Logo

May 24 2025 | २०८२, जेठ १०गते

May 24 2025 | २०८२, जेठ १०गते

images

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउने  मन्त्री पाण्डेको प्रतिबद्धता

नेपाललाई बौद्ध र आध्यात्मिक पर्यटनको विश्व केन्द्र बनाउने  मन्त्री पाण्डेको प्रतिबद्धता

  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रका रूपमा स्थापित गरिने बताएका छन् । नेपाल पर्यटन बोर्डको आयोजना र नेपाल एसोसिएसन फर टुर एन्ड ट्राभल्स (नाटा) को सहकार्यमा गरिएको ‘बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम)’को उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध सांस्कृतिक सम्पदाको केन्द्र बनाउँदै आध्यात्मिक पर्यटकलाई आकर्षित गर्न सरकार प्रतिबद्ध रहेको बताएका हुन् ।

    मन्त्री पाण्डेका अनुसार बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश विश्वभर फैलाउने समय आएको छ । लुम्बिनीलाई अन्तरराष्ट्रिय शान्ति सहरका रुपमा विकास गरिने उनले बताए । बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तरराष्ट्रिय शान्ति सहरका रुपमा विकास गर्न सरकार प्रतिबद्ध छ ।

    कपिलवस्तु, रामग्राम, देवदह, तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको उनको भनाइ थियो । मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवद्र्धनका लागि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेको बताए  । युनेस्को प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै उनले लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरिएको बताए । साथै तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको मन्त्री पाण्डेले उल्लेख गरे । मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरे ।  

    कार्यक्रममा कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरणमन्त्री षडानन्द मण्डलले प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताउनुभयो । बीआईटीएम–२०२५ को उद्घाटन समारोहमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले नेपाल पर्यटकीय गन्तव्य मात्र नभएर शान्तिको आध्यात्मिक यात्रास्थल भएको बताए । उनका अनुसार नेपाललाई बौद्ध पर्यटनको केन्द्रका रूपमा विश्वमा पुनःस्थापना गर्न यस प्रकारका अन्तरराष्ट्रिय कार्यक्रम निर्णायक साबित हुनेछन् । बुद्धको जन्मभूमि नेपाल अब विश्व आध्यात्मिक यात्रा र आत्मअन्वेषणको केन्द्र बन्ने दिशामा अग्रसर छ ।  नाट्टाका अध्यक्ष कुमारमणि थपलियाले अध्यात्मक पर्यटनमा मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरे  । नेपाल उद्योग, वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस किसिमका अन्तरराष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए । कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लार्केल लामाले नेपाल शान्तिको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको बताए । 

    कार्यक्रममा नाट्टाका वरिष्ठ उपाध्यक्ष जेसवन तुलाधर श्रेष्ठले सहभागीलाई धन्यवाद ज्ञापन गरे । त्यसैगरी, बिआईटीएमको उद्घाटन समारोहमा नाटाका पूर्वअध्यक्षहरू सिएन पाण्डे, अच्युत गुरागाईं र रमेश थापालाई मन्त्री पाण्डेले सम्मान गरेका थिए । कार्यक्रममा स्मारिका समेत विमोचनसमेत गरिएको थियो । तीनदिने मार्टमा भारत, चीन, बङ्गलादेश, श्रीलङ्का, थाइल्यान्ड, म्यान्मार, भुटानलगायतका मुलुकबाट एक सयभन्दा बढी पर्यटन व्यवसायीको सहभागिता रहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij