
काठमाडौँ । सर्वोच्च अदालतको अपहेलना हुने गरी प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनएका बद्री केसी समूहको कार्यक्रममा सरिक हुनु भएको देखिएको छ । केसी समूहद्वारा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो संस्थाको उद्देश्यसँग नमिल्ने प्रवृत्तिहरु देखा पर्नु उचित नहुनेमा जोड दिँदै संकीर्ण भावना त्यागेर उन्नतस्तरको एकतामा लाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले गैह्रआवसीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन आग्रह गर्नुभएको छ ।
सर्वोच्च अदालतको आदेश बमोजिम हालै निर्विरोध निर्वाचित एनआरएनएको वैधानिकतामा माथि प्रश्न खडा हुनेगरी प्रधानमन्त्री ओली केसी समूहलाई वैधानिक भनेको पर्यवेक्षकहरूको भनाइ रहेको छ । सर्वोच्च अदालतको आदेश बमोजिम पूर्व अध्यक्ष समेत रहेका शेष घलेको संयोजकत्वमा स्थापित समितिले हालै एकता महाधिवेशन गरी एक समिति गठन गरेको हो ।
पर्यवेक्षकहरूले प्रधानमन्त्री ओलीद्वारा सर्वोच्चको अपहेलना हुने देखिएको बताएका छन् । यसका परीक्षण त सर्वोच्चबाट हुने उनीहरूको भनाइ छ । सर्वोच्चको आदेश बमोजिम ओलीकै सरकारका परराष्ट्रमन्त्री सरिक भएको एकता महाधिवेशन वैध हुने कि प्रधानमन्त्री ओलीले केसीको कार्यकाल बाँकी रहेको मौखिक भनाइ वैध हुने प्रश्न खडा भएको पर्यवेक्षकहरूको भनाइ छ ।
“आपसमा मिलेर एकताबद्ध भएर जानुपर्ने ठाउँमा यस्तो साझा संस्थामा विवाद हुनुन उचित होइन । व्यक्तिका लागि विधान फेर्ने ढंगले संस्था चल्न सक्दैन । महाधिवेशनमा हानाहन र ठोकाठोकको स्थिति हुँदा राम्रो सन्देश जाँदैन । यसमा विवेक र तर्कले कम गरोस् । व्यक्तिगत स्वार्थका लागि जे पनि गर्ने थलोका रुपमा यो विकास नहोस् ।”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाली डायस्पोराका हकहितका साथै आपसी चिनजान, नेपाली संस्कृति परम्पराको निरन्तरता र देशका लागि के योगदान गर्न सकिन्छ भन्ने पवित्र उद्देश्यबाट तपाईँहरु विचलित हुन हुँदैन । यसमा दलीय राजनीति गर्नु हुँदैन र यसमा विभाजनको प्रयास सफल हुँदैन । विधिसम्मत कुरामा नेपाल सरकारको साथ रहनेछ ।”
उहाँले एनआरएनको वर्तमान अध्यक्ष डा बद्री केसीको वैधानिक कार्यकाल अझै कायम रहेकाले यसले लोकतान्त्रिक र विधिवत महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले गैह्रआवासीय नेपालीसँग सम्बन्धित कानुनमा गर्नुपर्ने संशोधनका लागि प्राप्त सुझावका आधारमा सरकारले काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij