Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

गौतम बुद्धको २५६९औं जन्मजयन्ती आज, नेपालसहित विश्वभर विशेष श्रद्धाका साथ मनाइँदै

गौतम बुद्धको २५६९औं जन्मजयन्ती आज, नेपालसहित विश्वभर विशेष श्रद्धाका साथ मनाइँदै

  • काठमाडौं।आजको दिन विश्वभर ‘शान्तिका अग्रदूत’का रूपमा चिनिने गौतम बुद्धको २५६९औं जन्मजयन्ती श्रद्धापूर्वक मनाइँदैछ। नेपालसहित एशिया तथा अन्य देशहरूमा यस दिनलाई विशेष धार्मिक, सांस्कृतिक र शान्तिको प्रतीकका रूपमा मनाउने गरिन्छ।

    हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण एकै दिन परेको सम्झनामा बुद्ध जयन्ती मनाइन्छ। ऐतिहासिक विवरणअनुसार, कपिलवस्तुस्थित तिलौराकोटमा राजा शुद्धोधन र रानी मायादेवीका सुपुत्रका रूपमा सिद्धार्थ गौतम जन्मिएका थिए। दरबारको वैभव छाडेर उनी ज्ञानको खोजीमा निस्किए र पछि बुद्ध बने।

    बुद्धको शिक्षाले अहिंसा, करुणा र समत्वको मार्ग देखाउँछ, जसले मानव समाजमा शान्ति स्थापनामा महत्वपूर्ण योगदान दिएको छ। यसै योगदानको सम्मानमा बुद्ध जयन्ती व्यापक रूपले मनाइन्छ। हिन्दू धर्ममा बुद्धलाई भगवान् विष्णुको नवौँ अवतारका रूपमा पनि मानिन्छ।

    सरकारले बुद्ध जयन्तीको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ। यस दिन बुद्ध मन्दिरहरूमा पूजा, ध्यान, धर्मदेशना तथा सत्कर्मका कार्यक्रमहरू आयोजना हुने गर्छन्। बुद्धका शिक्षाहरूलाई 'त्रिपिटक' ग्रन्थमा संग्रह गरिएको छ, जसमा उनका उपदेशहरू विस्तृत रूपमा उल्लेख छन्।

    गौतम बुद्धलाई ‘एसियाको तारा’ उपाधिले समेत सम्मान गरिन्छ। उनका अनुयायीहरू आज विश्वभर करोडौँ संख्यामा छन्। चीन, भारत, थाइल्यान्ड, श्रीलंका, जापान, कोरिया, लाओस, कम्बोडिया, भियतनाम, मलेसिया, सिंगापुर, इन्डोनेसियालगायत देशहरूमा बुद्ध जयन्ती विशेष उल्लाससाथ मनाइन्छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij