
काठमाडौँ । नेपालले पनि सुनमा लगानी बढाउँदै लगेको देखिएको छ ।पछिल्लो समय संसारभरका केन्द्रीय बैंकहरूको सुनमा लगानी गर्ने प्रवृतिलाई नेपाल राष्ट्र बैंकले पनि त्यसलाई पछ्याएको देखिएको हो ।राष्ट्र बैंकको तथ्यांकअनुसार सन् २०२२/२३ देखि सुनमा लगानी गर्ने प्रवृति तीव्र गतिमा बढेको देखिन्छ । चालु आर्थिक वर्ष सन् २०२४/२५ को १० महिनामा राष्ट्र बैंकले ३० अर्ब ७६ करोड ९७ लाख रुपैयाँ सुनमा लगानी गरेको छ ।
गत आव २०२३/२४ को सोही अवधिमा नेपालले १५ अर्ब ४१ करोड रुपैयाँ सुनमा लगानी गरेको थियो । आव २०२२/२३ को सोही अवधिमा ७ अर्ब ८६ करोड ७५ लाख रुपैयाँ मात्र सुनमा लगानी भएको देखिन्छ ।सुनलाई सुरक्षित लगानीका रूपमा लिइने भएकाले विश्वभरका केन्द्रीय बैंकले सुन किनेर थुपार्ने गरेका छन् । विश्वका हरेक केन्द्रीय बैंकले सुरक्षाका लागि सुन भण्डारण गर्ने नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरू बताउँछन् ।
नेपालको केन्द्रीय बैंकले पनि अन्य क्षेत्रमा भन्दा सुनमा सुरक्षित हुने हुँदा सुनमा लगानी गर्ने गरेको देखिन्छ । पछिल्लो समय विश्व बजारमा आएको उतारचढाव, अमेरिकी राष्ट्रपतिको नयाँ कर नीति, रुस–युक्रेन युद्धलगायत विभिन्न घटनाक्रमले विश्व बजारमै सुनमा लगानी गर्ने क्रम बढेको छ ।कुनै पनि देशका नोट, मुद्रा वा अन्य सम्पत्तिलाई अरू देशले मान्यता नदिने, तर सुनलाई सबैले साझा सम्पत्तिका रूपमा लिने भएकाले सुनको लगानी सबैभन्दा सुरक्षित मानिन्छ ।
अहिले विश्वका विभिन्न देशमा आर्थिक मन्दी देखिएकाले अन्य क्षेत्रमा भन्दा सुनमा लगानी गर्नेहरू बढेका छन् । यसले सुनको मागमा वृद्धि भएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij