Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन

करोडौँ खर्चेर बनाएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन

  • म्याग्दी। अन्नपूर्ण गाउँपालिका–१, दोबामा रु पाँच करोड बढी खर्चेर निर्माण भएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन छ । सङ्घीय सरकारको सबै स्थानीय तहमा आधारभूत तहको अस्पताल सञ्चालन गर्ने कार्यक्रमअनुसार अन्नपूर्ण गाउँपालिकाले दोबामा पाँच श्यया क्षमताको अस्पताल भवन निर्माण गरेको दुई वर्ष बितिसक्दा पनि प्रयोगविहीन भएको हो । आठ वटा वडा रहेको अन्नपूर्णका सबै वडाका बासिन्दालाई पायक नहुनु, जनशक्ति र उपकरणको अभाव तथा भवन रहेको ठाउँसम्म पुग्ने सडकको जीर्ण अवस्थाका कारण भवन प्रयोग र अस्पताल सञ्चालन हुन नसकेको अन्नपूर्ण–१ का वडाध्यक्ष दिलीप गर्बुजाले बताउनुभयो ।

    “सरकारी मापदण्डअनुसार अस्पतालका लागि आवश्यक पर्ने जग्गा अन्य वडामा नपाएपछि दोबामा अस्पताल बनाउने निर्णय भएको हो”, उहाँले भन्नुभयो, “भवन प्रयोगमा ल्याउन सबैभन्दा पहिले बेनी–जोमसोम सडकको भिरकाटेदेखि दोबासम्मको सडक स्तरोन्नतिका लागि सङ्घीय र प्रदेश सरकारसँग पहल गरेका छौँ ।” भवनमा आकस्मिक सेवा कक्ष, अन्तरङ्ग, बहिरङ्ग सेवा, प्रयोगशाला, औषधी भण्डार, उपचारका लागि छुट्टाछुट्टै कक्ष र स्वास्थ्यकर्मी निवाससहित ३५ वटा कोठा रहेको छ । भवन निर्माणका लागि रु पाँच करोड १२ लाख ६० हजारमा सम्झौता भएको थियो । अस्पतालका लागि आवश्यक पर्ने उपकरण, फर्निचर र भवन घेराबार गर्न धेरै रकम गर्नुपर्ने भएको छ । दोबाका बासिन्दाले अस्पताल निर्माण गर्न १२ रोपनी सात आना दुई दाम जग्गा निःशुल्क उपलब्ध गराएका थिए । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij