
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ १३ मंगलबार। यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
माई खोला हाइड्रोपावरले १००% हकप्रद सेयर बिक्री गर्न अनुमति माग्यो
काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आफ्ना शेयरधनीहरूलाई १स:१ अनुपातमा १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति मागेको छ। कम्पनीले ३९ लाख २१ हजार ५६८ कित्ता हकप्रद सेयर, प्रतिकित्ता रु १०० को दरले बिक्री गर्ने प्रस्ताव गर्दै नेपाल धितोपत्र बोर्ड ९सेबोन० मा अनुमति निवेदन दिएको छ।
हाल माई खोलाको चुक्ता पुँजी रु ३९ करोड २१ लाख ५६ हजार ८०० रहेको छ। हकप्रद सेयर बिक्रीपछि यसको चुक्ता पुँजी रु ७८ करोड ४३ लाख ३ हजार ६०० पुग्नेछ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री व्यवस्थापनको जिम्मा प्रभु क्यापिटल लिमिटेड ले लिएको छ।
ट्रेड टावर लिमिटेडको आईपीओ दोस्रो चरणमा प्रवेश, जेठ १४ देखि सर्वसाधारणका लागि खुला
काठमाडौं । ट्रेड टावर लिमिटेडले आगामी जेठ १४ गते (बुधवार) देखि दोस्रो चरणको प्रारम्भिक सार्वजनिक निष्कासन सर्वसाधारणका लागि खुला गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कुल आईपीओमध्ये १० प्रतिशत शेयर निष्कासन गरिसकेको छ भने अब बाँकी शेयर सर्वसाधारणमा निष्कासन गर्न लागिएको हो।ट्रेड टावरले आफ्नो रु ८१ करोड ५६ लाख ९ हजार ७०० जारी पूँजीको ४८.६९६ प्रतिशत बराबरको, अर्थात् ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा निष्कासन गर्दैछ।
पियोर इनर्जीको पहिलो दिनको शेयर कारोबारमा उत्साहजनक वृद्धि, मूल्य ९.९९% ले उकालो
काठमाडौं । पियोर इनर्जी लिमिटेडको शेयर कारोबार प्रारम्भ भएको पहिलो दिन नै कम्पनीको शेयरमूल्यमा उल्लेखनीय वृद्धि भएको छ। मङ्गलवारबाट दोस्रो बजारमा कारोबार थालिएको पियोर इनर्जीको शेयर नेप्सेले तोकेको अधिकतम मूल्य रु २८९.३० मा पहिलोपटक स्पेशल प्रि(ओपनिङ सेसनमा कारोबार भयो।
यस प्रारम्भिक मूल्यकै आधारमा नियमित कारोबार सेसनमा शेयर मूल्यमा ९.९९% को वृद्धि देखिएको हो। सोहीअनुसार, प्रतिकित्ता रु २८.९० ले बढेर कम्पनीको शेयरमूल्य पहिलो दिन अन्त्यमा रु ३१८.२० मा कायम भएको छ। पहिलो दिन जम्मा १२० कित्ता शेयर मात्रै किनबेच भएको जानकारी नेप्सेले दिएको छ।
आयोजना बैङ्क प्रभावहीन : कानुन मिचिँदै बजेट बाँडफाँड, राजनीतिक हस्तक्षेप प्रमुख बाधक
काठमाडौँ । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २६ (५)मा उल्लेख छ ‘राष्ट्रिय आयोजना बैङ्कमा समावेश नभएको आयोजनाका लागि बजेट विनियोजन गर्न पाइँदैन’ । तर, नियमावली आएको पाँच वर्ष पूरा हुँदा पनि आयोजना बैङ्क (प्रोजेक्ट बैङ्क) प्रभावकारी बन्न सकेको छैन । कानुन मिचेर प्रोजेक्ट बैङ्कमा हुने छेडखानी र बजेटमा अनुकूलता खोज्ने परिपाटी भने हरेक वर्ष दोहोरिइरहेको मात्र छैन नियति नै बनेको छ । निगरानी तथा नियमनकारी निकायहरूले पटक–पटक प्रश्न उठाएको मात्र नभई सुधारका लागि सुझाव दिँदा पनि कार्यान्वयनको गुञ्जायस छैन ।
शेयर बजार :नेप्से परिसूचकमा २.५३ अंकले बढेर २६७७.३० बिन्दुमा, ६ अर्ब ५२ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा २.५३ अंकले बढेर २६७७.३० आएको छ । आज ६ अर्ब ५२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।४ कम्पनीको भाउ १० प्रतिशतले बढेको छ । आज एक कम्पनीको भाउ पनि सर्किट लेभलमा बढेर कारोबार भएको छ ।
मंगलबार ३ सय १८ कम्पनीको १ करोड ४२ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ६३ करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा युनिभर्सल पावर कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी विद्युत र ङादी ग्रुप पावर परेका छन् ।
गरिमा समृद्धि योजना नोक्सानीबाट नाफामा : वैशाखमा आम्दानीमा उल्लेख्य वृद्धि
काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजना वैशाख महिनामा उल्लेखनीय आम्दानी गर्दै नोक्सानीबाट नाफामा फर्किएको छ। अघिल्लो महिना अर्थात् चैत मसान्तसम्म ७१ लाख ५१ हजार रुपैयाँ नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्ममा २ करोड ५४ लाख रुपैयाँभन्दा बढी नाफामा पुगेको हो।
आम्दानीमा आएको तीव्र वृद्धिले यो सुधार सम्भव भएको हो। चैतमा ९३ लाख ९४ हजार रुपैयाँ आम्दानी गरेको योजनाले वैशाखमा ४ करोड ५८ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएको छ। खर्च पनि बढेको देखिएको छ — चैतमा १ करोड ६५ लाख रुपैयाँभन्दा बढी खर्च गरेको योजनाको खर्च वैशाखमा २ करोड रुपैयाँ पार गरेको छ।
नबिल इन्भेष्टमेन्टका म्युचुअल फन्डको वैशाखमा न्याभ र नाफा घट्यो
काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फन्ड—नबिल ब्यालेन्स्ड फन्ड–२, नबिल ब्यालेन्स्ड फन्ड–३ र नबिल फ्लेक्सी क्याप फन्ड—को वैशाख महिनामा प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ० घटेको छ। अघिल्लो महिनाको तुलनामा यी तीनवटै फन्डको नाफा पनि घटेको देखिन्छ।
नबिल ब्यालेन्स्ड फन्ड–२ को न्याभ वैशाख मसान्तमा ५ पैसाले घटेर ११ रुपैयाँ ४५ पैसा पुगेको छ, जुन चैतमा ११ रुपैयाँ ५१ पैसा थियो। यस फन्डले वैशाखसम्म ९० करोड ६१ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ, जुन चैतमा ९४ करोड ४० लाख रुपैयाँ थियो। यद्यपि, बैंक मौज्दात बढेर १६ करोड ७६ लाख रुपैयाँ पुगेको छ, जुन चैतमा १३ करोड ३० लाख रुपैयाँ थियो। फन्डको नाफा पनि घटेर १५ करोड ८२ लाख रुपैयाँमा झरेको छ, जुन अघिल्लो महिनामा १६ करोड ५० लाख रुपैयाँ थियो।
प्रभु क्यापिटलका दुई म्युचुअल फन्डको न्याभ र नाफा दुबैमा वृद्धि
काठमाडौं ।प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फन्ड – प्रभु सेलेक्ट फन्ड र प्रभु स्मार्ट फन्ड – को प्रतिइकाई खुद सम्पत्ति मूल्य र नाफा वैशाख महिनामा अघिल्लो महिनाको तुलनामा वृद्धि भएको छ।
प्रभु सेलेक्ट फन्डको न्याभ वैशाख महिनामा ९ पैसाले बढेर १२ रुपैयाँ ३६ पैसामा पुगेको छ, जुन चैतमा १२ रुपैयाँ २७ पैसा थियो। फन्डको बैंक मौज्दात १ करोड ४६ लाख रुपैयाँबाट बढेर २ करोड २६ लाख रुपैयाँ पुगेको छ भने मुद्दति निक्षेपमा ४ करोड रुपैयाँ रहेको छ। फन्डले ५१ वटा सूचीकृत कम्पनीमा लगानी गर्दै २३ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो महिनाको २२ करोड ८ लाख रुपैयाँभन्दा बढी हो।
प्रभु स्मार्ट फन्डको न्याभ पनि ८ पैसाले बढेर १२ रुपैयाँ ४६ पैसामा पुगेको छ, जुन चैतमा १२ रुपैयाँ ३८ पैसा थियो। यो फन्डले ४४ वटा सूचीकृत कम्पनीमा लगानी गरेको छ र वैशाख मसान्तसम्म १७ करोड ८५ लाख रुपैयाँ नाफा कमाएको छ, जुन अघिल्लो महिनाको १७ करोड ७ लाख रुपैयाँभन्दा बढी हो। यस फन्डको बैंक मौज्दात २ करोड ३५ लाख रुपैयाँ कायम भएको छ।
सगरमाथा लुम्बिनी इन्सुरेन्सले ४ लाख ८२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा
काठमाडौं । सगरमाथा लुम्बिनी इन्सुरेन्स लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले इच्छुक संस्थापक सेयरधनीलाई आजदेखि ३५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। इच्छुक संस्थापकहरूले कम्पनीको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आवेदन दिँदै आफू कति सेयर खरिद गर्न चाहन्छन् भन्ने विवरण खुलाउनुपर्नेछ।
सान्भि इनर्जीको आइपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । सान्भि इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज मंगलबार अन्तिम दिन हो। लगानीकर्ताले कार्यालय समयभित्र सी–आस्वा सेवायुक्त बैंक तथा वित्तीय संस्था वा ‘मेरो सेयर’ प्लेटफर्ममार्फत आवेदन दिन सक्नेछन्। कम्पनीले जेठ ९ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल २४ लाख १५ हजार ३०० कित्ता सेयर निष्कासन गरेको हो।
सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार आइतबार (जेठ १२) बिहान १०:०७ बजेसम्म १५ लाख २३ हजार ९८९ जनाले १ करोड ८८ लाख ९० हजार ५९० कित्ताका लागि आवेदन दिइसकेका छन्, जुन निष्काशन गरिएको संख्याको तुलनामा उल्लेख्य माग हो।
कञ्चनपुरमा राजस्व सङ्कलन लक्ष्यभन्दा कम, आर्थिक मन्दी र सीमित कारोबार कारण
दोधारा चाँदनी । कञ्चनपुरमा लक्ष्यअनुसार राजस्व सङ्कलन हुनसकेको छैन । कोरोना महामारीपछि शिथिल बनेको अर्थतन्त्रलाई गतिशील बनाउन सरकारका तर्फबाट सुधारका प्रयास भए पनि लक्ष्यअनुसार राजस्व सङ्कलन हुननसकेको हो ।
कञ्चनपुर भन्सार कार्यालयले चालु आर्थिक वर्षमा रु ७४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य पाएकामा वैशाख मसान्तसम्म रु ४९ करोडमात्र सङ्कलन गरेकोे छ । सरकारले हरेक वर्ष लक्ष्य बढाउँदै लैजाने गरेकामा आर्थिक मन्दीले आयातनिर्यात घटेकाले लक्ष्यअनुसार राजस्व सङ्कलन हुन नसकेको भन्सार कार्यालयका प्रमुख राजनबाबु काफ्लेले बताउनुभयो ।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३५ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ४४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५४ रुपैयाँ ५९ पैसा र बिक्रीदर १५५ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ १९ पैसा र बिक्रीदर १८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९८ पैसा कायम गरिएको छ ।
लगानी बोर्ड बैठक: रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन
काठमाडौँ । लगानी बोर्डको ६३औँ बैठकले रासायनिक मल कारखाना स्थापनाको उपयुक्त विकल्प पेस गर्न कार्यदल गठन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कार्यदल गठन गरेको लगानी बोर्डको कार्यालयले जनाएको छ । “आजको बैठकले नेपालमा रासायनिक मल उत्पादन कारखाना सम्बन्धमा पेस भएको अन्तिम विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन जानकारीमा लिँदै उक्त प्रतिवेदनको समीक्षा तथा पुनरावलोकन गरी उपयुक्त विकल्प बोर्डमा सिफारिस गर्न एक कार्यदल गठन गर्ने निर्णय गरेको छ”, जारी प्रेस विज्ञप्तिमा भनिएको छ
प्रधानमन्त्रीबाट मनसुनजन्य विपद् जोखिम न्यूूनीकरण तयारी तथा मौसम पूर्वानुमान प्रणालीबारे जानकारी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आशन्न मनसुनको पूर्वानुमान र सम्भावित विपद् जोखिम न्यूनीकरणका विषयमा आज बबरमहलस्थित जल तथा मौसम विज्ञान विभाग पुगेर जानकारी लिनुभएको छ ।
यस वर्ष गत वर्षको भन्दा बढी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको अवस्थामा विभागको पूर्वानुमान÷सूचना प्रवाह र यसलाई थप प्रभावकारी बनाइ जनधनको क्षति कसरी रोक्न सकिन्छ भन्नेबारेमा उहाँले चासो लिनुभएको हो ।
विभागको अध्ययन र प्रस्तुति सुनेपछि प्रधानमन्त्री ओलीले पूर्वानुमान र सूचना प्रवाहलाई लक्षित क्षेत्रका जनताले बुझ्ने गरी सरल भाषामा प्रभावकारी रूपमा सम्प्रेषण गर्न निर्देशन दिनुुभयो । विभागका सबै स्टेशन चुस्तदुरुस्त अवस्थामा राख्न र अतिवृष्टि हुने खास क्षेत्रबारे स्थानीय तह, सुरक्षा निकाय र आमसञ्चारका माध्यमबाट समेत सुसूचित गरेर मानवीय र भौतिक क्षति हुन नदिनेतर्फ सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
हिमालको संरक्षण हाम्रो साझा कर्तव्य होः पर्यटनमन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हिमालको संरक्षण हामी सबैको साझा कर्तव्य भएको बताउनुभएको छ ।
यहाँ आज आयोजना भएको ‘अन्तरराष्ट्रिय एभरेस्ट समिटर्स समिट–२०२५’ को उद्घाटन गर्दै उहाँले हिमाली संस्कृतिको संरक्षण र भविष्यका पुस्ताका लागि हिमाल सुरक्षित राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
मन्त्री पाण्डेले भन्नुभयो, “हामी केवल संसारको शिखर चुम्नेहरूलाई बधाई दिन यहाँ आएका होइनौँ, उहाँहरूको साहस, समर्पण र दृढताप्रति सम्मान प्रकट गर्न पनि यहाँ छौँ ।” उहाँले शेर्पा समुदाय, पथप्रदर्शक, उद्धार टोली र हिमाली क्षेत्रमा निरन्तर खटिएर सेवा पु¥याउने सबैप्रति विशेष सम्मानसमेत व्यक्त गर्नुभयो ।
‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरमा 'वर्ल्डलिंक'
काठमाडौं, १३-०२-२०८२ – नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले चर्चित बालगायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स नेपाल’ सिजन २ को टाइटल स्पोन्सरको रूपमा सहकार्य गर्ने भएको छ। सिजनको सुरुवात आगामी असार १ गतेदेखि हरेक आइतबार र सोमबार बेलुका ८:३० बजे SPACE4K टेलिभिजन तथा DOKO युट्युब च्यानल मार्फत प्रसारण हुनेछ।
https://www.youtube.com/watch?v=LETGMmEFgjA
https://www.tiktok.com/@doko.reality
करिब तीन वर्षको अन्तरालपछि पुनः सुरु हुन लागेको शो यसपटक अझ भव्य र सङ्गीतमय शैलीमा प्रस्तुत हुनेछ भन्ने नोबडी प्रोडक्शनको दाबी छ। निर्णायक मण्डलमा दीप श्रेष्ठसहित नयाँ पुस्ताले मन पराएका सुबानी मोक्तान र स्वप्न सुमनजस्ता चर्चित गायकहरू रहनेछन्। साथै, दस जना ग्रान्ड जुरी सदस्यहरूले पनि प्रतिस्पर्धीहरूको मूल्याङ्कनमा साथ दिनेछन्। कार्यक्रमको सञ्चालन चर्चित
हास्यकलाकार सुमन काकीले गर्नेछन्।
इमामी लिमिटेडद्वारा नेपालमा ’नवरत्न बीट मसाज २०२५’ अभियान प्रारम्भ
काठमाडौँ । ७० दिने यस अभियानले उपभोक्तालाई प्रत्यक्ष संलग्न गराएर २ मिनेटमै टाउको दुखेको, शरीर दुखेको र तनावबाट शीतलताको राहत दिनेछ।भारतको अग्रणी पर्सनल केयर तथा आयुर्वेदिक वेल्नेस कम्पनी मध्येको एक इमामी लिमिटेडले आफ्नो उत्कृष्ट उत्पादन नवरत्न तेलको उपभोक्तालाई प्रत्यक्ष अनुभव प्रदान गराउने उद्देश्यले नेपालभरि एक महत्वाकांक्षी नयाँ अभियान – ’नवरत्न बीट मसाज २०२५’ को शुभारम्भ गरेको छ। अभियान जेष्ठ ११ बाट सुरु भएर साउन १७ सम्म नेपालको तराई क्षेत्रमा केन्द्रित भएर संचालन गरिने कम्पनीले जनाएको छ ।
काठमाडौं ।प्रहरीले १२ किलो भन्दा बढी चाँदीसहित बसका सहचालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बा. प्र.–०१–००३ ख ३७०१ नम्बरको बसका सहचालक बाराको कलैया घर भएका ३२ वर्षीय अनिश कुमार सिंह छन् । प्रहरी प्रभाग नागढुंगाको टोलीले उनलाई सोमबार राति पौने १० बजेतिर नागढुंगाबाट पक्राउ गरेको हो ।
वीरगञ्जबाट काठमाडौं आउँदै गरेको बसलाई जाँच गर्ने क्रममा १२ किलो १७६ ग्राम अवैध चाँदी बरामद भएको थियो । बरामद भएपछि प्रहरीले सहचालकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठटमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले जनाएका छन् ।बिल बिजक बिनाका चाँदीका गरगहना सहचालकले काठमाडौं ल्याएको खुलेको जनाइएको छ ।
काठमाडौँ ।राष्ट्रपति रामचन्द्र पौडेललाई उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८२/८३ को बजेटबारे जानकारी गराउनुभएको छ ।
संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते बजेट ल्याउँदै छ । सोही बजेटका बारेमा अर्थमन्त्री पौडेलले आज राष्ट्रपति भवन शीतल निवास पुगेर ब्रिफिङ गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । बजेट अघि आज अर्थमन्त्री पौडेलले संसद्मा आर्थिक सर्वेक्षण पेश गर्नुहुनेछ ।
सुनचाँदीको भाउ घट्यो : छापावाल सुनमा २०० र चाँदीमा १० रुपैयाँको गिरावट
काठमाडौं । नेपालमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर १ लाख ९० हजार ९०० रुपैयाँमा झरेको छ। अघिल्लो दिन सोमबार यो मूल्य १ लाख ९१ हजार १०० रुपैयाँमा थियो।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँमा कायम भएको छ। सोमबार चाँदीको मूल्य २ हजार ५ रुपैयाँ थियो।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij