
काठमाडौँ । जुत्ता /चप्पल आयात तथा बिक्री वितरणमा राज्यले अर्बौँ राजस्व गुमाइरहेको छ । नेपालमा अत्याधिक बिक्री हुने र चीनलगायत अन्य देशमा समेत ब्राण्डको रूपमा चर्चित ब्राण्डेड जुत्ताहरू आयात गर्दा भन्सार विभागले ब्राण्डको रूपमा नराख्दा त्यस्ता जुत्ता /चप्पलबाट अर्बौँ भन्सार/राजस्व गुमाउँदै आएको हो ।
पछिल्लो समय नेपालमा अत्याधिक बिक्री हुने टीबीएल( TBL) ब्राण्डका स्पोर्ट्स शूज, एयरकन शूज, डियर वेयर लगायतका ब्राण्डेड जुत्ताहरूलाई भन्सार विभागले ब्राण्डेडमा नराख्दा त्यस्ता जुत्ताहरूको आयात ह्वात्तै बढेको छ ।
अहिले नेपालमा चाइनिज ब्राण्ड ‘टीबीएल( TBL)’का जुत्ता अत्याधिक आयात तथा बिक्री हुने लिस्टमा पर्दछ । टीबीएल( TBL)जस्तो ब्राण्डलाई नेपालमा साधारण स्पोर्ट्स शूजमा राखेर भन्सार मूल्यांकन गरिँदा यसबाट असुल हुने अर्बौँ भन्सार/राजस्व गुमिरहेको छ । भन्सार विभागका महानिर्देशक महेश भट्टराईले हाम्रो भन्सार मूल्यांकन कारोबारको आधार, अन्य आधारहरूको आधारमा निर्धारण हुने हुनाले यो विषयमा भन्सार विभागले गम्भीर भएर सोच्ने नयाँसडकसँग बताए । व्यापारिक स्रोतका अनुसार आउँदो दशैँलाई लक्षित गर्दै टीबीएल( TBL)ब्राण्डका झण्डैँ चार लाख जोड जुत्ता चाइनाको फ्याक्ट्रीमा नेपाली व्यापारीहरूले अर्डर गरेका छन् । यस्तै सोही अनुपातमा एयरकन शूज र डियर वेयर शूजलगायत बढी बिक्ने ब्राण्डहरू चाइनामा अर्डर भएको बताइन्छ ।
नेपाली बजारमा टीबीएल( TBL) ब्राण्डका जुत्ता न्यूनतम पाँच हजारदेखि १० हजारसम्म बिक्री हुँदै आएका छन् । भन्सार मूल्यांकनमा अन्तर्राष्ट्रिय ब्राण्डेड जुत्ता एडीडास, रिबक, नर्थ फेस, नाइकेलगायत अन्तर्राष्ट्रिय ब्राण्डका जुत्ताहरूको न्यूनतम भन्सार मूल्य ३७ अमेरिकी डलर तोकिएको छ । अन्य चाइनिज ब्राण्डेड जुत्ता जस्तै इर्की , पिक, फिला, हुका, जोमालगायतका ब्राण्डेड जुत्ताहरूको १५ डलर राखिएको छ । भन्सार मूल्यांकनमा भन्सार विभागले अन्य स्पोर्टस शूज भनेर दुई डलरदेखि ८ डलरसम्म तोकेको छ । अहिले नेपालमा अत्यधिक बिक्री हुने टीबीएल( TBL) एयरकन,डियर वेयर लगायतका जुत्ताहरू ८ डलर भन्सार मूल्यांकन आयात हुँदै आएका छन् । आयातित जुत्तामा ४० प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट गरी भन्सार राजस्व लिइँदै आएको छ । ब्राण्डेड जुत्ता समेत समान्य स्पोर्टस शूजमा छुटाइँदा राज्यलाई ठुलो मात्रामा भन्सार राजस्व गुमिरहेको विज्ञहरूको भनाइ छ ।
मुख्यतः ६वटा मेथडलाई अगाँल्दै भन्सार विभागले मालवस्तुको पहिचान र मूल्यांकन गर्ने गर्दछ । मुख्यतः बजारमा चीन भारत र तेस्रो मुलुकबाट आयात हुने जुत्ता र नेपाली जुत्ताको बजार बराबर छ । रिबक , एडीडास, फिला, नर्थफेस, नाइकेजस्ता विश्वविख्यात ब्राण्ड पनि नेपालमा ठुलै परिमाणमा आयात हुने जुत्तामा पर्छन् । यस्ता विश्वविख्यात ब्राण्डका जुत्ता चोरी तस्करीको माध्यमबाट समेत नेपालमा ठुलो मात्रा भित्रिन्छन् ।
व्यापारीहरूले कमसल देखाएर ब्राण्डेड जुत्ता आयात र बिक्री वितरण गर्दा राज्यलाई अर्बौँ राजस्व गुमाउनु परेको त छँदैछ यसले नेपाली जुत्ता कम्पनीहरूलाई समेत धक्का दिएको स्वदेशी उद्योगीहरूको भनाइ छ ।
नयाँ सडकको फलोअप पछि इर्की, पिकलगायतका जुत्तालाई विभागले ब्राण्डमा राख्यो
विगतमा इर्की, पिक, जोमा , एन्टालगायतका ब्राण्डेड जुत्ताहरू ननब्राण्डमा आयात गरेर ठुलो मात्रामा भन्सार/राजस्व गुमेको समाचार नयाँ सडक दैनिक र नयाँ सडक डटकमले प्रकाशन र फलोअप गरेपछि भन्सार विभागले विगत दुई वर्षयता देखि इर्की, पिक, एन्टालगायतका जुत्ताहरूलाई साधारण ब्राण्डमा राखेर अमेरिकी डलर १२ हुँदै अहिले १५ डलर पु¥याएको छ ।
चालु आवमा एघार महिनामा कति आयो जुत्ता ?
चालु आवको एघार महिना विभिन्न किसिमका जुत्ताहरू १ करोड ३१ लाख बढी जोर जुत्ता आएका छन् । चीन, भारत, अमेरिका दुबइ , भिएतनाम, पाकिस्तान, रोमानिया, कतार, सउदी अरेबिया, स्पेन, स्विजरल्याण्ड, सिँगापुर ,निदरल्याण्ठ, जापान , दक्षिण कोरिया, इटली, इजरायल, इन्डोनेसियालगायत विभिन्न देशबाट आयात गरिएको भन्सार विभागको प्रतिवेदनमा उल्लेख छ । नेपाल आयात भएका जुत्ताहरू मध्ये चीन र भारतबाट ठुलो परिमाण जुत्ता आयात भएका छन् । भारत र चीनबाट मात्रै १ करोड ३१ लख १६ हजार बढी जोर आयात भएको देखिन्छ । वाटर प्रुफ, स्की , स्पोर्टस, क्यानभासलगायत वर्गीकरणमा दुई दर्जन बढी एचएसकोड अन्तर्गत यी जुत्ताहरू आयात गरिएका छन् ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij