
ललितपुर । नेपाल पत्रकार महासंघ ललितपुर शाखाको समन्वयमा क्रियाशील पत्रकारहरूको स्वास्थ्यलाई ध्यान दिएर ललितपुरमा गरिएको एकदिने बृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ ।जनस्वास्थ्य कार्यालय ललितपुर र बज्रबराही चापागाउँ अस्पतालको संयोजन तथा पत्रकार महासंघ ललितपुरको समन्वयमा शुक्रबार बृहत् स्वास्थ्य शिविर सम्पन्न भएको हो ।
स्वास्थ्य शिविरमा विभिन्न नसर्ने रोगहरूको परीक्षण, भिडियो एक्सरे, मुटु तथा मृर्गौला परिक्षण, आँखा, दन्त, मधुमेह, आरएफटी, एलएफटी, सीबीसी, स्त्री लगायत रोगको निःशुल्क परीक्षण गरिएको थियो । शिविरमा ६० वर्ष नाघेका पत्रकारलाई निःशुल्क चश्मा वितरण गरिएको थियो ।
ललितपुर शाखा अध्यक्ष रामहरि कार्कीले शिविरमा ७७ जना पत्रकारले स्वास्थ्य परीक्षण गरिएको बताए । अध्यक्ष कार्कीका अनुसार शिविर निक्कै प्रभावकारी भएको र पत्रकारहरूले यसबाट लाभ लिन सफल भएका छन् ।
परीक्षण गरिएका पत्रकारहरू मध्ये अधिकांशमा सुगर र प्रेसरको समस्या देखिएको छ । ७७ मध्ये २७ जनामा सुगरको लक्षण र १० जनामा प्रेसरको लक्षण देखिएको बज्रबराही चापागाउँ अस्पतालका डा. अमरदिप साहले जनाए । पत्रकारहरू अरूलाई सूचना र खबरदारी गर्न दिनरात खटिरहँदा आफ्नो स्वास्थ्यमा पनि ख्याल गर्न आवश्यक रहेको उनले सुझाउ दिए ।
बज्रबाराही चापागाउँ अस्पतालका मेडिकल सुपरटेन्ड डा. अंकुर पौडेलले पत्रकारहरू आफ्नो स्वास्थ्यमा सचेत हुन आवश्यक रहेको उल्लेख गरे ।
जनस्वास्थ्य कार्यालय, ललितपुरका प्रमुख डा. भुवन पौडेलले पत्रकार महासंघसँग समन्वय गरेर पत्रकारहरूको लागि स्वास्थ्य चेकजाँच गर्न पाउँदा खुसी व्यक्त गरे । उनले यस्ता कार्यलाई निरन्तरता दिने प्रतिवद्वता समेत जनाए । उनले शरिर स्वस्थ्य रहेमात्र पेशामा खरो रुपमा उत्रिन सकिने भन्दै पत्रकारलाई स्वास्थ्य रहन आग्रह गरे ।
नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले स्वास्थ्य शिविर भव्य रूपमा सम्पन्न गरेकोमा ललितपुर शाखा, जनस्वास्थ्य कार्यालय, ललितपुर र बज्रबाराही चापागाउँ अस्पतालप्रति धन्यवाद व्यक्त गरे । उनले शिविर उदाहरणिय रहेको भन्दै अन्य जिल्लाहरूले पनि सिकेर अघि बढ्नुपर्ने बताए ।
स्वस्थ जीवनशैली अपनाउन, खानपानमा ध्यान दिन, शारीरिक व्यायम गर्न चिकित्सकले सल्लाह दिएका छन् । नियमित कम्प्यूटरमा काम गर्दा पत्रकारहरुको दृष्टिमा समस्या देखिएकाहरुलाई चस्मा लगाउन परामर्श दिइएको छ भने पिसावमा समस्या देखिएकाहरुलाई प्रसस्त पानी पिउन, सुगर र प्रेसर देखिएकाहरुलाई खानपानमा ध्यान दिदै व्यायम गर्न परामर्श दिइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij