
काठमाडौँ। आकर्षक रोजगारीको झूठो आश्वासनमा भारत पुर्याइएर अमानवीय व्यवहार सहन बाध्य भएका ५७ नेपाली युवकलाई उद्धार गरी नेपाल फर्काइएको छ। उत्तराखण्ड राज्यको विभिन्न स्थानमा बन्धक बनाइएका ती नेपालीलाई नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को सहकार्यमा मुक्त गरिएको हो।
काशिपुरबाट ३५ जना नेपालीको उद्धारपछि आइतबार साँझ थप २२ जनालाई सुरक्षित रुपमा फेला पारिएको थियो। बुधबार उनीहरूलाई पश्चिमी नाका गड्डाचौकी हुँदै स्वदेश फर्काइएको हो। कञ्चनपुर प्रशासन, प्रहरी प्रमुख डीआईजी डम्बरबहादुर विकलगायतले उनीहरूको स्वागत गरेका थिए। उद्धार गरिएकाहरूलाई आज (बिहीबार) आ–आफ्नो घर पठाइनेछ।
उनीहरूलाई महिनौंसम्म बन्धक बनाएर कुटपिट, यातना, डरधम्की दिँदै आर्थिक शोषण गरिएको थियो। उद्धार गरिएका नेपालीहरू विभिन्न जिल्लाका छन्—जसमा चितवनका १०, कैलालीका ९, सुनसरीका ५, पाँचथर, तेह्रथुम, उदयपुरका ४-४ जना, दाङ, स्याङ्जा, बाँकेका ३-३ जना, डोटी, ताप्लेजुङ, धादिङका २-२ जना तथा सर्लाही, कास्की, रुकुम, बाग्लुङ, इलाम र रुपन्देहीका १-१ जना छन्।
‘किन इन्डिया’का निर्देशक नवीन जोशीका अनुसार आइतबार राति उद्धार गरिएका २२ जनामध्ये ९ जना नावालिग थिए। उनीहरूलाई जंगलबाट भगाउँदै गर्दा फेला पारिएको थियो। गिरोहलाई उद्धार टोली आउँदै गरेको खबर प्राप्त भएपछि केही फरार भएका र बाँकीलाई अन्यत्र सारिएको जानकारी पनि जोशीले दिएका छन्।
जोशीका अनुसार सो गिरोहले एक व्यक्तिबाट ४० हजारदेखि ७० हजार रुपैयाँसम्म असुलेका थिए। “महिनामा करिब ५० जना नेपालीलाई भारतको विभिन्न ठाउँमा यस्तै झूठा आश्वासनमा लगिन्छ,” उनले बताए।
मानव बेचबिखनविरुद्ध सक्रिय जोशीको नेतृत्वमा रहेको संस्थाले हालसम्म सयौं नेपालीलाई उद्धार गरिसकेको छ। उनी डेढ दशकदेखि दिल्लीमा बसेर नेपाली युवाहरूको सुरक्षाका लागि काम गरिरहेका छन्। भारतमा अझै पाँच सयभन्दा बढी नेपाली बन्धक बनाइएका डाटा आफूसँग रहेको भन्दै उनले थप उद्धारको तयारी भइरहेको जानकारी दिएका छन्।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij