
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज जेठ २१ बुधबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू..
युवाका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमै उद्यमशीलता र रोजगारी सृजना गर्ने युवाका साथमा सरकार रहने भएकाले उच्च मनोबल र आत्मविश्वास लिएर काम गर्न आग्रह गर्नुभएको छ ।
बागबजारस्थित ‘आइडिया स्टुडियो’ मा आयोजित ‘नवप्रवर्तक युवासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा शिक्षामा जनशक्ति प्रक्षेपणको नीति तर्जुमाका लागि अध्ययन गराएको स्मरण गर्दै आगामी आर्थिक वर्षको बजेटमा ‘जेन्जी’ पुस्ता र ‘स्टार्टअप’ का कार्यक्रमलाई उच्च महत्व दिइएको बताउनुभयो ।
नेप्सेमा बोनस र हकप्रद सेयरको मूल्य समायोजन : नेसनल लाइफ, एनएलजी इन्सुरेन्स र बरुण हाइड्रोपावरको समायोजन विवरण
काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुधबार तीन कम्पनीका सेयरमा मूल्य समायोजन गरिएको छ। समायोजन भएका कम्पनीहरूमा नेसनल लाइफ इन्सुरेन्स, एनएलजी इन्सुरेन्स र बरुण हाइड्रोपावर रहेका छन्।
नेसनल लाइफ इन्सुरेन्सको ५ प्रतिशत बोनस सेयरका लागि मूल्य समायोजन गरिएको हो। यस कम्पनीको अन्तिम कारोबार मूल्य ६२८.३६ रुपैयाँलाई आधार मानेर समायोजन गर्दा प्रति सेयर मूल्य ५९८.४४ रुपैयाँ कायम भएको छ।
त्यस्तै, एनएलजी इन्सुरेन्सले वितरण गर्न लागेको २.५० प्रतिशत बोनस सेयरको आधारमा मूल्य समायोजन गरिएको छ। यसको अन्तिम कारोबार मूल्य ७६०.०२ रुपैयाँ रहेकोमा समायोजनपछि नयाँ प्रति सेयर मूल्य ७४१.४८ रुपैयाँ निर्धारण गरिएको छ।
विपद् व्यवस्थापन कोषमा ४ अर्ब ६५ करोड मौज्दात, आपतकालीन तयारी पूरा : प्राधिकरण
काठमाडौँ । सरकारले विपद् व्यवस्थापन कोषमा रु चार अर्ब ६५ करोड २४ लाख मौज्दात रहेको जानकारी दिएको छ ।
गृह मन्त्रालयअन्तर्गत राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका निमित्त कार्यकारी प्रमुख बन्धुप्रसाद बाँस्तोलाले विपद्का समयमा आपतकालीन अवस्थाका लागि प्रयोग गर्न सकिने गरी उक्त रकम मौज्दात रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक अर्ब ८९ करोड २९ लाख, केन्द्रीय विपद् व्यवस्थापन कोषमा रु एक अर्ब २७ करोड ४७ लाख, प्रदेश विपद् व्यवस्थापन कोषमा रु ७९ करोड ४१ लाख मौज्दात रहेको छ ।
शेयर बजार : नेप्से परिसूचकमा ६.८७ अंकले घटेर २६५२.०६ बिन्दुमा, ५ अर्ब १६ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ६.८७ अंकले घटेर२६५२.०६ बिन्दुमा आएको छ । आज ५ अर्ब १६ करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।आज २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् । बुधबार नेप्से सूचकसँगै कारोबार रकम पनि निकै कम भएको देखिन्छ ।
यस दिन ३ सय १३ कम्पनीको १ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ३६ करोड २५ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा अरुण काबेली हाइड्रोपावर सबैभन्दा अघि छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः राधी हाइड्रोपावर्र र ङादी ग्रुप पावर परेका छन् ।
योजना आयोगको ध्यान निर्मम अनुगमन र सहजीकरणमा : उपाध्यक्ष डा. शिवराज अधिकारी
काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। शिवराज अधिकारीले बजेटपछिको अवस्था र योजना आयोगको भूमिकाबारे प्रस्ट पार्दै योजनाको प्रभावकारी कार्यान्वयनका लागि निर्मम अनुगमन र सुपरिवेक्षणू आवश्यक रहेको बताएका छन्। नेपाल पूर्वाधार पत्रकार समाज र नेपाल निर्माण व्यवसायी महासंघको संयुक्त छलफल कार्यक्रममा बोल्दै उनले आयोगको ध्यान नियमन, अनुगमन र सहजीकरणमा केन्द्रित हुने बताए।
कोही बदमासी गर्छ भने त्यसलाई निर्ममतापूर्वक कारबाही गरिन्छ, उपाध्यक्ष अधिकारीले स्पष्ट पारे, ूतर सबैलाई बदमास ठानेर कानुन बनाउनु गलत हो।ू उनका अनुसार योजना आयोग अब ‘क्याटलिस्ट’ अर्थात् सहजकर्ताको भूमिकामा रहनेछ, जसले नीति र बजेट कार्यान्वयनमा सघाउनेछ।
पूर्वाधार निर्माणमा सुधारको आवश्यकता
डा। अधिकारीले पूर्वाधार क्षेत्रलाई आर्थिक वृद्धि र विकासको प्रमुख इञ्जिनको रूपमा चित्रण गर्दै वर्तमान पुँजीगत खर्चको कार्यान्वयन शैलीप्रति असन्तुष्टि व्यक्त गरे। उनले अधिकांश विकास मन्त्रालयहरूका खर्च शैली समयमै योजना सम्पन्न नहुने प्रकृतिका रहेको बताए। पुरानै अभ्यास दोहोरिएर पुग्दैन, अब नयाँ ढाँचामा काम गर्नुपर्ने बेला आएको छ,ू उनले जोड दिए।
एनएमबि लघुवित्तले संस्थापक सेयर स्वामित्व ९% ले घटाउने, २१ दिनभित्र निवेदन दिन आग्रह
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो संस्थापक सेयर स्वामित्व ६० प्रतिशतबाट घटाएर ५१ प्रतिशत ल्याउने निर्णय गरेको छ। कम्पनीले जेठ २१ गते सूचना प्रकाशित गर्दै संस्थापक सेयरधनीहरुलाई आफ्नो सेयर सर्वसाधारण समूहमा रूपान्तरण गर्ने वा नगर्ने बारेमा २१ दिनभित्र लिखित रूपमा निवेदन दिन आग्रह गरेको हो।
संस्थापक सेयरधनीहरूले आफ्नो निर्णय कम्पनीको केन्द्रिय कार्यालय, न्यूरोड, पोखरामा पेश गर्नुपर्नेछ।
अग्नि सिमेन्टको आम्दानीमा ४०% भन्दा बढी गिरावट, वित्तीय अवस्था दबाबमा
काठमाडौं । अग्नि सिमेन्ट इन्डष्ट्रिज लिमिटेडले सन् २०२४ मा ४० करोड २० लाख रुपैयाँ मात्र आम्दानी गर्न सफल भएको छ, जुन अघिल्लो वर्षको तुलनामा ४०.४४ प्रतिशतले कमी हो। सन् २०२३ मा कम्पनीले ६७ करोड ५० लाख र सन् २०२२ मा १ अर्ब २१ करोड ६० लाख आम्दानी गरेको थियो। यो तथ्यांक केयर रेटिङ नेपाल लिमिटेडले सार्वजनिक गरेको हो।
पछिल्ला तीन वर्षको तुलना गर्दा कम्पनीको आम्दानी निरन्तर घटिरहेको छ, जसले सञ्चालन र वित्तीय व्यवस्थापनमा चुनौतीहरु देखिएको संकेत गर्दछ। क्षमता उपयोग दर पनि झरेर ९।८४ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष २५.३२ प्रतिशत थियो। सँगै, सिमेन्टको मूल्यमा आएको गिरावट र उत्पादन घट्नाले आम्दानीमा प्रत्यक्ष असर पारेको छ।
बरुण हाइड्रोपावरको १००% हकप्रद सेयर : जेठ २१ गतेसम्म कायम सेयरधनीले आवेदन दिन सक्ने
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको १०० प्रतिशत हकप्रद सेयरमा आवेदन दिन आज ८८जेठ २१ गते (बुधबार)सम्म कायम सेयरधनी योग्य हुनेछन्। कम्पनीले हकप्रद सेयर बिक्री प्रयोजनका लागि जेठ २२ गते बुक क्लोज गर्ने भएकोले सो दिनसम्म सेयर किन्न भ्याउने लगानीकर्ताहरूले मात्र हकप्रद भर्न सक्नेछन्।
कम्पनीले हाल १ः१ अनुपातमा ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर जारी गर्दैछ। प्रतिकित्ता १०० रुपैयाँका दरले यस हकप्रदबाट ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको पूँजी संकलन गर्ने लक्ष्य लिएको छ।
निफ्राको ऋणपत्रमा आवेदन दिने समय एक दिन थप, अब जेठ २२ सम्म मौका
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले जारी गरेको ऋणपत्रमा आवेदन दिने समयसीमा एक दिन थप गरिएको छ। अब सर्वसाधारणले यो ऋणपत्रमा बिहीबार, जेठ २२ गते सम्म आवेदन दिन सक्नेछन्। यसअघि आवेदन दिने अन्तिम म्याद आज ९जेठ २१० सम्म तोकिएको थियो।
बैंकका अनुसार, भोटो जात्राका लागि जेठ १८ गते उपत्यकाभित्र सार्वजनिक बिदा परेकाले बिक्री अवधि एक दिन थप गरिएको हो।
निफ्राले ५ अर्ब रुपैयाँ बराबरको ‘६५ निफ्रा उर्जा ऋणपत्र २०८८–८९’ निष्कासन गरेको छ। प्रतिइकाई १,००० रुपैयाँ दरमा कुल ५० लाख इकाईमध्ये ३० लाख इकाई बैंकले संस्थागत लगानीकर्तामार्फत बिक्री गर्नेछ भने बाँकी २० लाख इकाई सर्वसाधारणका लागि खुला गरिएको छ। त्यसमा पनि १ लाख इकाई सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
सुनको भाउमा लगातार वृद्धि, पाँच दिनमै ५४ सय रुपैयाँले उकालो
काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मङ्गबारको तुलनामा आज सुन तोलामा रु पाँच सय र चाँदी रु ३० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार २०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ ।
नेपाल– बङ्गलादेश व्यापारः आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड
भद्रपुर । आर्थिक वर्ष २०८१÷८२ को वैशाख महिनासम्ममा काँकडभिट्टा हुँदै बङ्गलादेशबाट रु चार अर्ब ७५ करोड आठ लाख छ हजार ८७१ बराबरको मालसामान आयात भएको छ । नेपालबाट रु ३५ करोड ६२ लाख ९७ हजार ८२७ बराबरका उत्पादन बङ्गलादेश निर्यात भएका छन् ।
काँकडभिट्टास्थित नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय प्रमुख सुवास पाण्डेयका अनुसार बङ्गलादेशबाट सवैभन्दा धेरै रु एक अर्ब ७८ करोड ४२ लाख बराबरको अप्रशोधित जुट आयात भएको छ । यसैगरी, आयात भएका अन्य वस्तुमा ब्याट्री, पोल्ट्री फिड सप्लिमेन्ट, कस्मेटिक आइटम, हाइड्रोजन प्याराअक्साइड, जुट यार्न, विद्युतीय उपकरण, औषधि, आलु, पेपर, ग्लास, फुड एण्ड वेभरेजलगायतका सामग्री रहेका छन् ।
नेसनल लाइफ र एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौँ । आज नेसनल लाइफ इन्सुरेन्स र एनएलजी इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। यी दुवै कम्पनीले जेठ २२ गते बुक क्लोज गर्दैछन्, त्यसैले आजसम्म कायम रहेका सेयरधनीहरू मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने र वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन्।
नेसनल लाइफ इन्सुरेन्स
लाभांश प्रस्ताव : ५% बोनस सेयर र १०% नगद लाभांश
वार्षिक साधारण सभा: असार ५ गते
स्थान: कम्पनीको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौं
समय: बिहान १०:३० बजे
प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सको आठौं वार्षिक साधारण सभा जेठ २६ गते, ८% बोनस सेयर प्रस्ताव
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्सले आफ्नो आठौं वार्षिक साधारण सभा यही जेठ २६ गते बस्ने जनाएको छ। सभा आम्रपाली बेंक्वेट, भाटभटेनी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गरिनेछ। साथै, कम्पनीले अघिल्लो सातौं वार्षिक साधारण सभाबाट पारित भएको ७ प्रतिशत हकप्रद सेयर प्रस्ताव रद्द गर्ने निर्णय समेत यस पटकको सभामा पेस गरिनेछ।
कम्पनीका अनुसार बोनस सेयरकै माध्यमबाट नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी स्तर पूरा हुने भएकाले हकप्रद सेयर प्रस्ताव आवश्यक नपरेको हो।
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६५ पैसा र बिक्रीदर १३७ रुपैयाँ २५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर १५५ रुपैयाँ ६० पैसा र बिक्रीदर १५६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १८५ रुपैयाँ २३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ०६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ४५ पैसा र बिक्रीदर ९९ रुपैयाँ ८९ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।
गण्डकी प्रदेशको नीति तथा कार्यक्रम सार्वजनिक : राइड शेयरिङ प्रवर्द्धनदेखि विश्व सम्पदा सूचीमा सिफारिशसम्म (पूर्णपाठ)
काठमाण्डौ । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो।
आगामी वर्षको नीति तथा कार्यक्रममा प्रदेश सरकारले देशभर चर्चा र बहसको केन्द्र बनेको ‘राइड शेयरिङ’ सेवालाई थप प्रवर्द्धन गर्ने घोषणा गरेको छ। डिजिटल प्लेटफर्ममार्फत सञ्चालित यो सेवा प्रदेशभित्र सुरक्षित र व्यवस्थित बनाउन सरकारले सहयोग गर्ने उल्लेख गरिएको छ।
त्यस्तै, गण्डकी प्रदेशका १० वटा सांस्कृतिक तथा प्राकृतिक सम्पदाहरूलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सिफारिश गर्ने तयारीसमेत नीति तथा कार्यक्रममा समेटिएको छ।
नेपाल क्यान मुभको डरलाग्दो कर छली प्रकरण:अस्ट्रेलियाबाट ‘आईटीको ह्याण्डलिङ’, क्यान मुभ र उसका सिस्टर कम्पनीमाथि थप अनुसन्धान गर्दै राजस्व अनुसन्धान विभाग
काठमाडौँ । काठमाडौँको तीनकुनेमा मुख्य कार्यालय रहेको नेपाल क्यान मुभको डरलाग्दो कर छली प्रकरण बाहिर आएको छ । देश भित्र र बाहिर कुरियर र कार्गोलगायतका व्यवसाय गर्दै आएको नेपाल क्यान मुभमा राजस्व अनुसन्धान विभागले कर छलेको आशंकामा केही हप्ता अगाडि छापा हानी अनुसन्धान गरेपछि क्यान मुभको डरलाग्दो राजस्व छली प्रकरण बाहिर आएको हो ।
समाचार स्रोतका अनुसार राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ प्रालि र उसका सिस्टर कम्पनीहरू नेपाल क्यान ट्रान्सपोर्ट, नेपाल क्यान प्याकेजिङ प्रालिलगायतको कारोबार र उसको हिसाबकिताब र राजस्व छलीको अनुसन्धान गरहेको छ । राजस्व अनुसन्धान विभागले अनुसन्धान गर्दा नेपाल क्यान मुभ र उसका सिस्टर कम्पनीहरूले झण्डै एक अर्ब बढी राजस्व छली गरेको निष्कर्ष निकालेको बताइन्छ । नेपाल क्यान मुभका सञ्चालकहरू मध्ये सुदिप आर्चाय र जीवन ज्ञावाली अस्ट्रेलियामा बस्छन् । नेपाल क्यान मुभ र उसका सिस्टर कम्पनीहरूको आईटी ह्याण्डलिङ अस्ट्रेलियाबाटै सुदिप आचार्यले गर्दछन् ।सञ्चालकहरू मध्ये मनिषप्रसाद आचार्य र गंगाबहादुर थापा तथा डेपुटी सीईओ संगम पौडेल केही दिन यतादेखि राजस्वको थुनामा रहेका छन् । विभागले कम्पनीका अन्य सञ्चालकहरूलाई समेत खोजी रहेको छ ।
भाटभटेनीका सञ्चालक गुरुङ र पूर्वराज्यमन्त्री तथा नेपाली कांग्रेस कोषाध्यक्ष श्रेष्ठको संयुक्त लगानीमा कपडा उद्योगको स्थापना
काठमाडौँ । भारत, युरोप, अमेरिका लगायतका देशमा निर्यात गरिने गरी भाटभटेनीका सञ्चालक मिनबहादुर गुरुङ र नेपाली कांग्रेस कोषाध्यक्ष एवम् पूर्वराज्यमन्त्री उमेश श्रेष्ठको संयुक्त लगानीमा कपडा उद्योगको स्थापना हुन लागेको छ ।
गुरुङ र श्रेष्ठको संयुक्त लगानीमा औद्योगिक नगरी रुपन्देहीमा कपडा उद्योग स्थापना हुन लागेको हो ।बुधबार गुरुङ र श्रेष्ठले नेपाली गार्मेन्ट्स (कपडा) उधोग सञ्चालनका लागि भूमि पुजन तथा जग पुजा गरेका छन् ।
गुरुङ र श्रेष्ठले यो उद्योगमा संयुक्त रुपमा करिब डेढ अर्ब रुपैयाँ लगानी गर्ने बताइएको छ । यो उद्योग करिब ९ महिनाभित्र सञ्चालनमा ल्याइने विश्वास गरिएको छ । उद्योगले करिब एक हजार मानिसलाई रोजगारी दिने अपेक्षा छ ।
धुलिखेल–खावा सडकः पुनःठेक्कामा जान अर्थको सहमति कुर्दै सडक डिभिजन
काभ्रेपलाञ्चोक । सडक डिभिजन कार्यालय भक्तपुर अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको स्तरोन्नतिकार्यका लागि पुनःठेक्का आह्वान गर्न अर्थ मन्त्रालयको सहमति कुरेर बसेको छ । चार किलोमिटर उक्त सडक तोकिएको समयमा निर्माण सम्पन्न नभएको जनाउँदै कार्यालयले निर्माण कम्पनीसँगको ठेक्का रद्द गरेलगत्तै निर्माण व्यवसायीले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए ।
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४०अर्ब उठाउँदै
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ उठाउने भएको छ । राष्ट्र बैंकले जेठ २१ गते ४० अर्ब रुपैयाँ उठाउन लागेको हो ।राष्ट्र बैंकले २१ दिन अवधिका लागि उठाउन लागेको ४० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले असार ११ गते फिर्ता पाउने जनाइएको छ । ‘क’, ‘ख’ र ‘ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा निःशेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ।
ठगीको कसुरमा रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो
काठमाडौँ । प्रहरीले रमण कन्सट्रक्सनका सञ्चालक पवन महतोलाई पक्राउ गरेको छ । काठमाडौंबाट पक्राउ परेका महतोलाई धनुषा लगिएको हो ।जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी नरहरि रेग्मीका अनुसार उनलाई ठगीको कसुरमा पक्राउ गरिएको हो ।
पवनसँगै उनका बाबु बलरामविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।उनीहरुविरुद्ध सन्तोष यादवले धनुषा प्रहरीमा उजुरी दिएका थिए । यादव पनि ठेक्कापट्टा व्यवसाय गर्दै आएका छन् । उनीहरु मिलेर ठेक्कापट्टाको काम गर्दै आएकोमा पछिल्लो समय उनीहरूबीच विवाद भएको थियो ।त्यसपछि करोड बढी ठगी तथा आपराधिक विश्वासघात गरेको आरोप लगाउँदै उनीहरुविरुद्ध यादवले उजुरी दिएका थिए ।
१८ वर्षपछि रोयल च्यालेन्जर्स बेंगलुरुले जित्यो आईपीएल उपाधि
काठमाडौँ । १८ वर्षको लामो प्रतीक्षा पछि रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक ८८इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि जित्न सफल भएको छ।
मंगलबार राति सम्पन्न रोमाञ्चक फाइनल खेलमा बेंगलुरुले पञ्जाब किङ्सलाई ६ रनले पराजित गर्दै ऐतिहासिक सफलता हात पारेको हो।
पहिले ब्याटिङ गर्दै बेंगलुरुले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १९० रनको चुनौतीपूर्ण स्कोर खडा गर्यो। टोलीका लागि विराट कोहलीले सर्वाधिक ४३ रन, कप्तान रजत पाटिदारले २६ रन, र लियाम लिभिङस्टोनले २५ रनको योगदान दिए। मयंक अग्रवाल र जितेश शर्माले समान २४ रन बनाए।
पञ्जाबका बलर अर्शदीप सिंह र काइल जेमिसनले ३–३ विकेट लिँदा, अजमतुल्लाह ओमरजाइ, विजयकुमार वाइशाक र युजवेन्द्र चहलले १–१ विकेट लिए।
देशभर बदलीसहित वर्षाको सम्भावना, कोशी र मधेसमा भारी वर्षाको चेतावनी
काठमाडौँ । देशका पश्चिमी र मध्य भागमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहँदा कोशी प्रदेशमा भने मनसुनी वायु सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र अन्य प्रदेशका एक(दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। विशेषगरी कोशी प्रदेशका एक(दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ। साथै, देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षा तथा हिमपातको पनि सम्भावना छ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij