Logo

Jun 18 2025 | २०८२, असार ४गते

Jun 18 2025 | २०८२, असार ४गते

images

जेठको घरजग्गा कारोबारले  घरजग्गा व्यवसायीहरूमा उत्साह

जेठको घरजग्गा कारोबारले  घरजग्गा व्यवसायीहरूमा उत्साह

  • काठमाडौँ । जेठको घरजग्गा कारोबारले  घरजग्गा व्यवसायीहरूमा उत्साह भरेको पाइएको छ । जेठ महिनामा घरजग्गाको कारोबार चालु आर्थिक वर्ष २०८१/८२कै सबै भन्दा बढी कारोबार संख्या भएको देखिएको हो । जेठमा लिखत पासको संख्या ५६ हजार १० पुगेको छ । यो वर्षको जेठको तथ्याङ्कले वैशाख, २०७९ देखि घट्न थालेको घरजग्गा कारोबार गति पुग्न थालेको संकेत गरेको व्यवसायीहरू बताउँछन् ।

    बैंकहरुमा लगानीयोग्य पूँजी बढेसँगै लगानीवृद्धि भई घरजग्गाको कारोबारमा सुधार भएको उनीहरू बताउँछन् ।घर जग्गामा सरकारले ल्याएको नयाँ व्यवस्थाले पनि घर जग्गा कारोबारमा उत्साह थपेको पर्यवेक्षकहरू बताउँछन् । तर प्रतिशतको हिसाबले यो गत आर्थिक वर्षको जेठको तुलनामा  कारोबार भने ८.४२ प्रतिशत कम हो । गत आर्थिक वर्ष ६१ हजार १६१ लिखत पारित भएको थियो ।

    गत वर्षको तुलनामा यो वर्ष घरजग्गा कारोबारमा गिरावट देखिएपनि  राजस्व संकलनमा वृद्धि भएको छ । घरजग्गा कारोबारबापत जेठमा ४ अर्ब ७२ करोड ७० लाख रुपैयाँ राजस्व संकलन भएको छ । यो रकम गत वर्षको तुलनामा ८.९३ प्रतिशतले बढी हो ।
    गत वर्ष जेठमा घरजग्गा कारोबारबापत सरकारले ४ अर्ब ३३ करोड ९२ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत आवको तुलनामा करिब ४० करोड जति राजस्व स्ंकलन बढी संकलन भएको देखिन्छ ।

    घरजग्गा कारोबार तराई क्षेत्रमा धेरै देखिएको छ । सुनसरीको इनरुवा मालपोत कार्यालयबाट सबैभन्दा धेरै २१५८ लिखत पारित भएको हो ।यस्तै जनकपुरमा १९७८, झापाको भद्रपुरमा १७४०, मोरङको बेलवारीमा १७३२, सप्तरीको राजविराजमा १६५९, सिरहामा १३३८, सर्लाहीको मलंगवामा १२५४ र कैलालीको धनगढी मालपोतमा १२४९ लिखत पारित भएको विभागको तथ्यांकले जनाएको छ ।
    काठमाडौँ उपत्यकामा भने सबैभन्दा धेरै कारोबार भक्तपुरमा भएको छ। मालपोत कार्यालय भक्तपुरबाट १०९८ लिखित पारित भएको छ। यसैगरी  लगनखेलबाट ९१०, कलंकीबाट ८१६, चाबहिलबाट ५०८, साँखुबाट ४८४ र मनमैजुबाट ३५२ लिखत पारित भएको देखिन्छ ।यसैगरी  जेठमा डिल्लीबजार मालपोतबाट सबैभन्दा धेरै ३९ करोड ४२ लाख रुपैयाँ राजस्व संकलन भयो । लगनखेलबाट ३८ करोड ५२ लाख, भक्तपुरबाट ३१ करोड ५२ लाख, कलंकीबाट ३० करोड र चाबहिलबाट २८ करोड ९७ लाख रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ ।

    साउनमा देशभरि ४३ हजार आठ सय ३५ वटा मात्रै लिखत पारित भएको थियो । यस्तै, भदौमा ३२ हजार सात सय ९८ घरजग्गाको कारोबार हुँदा असोजमा ३० हजार पाँच सय २७ घर जग्गा कारोबार भएको थियो । कात्तिकमा ३३ हजार पाँच सय १४, मंसिरमा ४३ हजार तीन सय ७९, पुसमा ४८ हजार एक सय ५६, माघमा ४६ हजार ६९, फागुनमा ४६ हजार ६१ र चैतमा ४९ हजार आठ सय ३२ लिखत पास भएका छन् । यस्तै वैशाखमा ५२ हजार ४२३ वटा लिखत पारित भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij