
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ १९ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
ट्रेड टावर लिमिटेडको आईपीओमा २.३३ अर्ब रुपैयाँ बराबरको आवेदन, मागको ७ गुणा बढी
काठमाडौं । ट्रेड टावर लिमिटेडको आईपीओमा अत्यधिक माग देखिएको छ। सीडीएससीका अनुसार, जेठ १९ गते साँझ ५:०६ बजेसम्ममा १९ लाख ६१ हजार ३९१ जनाले कुल २ करोड ३३ लाख ६० हजार ७० कित्ता सेयरका लागि आवेदन दिएका छन्। यो माग कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको सेयर संख्याको करिब ७.०९ गुणा बढी हो।
कम्पनीले प्रति कित्ता १०० रुपैयाँ दरमा ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर जेठ १४ गतेदेखि बिक्रीमा ल्याएको थियो। यो कम्पनीको कुल जारी पुँजीको ४८.६९६ प्रतिशत, अर्थात् ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको हो।
यसमध्ये १० प्रतिशत सेयर — ३ लाख ९७ हजार १६९ कित्ता — वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएका थिए, जुन वितरण भइसकेको छ। बाँकी सेयर सर्वसाधारणका लागि खुला गरिएको हो।
शिखर इन्स्योरेन्सका १०% बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना १० प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराएको छ। कम्पनीले फागुन १३ गते सम्पन्न २०औं वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश पारित गरेको थियो।
कम्पनीले बोनस शेयर सूचीकृत गरी दोस्रो बजारमा कारोबारका लागि खुला गरेको तीन महिनापछि सूचीकृत प्रक्रिया पूरा गरेको हो। यस अनुसार, सोमवार २६ लाख ८१ हजार ५१८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत गरिएको हो, जसको कारोबार मंगलवारदेखि सुरु हुनेछ।
बजेटले निजी क्षेत्रको सुझाव समेटेकोमा उद्योगी चन्द्र ढकालको प्रशंसा, कार्यान्वयनमा जोड
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा ग्लोबल आइएमई बैंक र आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकालले आर्थिक वर्ष २०८२/८३ को बजेटले निजी क्षेत्रका धेरैजसो सुझाव समेटेको बताएका छन्। इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन) द्वारा आयोजित ‘बजेटस् ए होलिस्टिक डिस्कोर्स’ कार्यक्रममा बोल्दै उनले बजेटले निजी क्षेत्रलाई कि ड्राइभरु को रूपमा सम्बोधन गरेको उल्लेख गरे।
उनले निजी क्षेत्र आफ्ना मात्र नभई समग्र अर्थतन्त्रको सुधारका लागि सशक्त माग राख्दै आएको र सोही अनुसार बजेटले सकारात्मक प्रावधानहरू ल्याएको बताएका छन्। ढकालले बजेटले ल्याएको नयाँ व्यवस्था, जस्तै खनिज पदार्थको निर्यात अनुमति, सेजको भाडा सहजीकरण, र अन्तर्राष्ट्रिय सभा हल निर्माणसम्बन्धी प्रस्तावहरूलाई स्वागत योग्य बताएका छन्।
शेयर बजार : नेप्से परिसूचकमा २.७७ अंकले बढेर २६९६.८४ बिन्दुमा, ९ अर्ब २२ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा २.७७ अंकले बढेर २६९६.८४ बिन्दुमा आएको छ । आज ९ अर्ब २२ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।२ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । यस दिन ३ सय १४ कम्पनीको २ करोड २० लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ८७ करोड ४७ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा ङादी ग्रुप पावर कम्पनी अग्रस्थानमा रहेको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी हाइड्रोपावर्र र युनिभर्सल पावर कम्पनी परेका छन् ।
कर्जा विस्तार केन्द्रीकृत हुँदा सीमित व्यक्तिले मात्र ऋण पाउने देखियोः गभर्नर पौडेल
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलले बैङ्क तथा वित्तीय संस्थाहरुको कर्जा विस्तार केन्द्रीकृत हुँदै गएको र कुल प्रवाहित कर्जाको ठूलो हिस्सा सीमित व्यक्ति तथा समूहमा जाने गरेको बताउनुभएको छ ।
प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको आजको बैठकमा ‘बैङ्क तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ ९बाफिया० लाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलका क्रममा गभर्नर पौडेलले यस्तो बताउनुभएको छ । “अहिले करिब १९ लाख ४० हजार ऋणी रहेका छन्, जसमध्ये शून्य दशमलव शून्य दशमलव एक प्रतिशत ऋणीले मात्र तीन दशमलव नौ प्रतिशत कर्जा प्रयोग गरेको देखिन्छ, यसबाट केही व्यक्तिलाई मात्रै धेरै ऋण गएको छ कि भन्ने देखिन्छ”, उहाँले भन्नुभयो, “त्यसरी सीमित व्यक्तिलाई मात्र धेरै ऋण जानु राम्रो हो वा होइन र त्यसरी प्रवाहित कर्जाले उत्पादनमा राम्रो गरेको छ वा छैन भन्ने चासोको विषय हो ।”
विद्युत् र सिंचाई क्षेत्र सुधारका लागि विश्व बैंकद्वारा २५ करोड ७० लाख अमेरिकी डलर ऋण स्वीकृत
काठमाडौँ . विश्व बैंकले नेपालका दुईवटा परियोजनाका लागि २५ करोड ७० लाख अमेरिकी डलर बराबर ऋण स्वीकृत गरेको छ ।
विश्व बैंकले आज प्रेस विज्ञप्ति जारी गर्दै गत मे २९ मा बसेको विश्व बैंक निर्देशक समिति बैठकले उक्त ऋण स्वीकृत गरेको जनाएको हो । नेपालको विद्युत् वितरण प्रणाली सुधार र सिंचाई सेवामा सुधार गरी कृषि उत्पादन बढाउने उद्देश्यका लागि उक्त ऋण सुविधा उपलब्ध गराइएको हो ।
जसमध्ये, विद्युत् आपूर्ति प्रणाली सुधार परियोजनाका लागि १२ करोड अमेरिकी डलर ऋण सुविधा लिइएको छ । उक्त रकमबाट कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको विद्युत् वितरण प्रणालीलाई मजबुत र विश्वसनीय बनाइने जनाइएको छ । नेपाल विद्युत् प्राधिकरणमार्फत सञ्चाचन हुने आपूर्ति प्रणाली सुधार परियोजनाले सबस्टेसन निर्माण, वितरण संरचनाको स्तरोन्नति तथा त्यसको निगरानी गर्ने स्वचालित प्रणाली विकास गर्ने उद्देश्य राखिएको जनाइएको छ ।
राष्ट्र बैंकले बजारमा बढ्दो तरलता नियन्त्रण गर्न ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा बढ्दो तरलता नियन्त्रण गर्न आज (सोमबार, जेठ १९ गते) ७० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरण जारी गर्दैछ। बैंक तथा वित्तीय संस्थाहरूबाट बोलकबोलमार्फत निक्षेप संकलन गरी बजारमा रहेको अधिक नगद प्रवाह खिच्ने उद्देश्यले यो कदम चालिएको हो।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन्। राष्ट्र बैंकले २० दिन अवधिको लागि यो उपकरण जारी गर्न लागेको हो, जसको साँवा र ब्याज असार ८ गते भुक्तानी हुनेछ।
ब्याजदर बोलकबोलमार्फत निर्धारण गरिनेछ। सहभागी संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ माग गर्न सक्नेछन् भने अधिकतम माग कुल निष्कासन रकमको ५ प्रतिशतभन्दा बढी नहुने गरी सीमित गरिएको छ।
दोर्दी खोला जलविद्युतको लिलामी सेयरमा आवेदन दिने म्याद १ दिन थप, अब जेठ २० सम्म
काठमाडौं । दोर्दी खोला जलविद्युत लिमिटेडले आफ्नो लिलामी सेयरमा आवेदन दिने समय एक दिन थप गरेको छ। अब लगानीकर्ताहरूले मंगलबार, जेठ २० गते कार्यालय समयसम्म लिलामी सेयरमा आवेदन दिन सक्नेछन्।
कम्पनीले यसअघि आवेदनको अन्तिम म्याद आज, जेठ १९ गतेसम्म तोकेको थियो। जेठ ११ गतेदेखि लिलामीमा ल्याइएका सेयरमध्ये संस्थापक समूहका १२ लाख ८५ हजार ४१ कित्ता र सर्वसाधारण समूहका १ लाख ६५ हजार ९५६ कित्ता सेयर रहेको छ, जसको लकइन अवधि असार ७ गते समाप्त हुनेछ।
सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक सेयर लिलामी खुला
काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले आज (जेठ १९ गते) देखि ४० हजार कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्री खुला गरेको छ। यस लिलामीमा बैंकका वर्तमान संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूले पनि सहभागिता जनाउन सक्नेछन्।
लिलामी सेयरका लागि न्यूनतम मूल्य ११० रुपैयाँ तोकिएको छ, तर सहभागीहरूले सोभन्दा बढी मूल्य कबोल गर्दै गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ। आवेदन दिने अन्तिम म्याद जेठ २५ गतेसम्म रहेको छ।
अदानचुली कुम्णामा विद्युत् विस्तारको नयाँ चरण: गुणस्तरीय आपूर्तिका लागि दुई वटा सबस्टेसन निर्माण हुँदै
अदानचुली . यहाँको अदानचुलीगाउँपालिका–१ कुम्णामा ३३ केभि प्रसारण लाइन क्षमताको सबस्टेसन निर्माण हुन लागेको छ । नेपाल विद्युत् प्राधिकरणको लगानीमा उक्त सबस्टेसन निर्माण हुन लागेको हो ।
केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तारसँगै सबस्टेसन निर्माण थालिएको हो । हाल हुम्लामा दुई वटा ३३/३३ केभि क्षमताका सबस्टेसन बनिरहेका छन् । सदरमुकाम सिमकोटमा र अदानचुली गाउँपालिकाको कुम्णामा निर्माण भइरहेका यी दुवै सबस्टेसन निर्माणधीन छन् ।
यी दुबै सबस्टेसन निर्माण सम्पन्न भएपछि यहाँका सात वटै गाउँपालिकामा विद्युत् सेवा पुग्ने नेपाल विद्युत् प्राधिकरण, हिल्दुम विद्युत्् वितरण केन्द्र प्रमुख जितेन्द्र शाहले बताउनुभयो । “प्रसारण लाइन विस्तारपछि जिल्लामा विद्युत्् अभाव हुने छैन, यहाँ मात्र नभएर मुगु र बाजुराका स्थानीय तहमा पनि विद्युत् विस्तार हुनेछ ।”
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६३ पैसा र बिक्रीदर १३७ रुपैयाँ २३ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ०५ पैसा र बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८३ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८४ रुपैयाँ ७२ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ११ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८३ पैसा कायम गरिएको छ ।
नयाँ बनाउनुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालन गर्नुपर्छः स्वास्थ्यमन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नयाँ अस्पताल निर्माण गर्नुभन्दा भएकै स्वास्थ्य संस्थाको क्षमता विस्तार गरेर सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ ।
मानवअधिकार तथा शान्ति समाजको २९औँ स्थापना दिवसको अवसरमा आज यहाँ आयोजित ‘वैज्ञानिक शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवाः आधारभूत अधिकार’ विषयक नागरिक संवाद कार्यक्रममा उहाँले ठूला अस्पतालमै पनि उपकरण र जनशक्ति अभाव रहेको भन्दै भएकै स्वास्थ्य संस्थाको स्तरोन्नति गरेर सञ्चालनमा ल्याउन सके राम्रो हुने धारणा राख्नुभएको हो ।
मन्त्री पौडेलले सबै घरपरिवारलाई स्वास्थ्य बिमाको दायरामा ल्याइ त्यसैबाट उपचार गर्ने व्यवस्था मिलाउन प्रयासरत बताउनुभयो । उहाँले गर्छु भनेका कतिपय काम स्रोत सुनिश्चितताको अभावले पनि पूरा गर्न जटिल भइरहेको बताउनुभयो ।“अनेक प्रयासका बावजुद स्वास्थ्य क्षेत्रमा बजेट बढेर त आएको छ तर यो पर्याप्त छैन । कुल बजेटको पाँच प्रतिशत पनि पुगेको छैन । स्वास्थ्य क्षेत्र राज्यको प्राथमिकतामा पर्नुपर्छ । राज्यले आफ्नो दायित्वबाट विमुख हुनुभएन”, मन्त्री पौडेलले भन्नुभयो ।
प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्षनेताको छलफल
काठमाडौँ । संसद्मा देखिएको गतिरोधलगायत विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा प्रमुख दलका शीर्षनेताहरूको छलफल जारी रहेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखकलगायत सहभागी हुनुहुन्छ ।
सार्वजनिक सवारीसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव : नाट्टा
काठमाडौँ ।नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सार्वजनिक सवारीसाधन बन्दले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको जनाएको छ ।
नाट्टाका महासचिव युविका भण्डारीले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हडताल र यातायात सेवा अवरुद्ध भएकामा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले बन्दका कारण समग्र यात्रुमा मात्र नभई नेपालको पर्यटन क्षेत्रमा प्रतिकूल प्रभाव पारेको बताउनुभयो ।
“नेपालको पर्यटकीय राजधानी पोखरालगायत अन्य केही स्थानमा हालै पर्यटकीय सवारीसाधन सञ्चालनमा देखिएको अवरोध चिन्ताको विषय हो, पर्यटकीय सवारीसाधनलाई रोक लगाउनु, अवरोध गर्नु वा नियन्त्रण गर्र्नु समग्र पर्यटन व्यवसायप्रति पूर्ण नकारात्मक प्रभाव पर्ने कार्य हो,” नाट्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चितताका लागि अमेरिकासँग इरानको माग
तेहरान ।इरानले आफ्नो आणविक कार्यक्रमलाई लिएर जारी वार्तामा प्रतिबन्ध फुकुवा गर्ने औपचारिक सुनिश्चतता गर्न अमेरिकासँग आग्रह गरेको छ ।
विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “हामी अमेरिकासँगबाट यो सुनिश्चत हुन चाहन्छौँ कि आणविक प्रतिबन्धहरू प्रभावकारी रूपमा हटाइने छ ।”
“अहिलेसम्म अमेरिकी पक्षले यस विषयमा स्पष्ट पार्न चाहेको छैन,” उहाँले भन्नुभयो ।
संयुक्त राष्ट्रसङ्घको एक प्रतिवेदनमा इरानले युरेनियमको उत्पादन ६० प्रतिशतसम्म बढाएको देखाएको एक दिनपछि ट्रम्पको यो टिप्पणी आएको हो ।
अस्ट्रेलियाका ग्लेन म्याक्सवेलद्वारा एकदिवसीय क्रिकेटबाट सन्न्यास
सिड्नी ।विस्फोटक अस्ट्रेलियाली ब्याट्सम्यान ग्लेन म्याक्सवेलले सोमबार आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट करियरको अन्त्य गर्नुभएको छ । यद्यपि उहाँले आगामी वर्षको विश्वकपलाई लक्षित गर्दै टि–२० क्रिकेटमा निरन्तरता दिने घोषणा गर्नुभएको छ ।
एक सय ४९ एकदिवसीय खेल खेलेका ३६ वर्षीया म्याक्सवेलले तीन हजार नौ सय ९० रन बनाउनुभएको छ । उहाँले ५० ओभरको खेलको शारीरिक दबाब महसुस गर्न थालेको बताउनुभयो ।
“परिस्थितिमा मेरो शरीरले कस्तो प्रतिक्रिया गरिरहेको छ भनेर मैले टोलीलाई अलिकति निराश पारेको जस्तो महसुस गरेँ”, उहाँले भन्नुभयो, “मैले ९छनोट समितिका अध्यक्ष० जर्ज बेलीसँग राम्रो कुराकानी गरेँ र मैले उहाँलाई अगाडि गएर उहाँको के विचार छ भनेर सोधेँ ।”
विमानमा सर्प : विषालु भाइपरसहित भारतीय तस्कर पक्राउ
मुम्बई । दर्जनौँ विषालु सर्प तस्करी गरिरहेका एक यात्रुलाई थाइल्यान्डबाट वित्तीय राजधानी मुम्बईमा उडान भरेर आएपछि रोकिएको भारतीय भन्सार अधिकारीहरूले बताएका छन् ।
चवालिस वटा इन्डोनेसियाली पिट भाइपरहरू समावेश भएका सर्पहरू ‘चेक–इन ब्यागेजमा लुकाएर राखिएको’ मुम्बई भन्सारले आइतबार राति एक विज्ञप्तिमा बताएको छ ।
“थाइल्यान्डबाट आएका एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ”, भन्सारले भन्यो ।
कुनै विवरण सार्वजनिक नगरिएका ती यात्रुसँग तीन स्पाइडर–टेल्ड हर्न्ड भाइपर पाँच एसियाली कछुवा पनि थिए । यी भाइपर विषालु हुन्छन् तर सामान्यतया चराहरू जस्ता साना शिकारलाई मात्र लक्षित गर्दछन् ।
अर्थमन्त्री पौडेल र आइएमएफ मिसन प्रमुखबीच शिष्टाचार भेटवार्ता
काठमाडौँ ।उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तरराष्ट्रिय मुद्रा कोष (आइएमएफ) मिसन प्रमुख सरवत जहानबीच शिष्टाचार भेटवार्ता भएको छ ।
आज अर्थमन्त्रालयमा भएको भेटवार्तामा विस्तारित कर्जा सुविधा ९एक्सटेन्डेड क्रेडिट फेसिलिटी– ईसीएफ० को छैटौं समीक्षा, संरचनागत सुधारलगायतका विषयमा छलफल भएको अर्थमन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
विदेशी मुद्रा सञ्चिति घटेर भुक्तानी सन्तुलन निकै कमजोर भएपछि नेपालले सन् २०२२ मा ३९ करोड ५९ लाख अमेरिकी डलर बराबरको ईसिएफ सुविधा लिएको थियो । जुन नेपालले पाउने स्पेशल ड्रइङ राइट (एडिआर) कोटाको १८० प्रतिशत बराबर हो । बजेट वित्तपोषण ९बजेट फाइनान्सिङ० का लागि चार वर्षमा विभिन्न किस्तामा भुक्तानी गर्नेगरी आइएमएफले यो सुविधा उपलब्ध गराएको थियो ।
पठाओले भाडा दर नबढाएको स्पष्टिकरण, 'एपमा कुनै शुल्क वृद्धि छैन'
काठमाडौं । राइड सेयरिङ सेवा प्रदान गर्ने कम्पनी पठाओले भाडा दर नबढाएको स्पष्ट पारेको छ। सोमबार (जेठ १९ गते) देशभर सार्वजनिक यातायात अवरुद्ध भएको अवस्थामा केही राइड सेयरिङ सेवाले भाडा बढाएको भन्ने समाचारहरू प्रकाशित भएपछि पठाओले आपत्ति जनाएको हो।
कम्पनीले सार्वजनिक सूचना जारी गर्दै आफ्नो एपमार्फत लिइने शुल्क नियमित नै रहेको जनाएको छ। 'एपमा कुनै पनि शुल्क वृद्धि गरिएको छैन,' पठाओको विज्ञप्तिमा भनिएको छ, 'बरु यात्रुहरूलाई परेको असहज परिस्थितिमा सहजीकरण गर्न कम्पनीले राइडरहरूलाई क्वेस्ट र इन्सेन्टिभमार्फत थप राइड गर्न प्रोत्साहित गरिरहेको छ।'
सुनको भाउ तोलामा १ हजारले उकालो, चाँदीको मूल्यमा पनि वृद्धि
काठमाडौं । सुनको मूल्यमा फेरि एकपटक तीव्र वृद्धि देखिएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८०० रुपैयाँमा पुगेको छ।
यसअघि आइतबार छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ, जुन आइतबार १ हजार ९८५ रुपैयाँ थियो।
राइड सेयरिङलगायत मागमा गृह मन्त्रालयमा छलफल, देशभर सार्वजनिक यातायात ठप्प
गृहमन्त्री रमेश लेखकको संयोजनमा आन्दोलनरत यातायात व्यवसायीका पदाधिकारीहरूसँग हाल गृह मन्त्रालयमा छलफल जारी छ। ‘राइड सेयरिङ’ सेवा बन्द गरिनु पर्ने लगायत विभिन्न मागसहित यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन्। उनीहरूले आफ्ना मागहरू पुरा गराउन दबाब दिन देशभर सार्वजनिक यातायात सेवा आज पूर्ण रूपमा ठप्प पारेका छन्।
यातायात व्यवसायीहरूको यो कदमले सर्वसाधारण यात्रुहरूलाई ठूलो असहजता भएको छ। एकातर्फ सरकार नागरिकका पक्षमा आधुनिक सेवाहरूलाई प्रवर्द्धन गर्ने प्रयासमा देखिन्छ भने अर्कोतर्फ व्यवसायीहरू परम्परागत ढाँचाको संरक्षणमा जोड दिँदै छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij