Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

बाँदर कुद्ने भिर अहिले पर्यटकको रोजाइमा

  • तनहुँ। हेर्दा डरलाग्दो पहरा । त्यही पहराका ढुङ्गामा कुदिएका आकर्षक मूर्तिले मानिसको मनलाई छिनभरमै आकर्षित गराइदिन्छ । यो दृश्य पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनी खण्डमा पर्ने ऐनापहराको हो । बाँदर कुद्ने उक्त पहरा अहिले पर्यटकको रोजाइ बन्ने गरेको छ । आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको प्राकृतिक पहरा क्षेत्रमा पार्क बनाएर पर्यटकलाई भुलाउने र मनोरञ्जन प्रदान गर्ने जमर्को गाउँपालिकाले गरेको छ । साथै पर्यटकलाई आकर्षण गर्दै आन्तरिक स्रोतको बलियो माध्यम गाउँपालिकाले बनाउँदै आएको छ । यही राजमार्ग भएर पोखरा, चितवन र काठमाडौँलगायत सहर जान दैनिक सयौँ सवारी साधन गुड्ने गर्दछन् । यहाँको मनमोहक पानीको छहराले मनै शीतल बनाउनुका साथै रमणीय प्राकृतिक दृश्य र आकर्षक किसिमले कुँदिएका मूर्तिले जोकोहीलाई सजिलै आकर्षण गर्ने गर्दछ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा रु डेढ करोड बढी लगानी गरी भौतिक संरचना निर्माण गरेर पर्यटन प्रवद्र्धनको काम सुरुआत गरेपछि अहिले आम्दानीको स्रोत बन्ने गरेको छ । पहराको ढुङ्गामा कुँदेर सुन्दर परीको मूर्ति, हात्तीको सूँड, आमा र बच्चाको मूर्ति निर्माण गरिएको छ भने पहरामाथिबाट खस्ने पानीको छहराले पर्यटकलाई छुट्टै आनन्द दिलाउँछ ।

    गाउँपालिकाले आर्थिक वर्षको २०८१/८२ साउनदेखि वैशाखसम्म रु ४२ लाख आम्दानी गरिसकेको छ । गाउँपालिकाले वातावरण शुल्कबापत प्रवेश शुल्कमा स्थानीयलाई रु ५० र बाह्य पर्यटकलाई रु १०० शुल्क कायम गरेको छ । अन्य दिनको तुलनामा बिदाका दिनमा पर्यटकको बाक्लो भीड लाग्ने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिनुभयो । सोही पार्कभित्र ऐनापहरा रेष्टुरेराँ होटल सञ्चालनमा रहेको छ । गाउँपालिकाले बोलपत्रमार्फत मासिक रु ४६ हजार ५०० मा भाडामा लगाएको छ । गत शनिबार एक हजारको हाराहारीमा आन्तरिक पर्यटक भित्रिँदा एकै दिनमा रु ४६ हजार ३०० रकम सङ्कलन भएको थियो । उहाँले भन्नुभयो, “उक्त रकम अहिलेसम्मकै धेरै रकम सङ्कलन भएको हो, अन्य दिनमा कम्तीमा रु ८÷१० हजार टिकट बिक्रीबाट आम्दानी हुने गरेको छ ।” आगामी वर्ष वार्षिक रु एक करोडसम्म आम्दानी गर्ने अपेक्षा गाउँपालिकाले लिएको छ । उहाँले भन्नुभयो, “पर्यटकलाई अझै आकर्षण गर्न सिसाको पुल र जिपलाइन, स्काइवाकलगायत साहसी खेलका लागि संरचना निर्माण गर्न थालेको छ, अबको १० दिनभित्र सञ्चालनमा ल्याई पर्यटकलाई मनोरञ्जन प्रदान गरिनेछ ।” गाउँपालिकाले पर्यटकीयस्थल परिचाहन गरी मस्र्याङ्दी नदीमा मोटरबोट सञ्चालन गरिसकेको छ । आँदिमूल मन्दिर र समुन्द्री सहतदेखि छिम्केश्वरी माई तथा बुढीमाई मन्दिरको पूर्वाधार र मन्दिर संरक्षण गरी धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्दै आएको छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौँ सवारी साधन गुड्ने हुँदा पर्यटकलाई आकर्षण गर्न सकिने प्रचुर सम्भावना देखिएकाले यो क्षेत्र पर्यटकीयस्थलका रुपमा विकास गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । –––

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij