
काठमाडौँ । मधेश प्रदेशका एक जना पूर्वमन्त्रीसहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।सर्लाहीको बागमती नगरपालिकामा भएको भ्रष्टाचारमा मन्त्री ,मेयर तथा उपमेयरगरी ८ जना विरुद्ध मुद्दा दायर गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मधेस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिकाका तत्कालीन प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तानलगायत विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार त्यस्तै मुद्दामा उनीहरुसँगै निलम्बित प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेस प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका कानुन अधिकृत गोकुल भुजेल, इन्जिनियर निरन्जन लामिछाने, नगरपालिकाका इन्जिनियर सागर पौडेल र लेखा अधिकृत विश्वराज पोखरेललाई विपक्षी बनाइएको जनाइएको छ।
प्रतिवादीहरुले माछापोखरी (भरत ताल) निर्माणको नाममा वन क्षेत्र अतिक्रमण गरि पोखरीसँगै विभिन्न गैरकानुनी संरचनाहरु निर्माण गरी साबिक वन ऐन, २०४९ एवं प्रचलित वन ऐन, २०७६ बमोजिम कसुर गरेको आयोगको ठहर छ।अभियोगपत्रमा उनीहरुमाथि ५६ करोड ७१ लाख ७ हजार २९२ रुपैयाँ बिगो दाबी गरिएको छ। भरत तालका निर्माणकर्ता निलम्बित मेयर थापाविरुद्ध २०८० चैतमा नै भ्रष्टाचारको अर्को मुद्दा दायर भइसकेको छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij