
काठमाडौँ । । ‘हिमालयन ट्राभल मार्ट’ (एचटीएम) को पाँचौं संस्करण प्रकृति र संस्कृतिमा आधारित पर्यटनका लागि नेपाल उत्कृष्ट गन्तव्य प्रदर्शन गर्न सुरु भएको छ ।‘हिमालयन ट्राभल मार्ट’ (एचटीएम) को पाँचौं संस्करणको उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल यसका लागि विनम्र र बुलन्द आवाजका साथ अगाडि बढ्ने बताएका हुन् । नेपाल पर्यटन बोर्डले पाटा नेपाल, नेपाल एयरलाइन्सलगायत अन्य निजी क्षेत्रसँगको सहकार्यमा आयोजना गरिएको अन्तर्राष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को मंगलबार उद्घाटन गरियो ।
मन्त्री पाण्डेका अनुसार पछिल्लो समय सकारात्मक भन्दा पनि नकारात्मक सन्देश फैलाउन खोज्ने तत्व हावी भएको छ । नेपालको कसैसँग दुश्मनी र नेपालमा कुनै आन्तरिक समस्या नरहेकाले नेपाल अब पछाडि फर्कने अवस्थामा छैन् । नेपाल विनम्र र बुलन्द आवाजका साथ अगाडि बढनेछ ।
आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने कला–संस्कृति राष्ट्रिय गौरव भएको जनाउँदै मन्त्री पाण्डेले यसलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए । उनका अनुसार जलवायु परिवर्तनको जोखिम नियन्त्रणका लागि सबै लाग्नु पर्छ । साथै सार्वजनिक र निजी क्षेत्रबीच बलियो सहकार्य बढाउनुपर्ने छ । सोही कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपाल प्रकृतिमा आधारित पर्यटनका लागि उत्कृष्ट गन्तव्य भएको बताए । नेपालका हिमालहरु मात्र होइन, यहाँका सांस्कृतिक र जैविक विविधता पनि पर्यटकीय आधारहरु भएको जोशीले बताए । पाटा नेपालका अध्यक्ष खेम लकाईले अतिथिहरुलाई स्वागत गर्दै नेपालको समृद्ध सांस्कृतिक सम्पदा, प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावनालाई विश्वसामु प्रस्तुत गर्न एक महत्वपूर्ण प्लेटफर्मको रूपमा मार्टले काम गर्ने विश्वास व्यक्त गरे ।
सन् २०१७ मा सुरु भई वार्षिकरुपमा हरेक जुन महिनामा काठमाडौंमा आयोजना हुने एचटीएम नेपालको प्रमुख अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला हो ।यसले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवरहरू र उद्योगका विविध क्षेत्रहरूमा संलग्न व्यक्तिहरूबीच अनुपम नेटवर्किङ, व्यावसायिक अवसरहरू र मूल्यवान उद्योग अन्तर्दृष्टिलाई बढावा प्रदान गर्ने उनको विश्वास छ । । नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले आयोजना गरेको मार्टमा ३० भन्दा बढी मुलुकका १०० बढी विदेशी पाहुनासहित पर्यटनकर्मी, सरोकारवाला गरी ७०० प्रतिनिधिको सहभागिता छ । नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा सो मार्ट आयोजना गरिएको हो ।
मार्ट अन्तर्गत सञ्चालित सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ताले आध्यात्मिक, साहसिक र ‘लक्जरी’ पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनका लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् । त्यसैगरी बीटुबी कार्यक्रमअन्तर्गत यसवर्ष मार्टले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सीआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ बढी बिक्रेता सहभागी भएको जनाइएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij