Logo

Jun 06 2025 | २०८२, जेठ २३गते

Jun 06 2025 | २०८२, जेठ २३गते

images

घरजग्गा कारोबारमा सरकारद्वारा थप कडाइ

घरजग्गा कारोबारमा सरकारद्वारा थप कडाइ

  • काठमाडौँ । सरकारले घरजग्गा कारोबारमा थप  कडाई गर्ने भएको छ । विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरेको निर्देशनमा यस्तो देखिएको पर्यवेक्षकहरूले बताएका हुन् । 

    घरजग्गा कारोबारमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य गरेको हो । सरकारले नेपाललाई ग्रे लिस्टबाट निकाल्न घरजग्गा कारोबारमा कडा गरेको छ । अहिले  नेपाल ‘फाइनान्सियल टास्क फोर्स’ (एपफएटीएफ)को ग्रे लिस्टमा परेको छ । निर्देशनमा भनिए अनुसार घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबरको रकम जम्मा भएको प्रमाण लिखत साथ संलग्न गनुपर्नेछ ।

     उक्त सूचीबाट मुलुकलाई बाहिर निकाल्न नेपालले दुई वर्षको समय पाएयता, सरकारले पनि नेपालको वित्तीय छविलाई सुदृढ गर्न सम्पत्ति शुद्धीकरण सम्बन्धी ग्रे लिस्टबाट देशलाई शीघ्र बाहिर ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ग्रे लिस्टबाट निकाल्न  आवश्यक कानूनी तथा संस्थागत सुधार गरिने जानकारी दिएका थिए ।  उनका अनुसार गम्भीर आर्थिक अपराध, विशेषतः वित्तीय छल, कर छली, अवैध सम्पत्ति संकलन र शुद्धीकरण जस्ता गतिविधिको अभियोजन तथा अनुसन्धान प्रक्रियालाई थप तीव्र र प्रभावकारी बनाइने छ । यसका लागि सम्बन्धित निकायलाई सशक्त बनाउँदै अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रणाली सुधार गरिने छ । त्यसैअनुरुप घरजग्गा खरिद बिक्री कारोबार गर्दा सूचक संस्थाले खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा कारोबार बराबर रकम जम्मा भएको प्रमाण लिखतसाथ संलग्न गर्नुपर्ने व्यवस्था लागु भएको हो ।

    घरजग्गा खरिद–बिक्री कारोबार गर्दा स्थानीय तहले प्रमाणित गरेको बैनाबट्टाको कागज पेस गरे पनि बैंक स्टेटमेन्ट अनिवार्य गरेको हो ।यसैगरी सरकारले बैंकमार्फत राजस्व दाखिला गर्ने व्यवस्था भएका कार्यालयको हकमा १० लाखभन्दा बढीको घरजग्गा खरिद बिक्रीको कारोबार गर्दा लाग्ने रजिष्ट्रेशन वापतको शुल्क र दस्तुर खरिदकर्ताको खाताबाट र लाभकर वापतको राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ ।

    बैंकिङ प्रणाली मार्फत कारोबार गर्नुपर्ने घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा १० लाखदेखि माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणाली मार्फत गर्नुपर्ने छ । ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणाली मार्फत सोझै र चेक मार्फत गर्दा बिक्रीकर्ताको नाममा तयार गरिएको गुड फर पेमेन्ट चेक मार्फत गर्नुपर्ने छ ।
    यसैगरी लाभकर बापत राजस्व बिक्रीकर्ताको खाताबाट सम्बन्धित कार्यालयले तोकिदिएको राजस्व खातामा जम्मा गर्नुपर्ने व्यवस्था निर्देशनमा  जनाइएको  छ ।

    त्यसैगरी अबदेखि घरजग्गा खरिद–बिक्री गर्ने खरिदकर्ता वा बिक्रीकर्ताले एक दिनमा एक पटक वा पटक पटक गरी ३ करोड वा त्यसभन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गरेको विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाइमा पठाउनु पर्ने व्यवस्था गरिएको छ ।

    घरजग्गा खरिद वा बिक्रीको कारोबार शंकास्पद देखिए कार्यालय र सूचक संस्थाले त्यसको जानकारी नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइमा पठाउनु पर्ने व्यवस्था निर्देशनमा गरिएको छ । निर्देशनमा उल्लेख भएको घरजग्गा खरिद–बिक्री कारोबार गर्ने व्यक्ति भन्ने शब्दले प्राकृतिक व्यक्ति र कानुनी व्यक्ति दुवैलाई जनाउने जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij