
काठमाडौँ । नयाँसडक बुलेटिनमा यहाँहरूलाई स्वागत छ। आज असार २ सोमबार । यस्ता छन् दिनभरी घटेका मुख्यमुख्य आर्थिक समाचारहरू...
सानिमा जिआईसी इन्स्योरेन्सको ७.५% बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको ७ दशमलव ५ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीले असार २ गते नेप्सेमा जम्मा १५ लाख कित्ता बोनस शेयर सूचीकृत गराएको हो, जुन आगामी मंगलवारदेखि बजारमा कारोबार गर्न सकिनेछ।
कम्पनीको वार्षिक साधारणसभा चैत २१ गते सम्पन्न भएको थियो, जहाँ बोनस शेयर वितरणसहितको प्रस्ताव पारित गरिएको थियो। सोही सभाबाट कम्पनीले बोनस शेयरसँगै शून्य दशमलव ३९ प्रतिशत नगद लाभांश दिने निर्णय पनि पारित गरेको थियो।
हीरा–रत्नमा भ्याट र सुनमा विलासिता करले व्यवसाय धरापमा: संघको सरकारलाई ध्यानाकर्षण
काठमाडौँ । नेपाल रत्न तथा आभूषण सङ्घले आगामी वर्षको बजेटमार्फत हीरा तथा बहुमूल्य पत्थरमा मूल्य अभिवृद्धि कर ९भ्याट० र सुनमा लगाइएको दुई प्रतिशत विलासिता करको विरोध जनाएको छ। संघले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी सरकारलाई उक्त निर्णय पुनर्विचार गर्न माग गरेको हो।
संघका अध्यक्ष सुमनमान ताम्राकारका अनुसार सरकारले प्रस्ताव गरेको कर प्रणालीका कारण करिब ३ खर्ब ५० अर्ब रुपैयाँको लगानीमा आधारित रत्न तथा आभूषण व्यवसाय धरासायी हुने खतरा छ। हाल देशभर २५ हजार व्यवसायी र झण्डै ३ लाख कारीगर तथा उनीहरूका परिवार यस क्षेत्रमा प्रत्यक्ष वा परोक्ष रूपमा आश्रित छन्। यस्तो अवस्थामा कर वृद्धिले उनीहरूको जीविकोपार्जनमा गम्भीर असर पार्ने अध्यक्ष ताम्राकारको तर्क छ।
विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिनुुभएको छ ।
विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिनुुभएको हो । विश्वविद्यालयका निमित्त उपकुुलपति प्रा डा खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरु रिहा गरिएकामा चिन्ता व्यक्त गर्नुभयो ।
शिक्षा मन्त्रालय र शिक्षक महासंघबीचको २७ बुँदे सहमति सार्वजनिक
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासंघबीच गत जेठ १८ गते भएको सहमति सार्वजनिक भएको छ।
विद्यालय शिक्षा विधेयक–२०८० माथि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि उपसमितिले बुझाएको प्रतिवेदनमा महासंघले चित्त नबुझाएपछि २७ बुँदे सहमति गरिएको थियो।
महासंघले यस सहमतिलाई गोप्य राख्दै आएको थियो।
मन्त्रालय र महासंघबीचको सहमतिमा राहत शिक्षकदेखि छात्रावाससम्बन्धी बुँदाहरू उल्लेख छन्।
राष्ट्र बैंकद्वारा महाप्रसाद अधिकारीको हस्ताक्षरसहितको नयाँ १० रुपैयाँको नोट चलनचल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको १० रुपैयाँ दरको नयाँ नोट असार २ गते (सोमबार) देखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोट साविककै आकार र रंगमा तयार गरिएको छ। यसपटक संकेत नं. द३२ ०००००१ देखि प९४ ९९९९९९ सम्मका नोट बजारमा ल्याइनेछ।
यसअघि राष्ट्र बैंकले २०७७ साल मंसिर १० गतेदेखि सिरिज २०२० अन्तर्गतको १० रुपैयाँ दरको नोट (संकेत नं. ढ८२ ०००००१ देखि द४५ ९९९९९९) चलनचल्तीमा ल्याउने जानकारी दिएको थियो। तर त्यसमध्ये ढ८२ ०००००१ देखि द३१ ८००००० सम्मका नोट मात्रै वितरण गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
शेयर बजार : नेप्से परिसूचकमा ३.४० अंकले बढेर २६५९.२६ बिन्दुमा, १३ अर्ब १८ करोडभन्दा बढीको कारोबार
काठमाडौँ । आज नेप्से परिसूचकमा ३.४० अंकले बढेर २६५९.२६ बिन्दुमा आएको छ । आज १३ अर्ब १८ करोड बढीको सेयर कारोबार भएको छ । २ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन् ।यस दिन ३ सय १८ कम्पनीको ३ करोड ३६ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ९५ करोड रुपैयाभन्दा बढीसहित कारोबार रकममा सानिमा माई हाइड्रोपावर अग्रस्थानमा आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः ङादी ग्रुप पावर र बुटवल पावर कम्पनी परेका छन् ।
भिजिट भिसा प्रकरण: छानबिन तत्काल सुरु गर्न माओवादीको सरकारलाई दबाव
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा छानबिन प्रक्रिया तत्काल अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी सांसद शक्ति बस्नेतले रोष्टममार्फत गृहमन्त्रीले गरेका प्रतिबद्धता कार्यान्वयन गर्न सरकारलाई स्मरण गराउँदै भने, “सरकारले ३० दिनभित्र छानबिन समिति बनाउने उद्घोष गरिसकेको छ, तर अब त्यो पर्खनु आवश्यक छैन।”
उनले छानबिन प्रक्रिया एक साताभित्रै सुरु गर्नुपर्नेमा जोड दिँदै भने, “सरकारको प्रतिबद्धता तत्काल कार्यान्वयन होस्, छानबिन समिति गठन गरेर जनभावनालाई सम्बोधन गर्न ढिला गर्नु हुँदैन।”
कुमारी बैंकद्वारा संस्थापक सेयर बिक्रीमा ७,८८१ कित्ता सेयरका लागि आवेदन खुला
काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको ७,८८१ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ। इच्छुक व्यक्ति वा संघसंस्थाहरूले यो सेयर खरिद गर्नका लागि आवेदन दिन सक्नेछन्।
सेयर खरिदको लागि इच्छुकहरूले आजबाट (असार २ गते) ३५ दिनभित्र बैंकको प्रधान कार्यालय टंगाल वा कुमारी क्यापिटलको कार्यालय, नक्साल नागपोखरी, काठमाडौंमा आवेदन दिनुपर्नेछ। बिक्री हुने सेयरको मूल्य भने बिक्रेताले निर्धारण गरेअनुसार रहने बैंकले जानकारी दिएको छ।
अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा
काठमाडौँ ।काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।
त्यसरी कर छलीमा काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका शेयरधनीरसञ्चालकहरु सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको अभियोगमा मुद्दा चलाइएको विभागकी उपमहानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिनुभयो ।
सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन तहका सरकारबीच सहकार्य जरुरीः मन्त्री गुरुङ
काठमाडौँ।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि तीन वटै तहका सरकारबीच सहकार्य जरुरी रहेको बताउनुभएको छ । मन्त्रालयले आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस–२०८२ को समीक्षा तथा प्रशंसा–पत्र वितरण कार्यक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको विकास स्थानीय तहसम्मै व्यापक हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार आइटी दिवसलाई सरकारले उत्सवका रुपमा मनाउनुपर्ने र युवा पुस्तालाई जति सक्दो प्रोत्साहित गर्ने कार्यक्रम ल्याउन आवश्यक रहेको बताउनुभयो ।
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्रसारण गरेवापत लिने शुल्क ‘ह्विलिङ चार्ज’को विषयलाई चाँडो टुङ्ग्याउन विद्युत् नियमन आयोगलाई निर्देशन दिनुभएको छ । आज ऊर्जा मन्त्रालयमा ‘ह्विलिङ चार्ज’सम्बन्धी भएको छलफलमा मन्त्री खड्काले निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा ल्याइसकेकाले विद्युत् प्रसारण गर्दा लाग्ने ‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन निर्देशन दिनुभएको हो । “सरकारले लिएको ऊर्जा विकासका लक्ष्यलाई पूरा गर्न निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणको बाटो खोलिएको छ, प्रसारण लाइन निर्माण गरेवापतको लाग्ने शुल्क टुङ्ग्याउन नसक्दा काम अगाडि बढ्न सकेको छैन, एक हप्ताभित्र ‘ह्विलिङ चार्ज’को विषयलाई टुङ्ग्याउनुहोस्”, मन्त्री खड्काले भन्नुभयो । मन्त्री खड्काले निजी क्षेत्रको सहभागितामा प्रसारण लाइन निर्माण गर्ने निर्णय गरेको लामो समय भइसक्दा ‘ह्विलिङ चार्ज’ को विषय टुङ्ग्याउन नसक्दा समस्या परेको बताउनुभयो । रातदिन नभनी ‘ह्विलिङ चार्ज’ को विषयलाई टुङ्ग्याउनुपर्ने मन्त्री खड्काको भनाइ थियो ।
लगानी प्रवर्द्धन गर्न कर छुटको घोषणा
गण्डकी । दुई सयभन्दा बढीलाई रोजगारी दिने उत्पादनमूलक उद्योग तथा व्यवसायलाई गण्डकी प्रदेश सरकारले करमा ७५ प्रतिशत छुट दिने भएको छ । आर्थिक मामिलामन्त्री डा टकराज गुरुङले आइतबार प्रदेशसभा बैठकमा प्रस्तुत गर्नुभएको आगामी आव २०८२/८३ को बजेटमा उक्त घोषणा गरिएको हो । कृषि, पर्यटन, ऊर्जा र वन तथा खानीजन्य उद्योगमा बाह्य लगानी आकर्षित गरी रोजगारी सिर्जना र गरिबी निवारणमा जोड दिइएको आर्थिक मामिलामन्त्री डा गुरुङले बताउनुभयो । लगानी प्रवद्र्धनका लागि कर छुटलगायत योजना ल्याइएको उहाँको भनाइ छ । सुदृढ प्रोदशिक अर्थतन्त्र निर्माणका लागि हस्तक्षेपकारी कार्यक्रमका रूपमा ‘इनभेष्ट गण्डकी’ सञ्चालन गरिने बजेटमा उल्लेख छ । आगामी आवको राजस्व नीतिले पनि आर्थिक क्रियाकलाप विस्तार, लगानी प्रवद्र्धन, उत्पादन तथा उद्यमशीलतालाई प्राथमिकता दिएको छ ।
राष्ट्र बैंकद्वारा महाप्रसाद अधिकारीको हस्ताक्षरसहितको नयाँ १० रुपैयाँको नोट चलनचल्तीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षर रहेको १० रुपैयाँ दरको नयाँ नोट असार २ गते (सोमबार) देखि चलनचल्तीमा ल्याएको छ।
राष्ट्र बैंकका अनुसार नयाँ नोट साविककै आकार र रंगमा तयार गरिएको छ। यसपटक संकेत नं. द३२ ०००००१ देखि प९४ ९९९९९९ सम्मका नोट बजारमा ल्याइनेछ।
यसअघि राष्ट्र बैंकले २०७७ साल मंसिर १० गतेदेखि सिरिज २०२० अन्तर्गतको १० रुपैयाँ दरको नोट (संकेत नं. ढ८२ ०००००१ देखि द४५ ९९९९९९) चलनचल्तीमा ल्याउने जानकारी दिएको थियो। तर त्यसमध्ये ढ८२ ०००००१ देखि द३१ ८००००० सम्मका नोट मात्रै वितरण गरिएको राष्ट्र बैंकले स्पष्ट पारेको छ।
परराष्ट्रमन्त्रीद्वारा इजरायलमा रहेका नेपालीको अवस्थाबारे राजदूतसँग जानकारी
काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले केही दिनयतादेखि इजरायल र इरानबीच सुरु भएको युद्ध तथा पछिल्लो समय यसबाट विकसित परिस्थितिका बारेमा नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बाससँग जानकारी लिनुभएको छ ।
परराष्ट्र मन्त्रालयमा आज मन्त्री डा राणालाई राजदूत बासले इजरायल र इरानबीचको पछिल्लो द्वन्द्व तथा त्यहाँको पछिल्लो अवस्थाका बारेमा जानकारी गराउनुभएको हो । त्यस अवसरमा मन्त्री डा राणाले त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिँदै उनीहरुलाई पर्न सक्ने आवश्यक सहायता र सुरक्षित अवस्थाका लागि राजदूत बासमार्फत इजरायल सरकारलाई आग्रह गर्नुभयो । त्यस अवसरमा राजदूत बासले हाल त्यहाँस्थित नेपाली नागरिक सुरक्षित रहेका जानकारी गराउनुभयो ।
प्रहरीको खोजीबाट फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका चिकित्सक बालाजुमा सकुशल फेला
काठमाडौँ । प्रहरीले फेसबुकमा ‘अलबिदा’ लेखेर बेपत्ता भएका चिकित्सक बालाजुमा सकुशल फेला परेका छन् । हरीले उनलाई सकुशल फेला पार्न सफलता पाएको हो ।
सामाजिक सञ्जाल फेसबुकमा ‘अलबिदा’ लेखेका चिकित्सक डा. केशव श्रेष्ठलाई प्रहरीले काठमाडौंको बालाजुमा सकुशल फेला पारेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहराले उनलाई बालाजुमा सकुशल फेला पारेको र सोधपुछ भइरहेको बताए ।
यसअघि साइबर ब्यूरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार उनको खोजीकार्य भइरहेको बताएका थिए । बेपता भएका डा. श्रेष्ठले लेखेको फेसबुक स्ट्याटस यस्तो छ ।
वैज्ञानिकहरूले अस्ट्रेलियाबाट पिएनजीका लागि एग्रेटको ३८ घण्टाको उडान ट्र्याक गरे
सिड्नी । उत्तरी आप्रवासनको क्रममा अस्ट्रेलिया र पपुवा न्यू गिनीको बीचमा लगभग दुई दिनसम्म निरन्तर उड्ने बगुलाको प्रजातिलाई ट्र्याक गरिएको वैज्ञानिकहरूले बताएका छन् ।
अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले न्यु साउथ वेल्सको म्याक्वेरी मार्सेसबाट चराहरू निस्केपछि केही महिनाको अवधिमा आठ प्लुमड एग्रेट र १० ग्रेट एग्रेटलाई पछ्याउन जिपिएस प्रयोग गरेका थिए ।
अस्ट्रेलियाको कमनवेल्थ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च अर्गनाइजेसनका वैज्ञानिकहरूका अनुसार ठूला एग्रेटहरू सबै दिशामा छरिएका पाइए ।
वर्ल्डलिंकको ११ अर्बभन्दा बढी आम्दानी, बजार हिस्सा ३२% पुग्यो
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले सन् २०२४ मा ११ अर्ब १२ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ७.७० प्रतिशतले वृद्धि भएको हो। सन् २०२३ मा कम्पनीले १० अर्ब ३३ करोड २० लाख र सन् २०२२ मा ९ अर्ब ३९ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो। यो तथ्यांक केयर रेटिङ नेपालले सार्वजनिक गरेको हो।
कम्पनीले कर्जाका लागि ३ अर्ब ९४ करोड ६० लाख रुपैयाँको रेटिङ पुनः पुष्टि गराएको छ। यस अन्तर्गत दीर्घकालीन २ अर्ब १९ करोड ६० लाख कर्जाका लागि र छोटो अवधिका १ अर्ब ७५ करोड कर्जाका लागि रेटिङ प्राप्त भएको हो। टेलिकम लाइसेन्स नवीकरणसम्बन्धी सर्वोच्च अदालतको २०८१ साल जेठ १ गतेको निर्णयपछि कम्पनीको रेटिङमा सकारात्मक प्रभाव परेको छ।कम्पनीले २०७८ मंसिर २८ गते ग्रामीण टेलिकम विकास कोष र रोयल्टी सम्बन्धी सबै पुराना दायित्वहरू भुक्तानी गरिसकेको छ। ग्राहक संख्या र कारोबार दुवैमा वर्ल्डलिंकले पछिल्ला वर्षहरूमा उल्लेखनीय वृद्धि गरेको छ। हाल देशभर १० लाखभन्दा बढी सक्रिय ग्राहक रहेको र इन्टरनेट सेवा क्षेत्रमा कम्पनीको बजार हिस्सा ३२ प्रतिशत पुगेको छ।
सोमबार सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम
काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम रहेको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि: पेट्रोल प्रतिलिटर रु १६० र डिजेल–मट्टितेल रु १४५ कायम
काठमाडौँ। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि गरेको छ, जसले सर्वसाधारण उपभोक्तामाथि थप आर्थिक भार पर्ने देखिएको छ। निगमले सार्वजनिक गरेको सूचना अनुसार, पेट्रोलमा प्रतिलिटर रु १ ले वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर रु २ को वृद्धि गरिएको छ।
नयाँ मूल्यदर १ असार राति १२ बजेदेखि लागू भइसकेको छ। यसअनुसार अब काठमाडौं, पोखरा र दीपायलजस्ता मुख्य सहरहरूमा पेट्रोलको मूल्य प्रतिलिटर रु १६० पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य रु १४५ प्रति लिटर कायम भएको छ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो एकको खरिददर १५८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५९ रुपैयाँ ४७ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १८७ रुपैयाँ २६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ १६ पैसा कायम गरिएको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij