
काठमाडौँ । स्वास्थ्य बीमा धारकले अन्त उपचार गराउन रेफर चाहिने प्रावधान कायमै रहेको छ । असार १५ गते स्वास्थ्य बीमा बोर्डले सार्वजनिक गरेको सूचनाले भ्रम परेको विषयमा अर्को सूचना जारी गर्ने तयारी भइरहेको जनाइएको हो ।असार १० गतेको मिति राखी जारी गरिएको सूचनामा राखिएको ‘ प्रथम सेवा बिन्दु हटाइने सम्बन्धमा’ले भ्रम छरेकोले अर्को सूचना सार्वजनिक गर्ने तयारी अधिकारीहरूले गरेका छन् ।
सूचनाको व्यहोराले भन्छ– प्रमुख सेवा विन्दु सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था भएकोले २०८२ साउन १ गतेदेखि पहिला प्रथम सेवा विन्दुको रुपमा रहेका सामुदायिक र निजी अस्पताल अब प्रथम सेवा विन्दुको रुपमा रहने छैनन् ।’
बोर्डले सार्वजनिक गरेको यो ब्यहोराले सामाजिक संजालमा भ्रम फैलिन पुगेको हो । त्यो भनेको ‘ अब स्वास्थ्य बीमामा रेफर नचाहिने हो ’ भनी सामाजिक सञ्जालमा खबर प्रसारित हुन पुगेको हो । सामाजिक संजालहरुतिर स्वास्थ्य बीमा गराएका व्यक्तिहरुले सो कार्यक्रम संचालन भएका जुनसुकै अस्पतालमा गएर पनि सेवा लिन सकिने भन्ने आशयका अभिव्यक्तिहरु भाइरल भए ।
अहिलेसम्मको व्यवस्था अनुसार स्वास्थ्य बीमा सेवाबाट उपचार गराउनको लागि सबैभन्दा पहिला प्रथम सेवा विन्दु तोकिएका अस्पतालमा जानुपर्छ । प्रथम सेवा विन्दु तोकिएका अधिकांश अस्पतालहरु सरकारी अस्पताल मात्रै हुन् । ती प्रथम सेवा विन्दु तोकिएका सरकारी अस्पतालहरुले सकेसम्म उपचार सोही स्थानमा गर्ने र त्यहाँ उपचार नभए अर्काे अस्पतालमा विरामी रेफर गर्ने गरिन्छ ।
पत्रमा भनिएको छ, ’ स्वास्थ्य बीमा ऐन, २०७४ (दोस्रो संशोधन) तथा नियमावली, २०७५ (प्रथम संशोधन) अनुसार अबदेखि प्रथम सेवा विन्दु केवल सरकारी स्वास्थ्य संस्था मात्र रहने व्यवस्था गरिएको छ। सोहीअनुसार, हालसम्म प्रथम सेवा विन्दुका रूपमा सञ्चालनमा रहेका सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूको मान्यता २०८२ श्रावण १ गतेदेखि हटाइने भएको छ।’
सरकारले स्वास्थ्य बीमा नियमावली (पहिलो संशोधन)मा उपदफा ६ थपेको छ। जहाँ प्रथम सेवा बिन्दु भन्नाले सरकारी स्वास्थ्य संस्था भन्ने बुझ्नुपर्नेछ भन्ने उल्लेख छ। स्वास्थ्य बीमा ऐनमा पनि सरकारी स्वास्थ्य संस्था नै प्रथम सेवा बिन्दु रहने प्रावधान छ ।
तर, यसअघि बोर्डले केही सामुदायिक स्वास्थ्य संस्थालाई पनि प्रथम सेवा बिन्दु मानेको थियो। ती धुलिखेल अस्पताल, बयलापाटा अस्पताल, आम्दा अस्पताल, चौरजहारी अस्पताल थिए। तर, साउन १ गतेदेखि ती अस्पताल प्रथम सेवा बिन्दु नरहने भएको जनाइएको छ ।मन्त्रालयका अधिकारीहरूका अनुसार यसबारे प्रष्ट पारिने भएको छ
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij