
काठमाडौँ । राजस्व अनुसन्धान विभागद्वारा चोरी तस्करी नियन्त्रण गर्न भन्दै दर्जन बढी व्यापारिक फर्महरूमा छापा हानिएको छ । विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेको कार्यकाल सकिनै लाग्दा विभागले चोरी तस्करी नियन्त्रण गर्न भन्दै देशका विभिन्न ठाउँमा रहेका व्यापारिक फर्महरूमा छापा हान्ने, कागजपत्र नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएको हो ।
राजस्व अनुसन्धान विभागले पछिल्लो समय काठमाडौँ , वीरगञ्ज, सर्लाही, रामेछाप र सिन्धुलीलगायतका मुख्य व्यापारिक केन्द्रहरूमा रहेका व्यापारिक फर्महरूमा छापा हानेको छ ।विभागले केही फर्महरूको कागजपत्र नियन्त्रणमा लिएको छ भने केही फर्महरूमा सिल गरी अनुसन्धान गरिरहेको छ । राजस्व अनुसन्धान विभागको योजना शाखाका निर्देशक र विभागकै चार नम्बर शाखाका निर्देशकको कमाण्डमा राजस्व अनुसन्धान कार्यालय, पथलैयासमेतबाट खटिएको टोलीले रामेछाप,सिन्धुली र सर्लाहीका विभिन्न फर्महरूमा छापा मारेको छ ।
गत हप्ता गएको टोलीले रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेका गुप्ता वस्त्रालय, शुभलक्ष्मी सप्लायर्स तथा रेडिमेड हाउस, शुभलक्ष्मी सप्लायर्स र राहुल एण्ड राकेश सप्लायर्समा छापा मारेको हो । यसैगरी सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीगढीमा रहेका आलम वस्त्रालय, करण एण्ड अर्जुन सप्लायर्स र काव्या सप्लायर्सलगायतमा पनि छापा मारिएको छ । त्यसैगरी विभागले सर्लाही जिल्लाको हरिवन नगरपालिकमा रहेको न्यू दिपक वस्त्रालयलगायतमा समेत छापा मारेको विभाग स्रोतले जनाएको छ ।
विभाग स्रोतका अनुसार छापा हानिएका व्यापारिक फर्महरूको छानबिन तथा अनुसन्धान भइरहेको छ । यता विभागले काठमाडौँका विभिन्न फर्महरूमा छापा मारेको छ । छापा मारिएका फर्महरूको अनुसन्धान भइरहेको बताइन्छ । वैशाखको अन्तिम साता भक्तपुर प्रहरीले तराईका सीमावर्ती क्षेत्रहरूबाट तस्करी गरी ल्याइएको झण्डै असी लाख बराबरको कपडा तथा कपडाजन्य वस्तुहरू नियन्त्रणमा लिएपछि विभागले त्यसकै वरिपरि रहेर अनुसन्धान र छापा हान्ने काम गरिरहेको स्रोतले बताएको छ ।
तस्करीमा कुनै न कुनै रूपमा वीरगञ्ज पर्साका मदन रुन्चे , उनका पार्टनरहरू, दुर्गा ट्रान्सपोर्ट , काठमाडौँ र रक्सौलका कपडा व्यापारी विक्रम भनिने विक्रम र उनका पार्टनरहरू र अन्य विभिन्न ट्रान्सपोर्ट र क्यारिङहरू, मासाङगलीका विभिन्न फर्म, क्लियरिङ एजेन्टहरूसमेत जोडिने समाचार स्रोतले बताएको छ ।विभागले ठुला र योजनाबद्ध तस्करी गर्नेहरूलाई संरक्षण दिएको साना साना मान्छे र व्यापारिक फर्महरूलाई मात्र दुःख दिने गरेको पर्साका व्यापारी मोहम्मद अलि अन्सारीले बताए ।
सेटिङमै चलिरहेको छ तस्करी
कुनै न कुनै रूपमा सेटिङमै तस्करी भइरहेको छ । वीरगञ्ज, कृष्णनगर, सर्लाही, विराटनगर, सिरहा, मेचीलगायतका खुला नाकाहरूबाट दैनिक ठुलो मात्रामा तस्करी भइरेको छ । ठुला तस्करहरूले सेटिङमै रातारात तस्करी गरिरहेका छन् । यसको प्रमाण विभिन्न समयमा प्रहरी, भन्सार र राजस्व समेतले नियन्त्रणमा लिएका गाडी र मालवस्तुहरूले पुष्टि गर्दछ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले त सेटिङमा मालवस्तु तस्करी छोड्ने गरेको स्वयम् व्यापारीहरूले बताएका छन् । पथलैया कार्यालयमा सेटिङ र भागबण्डा नमिल्दा एक कर्मचारीको सरुवा भएको बताइन्छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij