर राईद्वारा हस्ताक्षरित निवेदनमा अदालतको परमादेशअनुसार गठित उच्चस्तरीय समितिले गैरआवासीय नेपाली संघको महाधिवेशन र निर्वाचन सम्पन्न गरि नयाँ कार्य समिति चयन गरिसकेको वैशाख २२ गते मन्त्रालयमा प्राप्त भएको उल्लेख छ । परराष्ट्रले नयाँ कार्यसमितिलाई बैधानिकता पनि दिईसकेको छ ।
ट्रम्पको भन्सार नीति अमेरिकामा अभावको कारण बन्न सक्ने पूर्व उपराष्ट्रपति पेन्सको चेतावनी
वासिङ्टन । मेरिकाका पूर्व उपराष्ट्रपति माइक पेन्सले सोमबार ट्रम्प प्रशासनको भन्सार नीतिको आलोचना गर्दै सम्भावित अभावले अमेरिकीहरूलाई ह्वाइट हाउसबाट ‘फरक दृष्टिकोणको माग’ गर्न बाध्य पार्न सक्ने बताउनुभएको छ ।
सिएनएनसँगको प्राइमटाइम अन्तर्वार्तामा पेन्सले विभिन्न विषयहरूमा छलफल गर्नुभयो र सन् २०२१ जनवरी ६ मा अमेरिकी संसद् भवनमा आक्रमण गरेको आरोपमा अभियोजन गरिएका लगभग सबै दङ्गाकारीलाई माफी दिएकोमा आफ्ना पूर्व बोस ट्रम्पको आलोचना गर्नुभयो ।
सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढ्यो,१ लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा ५ हजार ३०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा सुनको मूल्य ह्वात्तै बढेको हो ।
आज मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै सोमबार तोलामा १ हजार ९१० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
काठमाडौँ ।नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ ।
यस्तै, युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १७९ रुपैयाँ १५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ९५ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६३ रुपैयाँ ४७ पैसा र बिक्रीदर १६४ रुपैयाँ २० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ २८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ६७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ८४ पैसा निर्धारण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij